यस क्रममा सिटिजन्स सेक्यूरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनीष अर्याल, एनआईएमबि स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप दाहाल, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्म उप्रेती तथा एनएमबि सेक्यूरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बिष्ट साथै नबिल स्टक डिलर लिमिटेडका मदन तिमिल्सिना लगायतको टोलीले नेपाल राष्ट्र बैंकका बैंकिङ नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल तथा अन्य वरिष्ठ पदाधिकारीहरूसँग औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेका छन्।
छलफलका क्रममा मार्जिन ट्रेडिङ सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ।
'इजाजतपत्रप्राप्त संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त, “क” वर्गको पूर्ण स्वामित्व भएको धितोपत्र व्यवसायसम्बन्धी सहायक कम्पनीलाई, प्रचलित कानून, नेपाल राष्ट्र बैंकबाट जारी prudential norms तथा प्रतिस्पर्धात्मक बजार मूल्य arm's length principle को अधीनमा रही कर्जा प्रवाह वा अन्य वित्तीय व्यवस्था उपलब्ध गराउन सक्नेछ। यसरी उपलब्ध गराइने कर्जा सुविधा केवल नेपाल धितोपत्र बोर्डले जारी गरेको “मार्जिन कारोबार सुविधा सम्बन्धि निर्देशिका २०८२” को अधिनमा रही मार्जिन कारोबार प्रयोजनमा मात्र उपयोग गरिनुपर्नेछ। उक्त प्रयोजनको लागि प्रबाह गरिएको कर्जालाई यस बैंकको निर्देशन बमोजिम व्यवसायिक कर्जा अन्तर्गत गणना गर्न सकिनेछ।'
साथै, कार्यान्वयनका लागि आवश्यक स्पष्ट 'मोडालिटी' समेत विस्तृत रूपमा पेश गरिएको छ। उक्त प्रस्तावप्रति नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको जानकारी प्राप्त भएको छ।
यस पहलबाट पूँजी बजारमा थप पूँजी परिचालन हुने, लगानीकर्तालाई थप तरलता उपलब्ध हुने तथा समग्र धितोपत्र बजारको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, मार्जिन ट्रेडिङ कारोबारको प्रभावकारी कार्यान्वयनले बजारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको पहुँच विस्तार गर्ने र कारोबारको गहिराइ बढाउने विश्वास व्यक्त गरिएको छ।
उक्त व्यवस्थाबाट बैंकका सहायक संस्थाको रूपमा सञ्चालनमा रहेका धितोपत्र व्यवसायीमार्फत ग्राहकहरूले मार्जिन ट्रेडिङ सुविधा सहज, सुरक्षित र व्यवस्थित रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले डिजिटल तथा आधुनिक वित्तीय सेवातर्फको रुपान्तरणलाई समेत तीव्रता दिनेछ।
सम्बन्धित निकायहरूबीचको समन्वय र सकारात्मक सहकार्यले निकट भविष्यमा मार्जिन ट्रेडिङ सेवा पूर्ण रूपमा कार्यान्वयनमा आउने र नेपालको पूँजी बजारलाई थप सुदृढ, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।