विभिन्न देशमा हल्लाको आधारमा आर्थिक गतिविधिहरु हुने गरेका घटना घटे पनि अहिले पाकिस्तानमा देखिएको जस्तो व्यापारको लहर भने यस अघि कुनै पनि देशमा नदेखिएको विश्लेषकहरु बताउँछन् ।
प्रसंग हो—पाकिस्तानमा अहिले चलिरहेको इरानी मुद्रा (रियाल) खरिद गर्ने लहर । युद्धका कारण रियालको मूल्य अहिले निकै खस्किएको छ । तर, यही बेला पाकिस्तानीहरु रियाल खरिद गरेर संचिति गर्ने होडमा लागिरहेका छन् ।
पाकिस्तान एक्सचेन्ज कम्पनी एसोसिएसनका अध्यक्ष मलिक बोस्तानले बीबीसीलाई बताएअनुसार २८ फेब्रुअरीमा इरान र अमेरिकाबीच युद्ध सुरु हुँदा पाकिस्तानमा एक करोड इरानी मुद्राको मूल्य करिब २ हजार ५ सय भारु थियो ।
उनका अनुसार युद्ध सुरु भएको केही हप्तापछि इरानी मुद्राको माग बढ्न थाल्यो र एक करोड इरानी रियालको मूल्य नौदेखि दश हजार पाकिस्तानी रुपैयाँको बीचमा पुग्यो ।
केही सातादेखि पाकिस्तानी सामाजिक सञ्जालमा इरानी मुद्रामा लगानी गर्न प्रोत्साहित गर्ने भिडियोहरु भाइरल भइरहेका छन् । मुद्रा बजारसँग सम्बन्धित मानिसहरुका अनुसार इरान–अमेरिका सम्झौतापछि इरानमाथिको प्रतिबन्ध केही हदसम्म हटाइने आशामा आम पाकिस्तानीहरुले इरानी मुद्रा किनिरहेका छन् ।
व्यापारी जफर परचा भन्छन्—करिब ५० वर्ष अघि जब इरानमा राजतन्त्र थियो र रेजा शाह पहलवी शासक थिए, एक डलर चार इरानी रियालको बराबर थियो । इरानी क्रान्तिपछि एक डलरको मूल्य ७० रियाल पुग्यो ।
‘सस्तो पाएको बेला किनिहाल्नु पर्छ भन्ने लागेर किनेको हो । भोलि मूल्य अझै घटेछ भने पनि खासै चिन्ता छैन । किनकी लगानी ठूलो छैन, मूल्य बढ्यो भने मालामाल भइहालिन्छ’ केवल चालीस हजार पाकिस्तानी रुपैयाँमा ४० लाख इरानी रियाल किनेका रियाज अहमद भन्छन् ।
तर, आर्थिक विज्ञहरु अवमूल्यन भएको मुद्रामा लगानी गर्ने विषयमा आर्थिक विद् मलिक बोस्टन भन्छन्—यो लगानीमा धेरै जोखिम छ ।
स्थिति शान्तितर्फ अघि बढेमा इरानी मुद्राको मूल्य कति बढ्छ भन्ने अनुमान गर्न कठिन रहेको उनले बताए ।
उनले भने ‘यो पनि सम्भव छ कि इरानले यो मुद्रा बन्द गर्नेछ र आफ्नो मुद्रा जारी गर्नेछ, यस्तो अवस्थामा पाकिस्तानमा जम्मा हुने सबै मुद्रा बेकार हुनेछ । ’
इरानले आफ्नो मुद्राको पुनर्मूल्यांकन गर्ने सम्भावना पनि रहेको र यदि त्यसो भयो भने जोसँग वर्तमान मुद्रा छ उनीहरूसँग केही कागजी नोट मात्र बाँकी रहनेछ ।
स्थानीयका अनुसार पाकिस्तान र इरानबीचको व्यापार पनि इरानी रियालमा हुन्छ र पाकिस्तानबाट इरान जाने धार्मिक यात्रीले पनि आफूसँगै इरानी मुद्रा बोक्ने गरेका छन् । उनका अनुसार यो मुद्रा भविष्यमा प्रयोग गर्न सकिने छ । भविष्यमा इरानी मुद्राको मूल्य अझै घटे पनि यसको प्रयोग गर्न सकिने उनले बताए किनभने पाकिस्तानमा इरानी मुद्राको माग व्यापार र तीर्थयात्रीको आवागमनसँग जोडिएको छ ।