कम्पनीले सार्वजनिक गर्ने त्रैमासिक रिपोर्टहरू अध्ययन गर्दा एउटा अनौठो प्रवृत्ति देखिन्छ। कम्पनी कहिले करोडौँ नाफामा देखिन्छ त लगत्तै अर्को त्रैमासमा ठूलो घाटामा पुग्छ। हालै सार्वजनिक भएको २०८२ सालको तेस्रो त्रैमासको विवरणमा कम्पनी फेरि नाफामा उक्लिएको छ। तर, के यो नाफा ?

वास्तविक सुधार हो कि वित्तीय विवरणको प्राविधिक सन्तुलन मात्र ?
यस विषयको वास्तविकता बुझ्न मेरो लगानीले कम्पनीको विगत ५ वर्षका वित्तीय विवरणहरूको गहिरो अध्ययन गर्न जरुरी ठान्यो। त्यसैअनुरूप दिब्येश्वरी हाइड्रोपावरको विगत ५ वर्षको त्रैमासिक विवरण हेर्दा असोज र पुस मसान्तको रिपोर्टमा प्रायः नाफा वा राम्रो आम्दानी गरेको देखियो भने चैत मसान्तको रिपोर्टमा अवस्था प्राय: जसो कमजोर देखियो। यस्तो किन भएको भन्ने कारण त्रैमासिक विवरणमा नै देखिन्छ। यसको प्रमुख कारण भनेको, यो कम्पनी 'रन अफ रिभर' (ROR) मा आधारित हुनु हो। साउन,भदौ र असोजमा नदीमा पानीको बहाव उच्च हुने हुँदा विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन्छ। जसले आम्दानी बढाउँछ। २०८२ को पहिलो त्रैमास (असोज) सम्मको विवरणमा कम्पनीले ११,५५५ (हजारमा) खुद नाफा कमाएको देखिन्छ। तर मङ्सिरदेखि चैतसम्म नदीमा पानीको सतह घट्ने हुनाले उत्पादन क्षमता ३०-४० प्रतिशतमा झर्छ। चैतको रिपोर्टमा आम्दानी घट्ने तर बैंकको ब्याज र कर्मचारी खर्च नघट्ने हुँदा कम्पनी स्वतः घाटामा जान्छ। फेरि कम्पनीले यो कुरा लुकाएको पनि छैन। उसले आफ्नो त्रैमासिक रिपोर्टमा स्पष्ट लेख्ने गरेको छ। कम्पनीले रिपोर्टको बुँदा ५ (क) मा"नदीमा जलको प्रवाहमा कमी भएकोले हिउँद याममा विद्युत् उत्पादनमा असर परिरहेको छ" उल्लेख छ। यही कारणले असोज र पुस मसान्तको रिपोर्टमा प्रायः नाफा वा राम्रो आम्दानी गरेको देखिने गरेको हो भने चैत मसान्तको रिपोर्टमा अवस्था प्राय जसो कमजोर देखिने गरेको हो।
तर यस पटक चैतमा भने कम्पनी नाफामा गएको छ। यसले अब साँच्चै कम्पनी नाफामा गएको भान लगानीकर्तालाई पर्न सक्छ। तर कम्पनी वास्तविक नाफामा गएको छैन। किनकि २०८२ को चैत मसान्तको रिपोर्टमा ५,७८४ (हजारमा) नाफा देखिनुको पछाडि विद्युत् उत्पादन बढ्नु भन्दा पनि खर्चको व्यवस्थापन (ब्याज नतिर्नु वा सार्नु) मुख्य कारण हो। कम्पनीले यो त्रैमासमा नियमित तिर्नु पर्ने बैंक व्याज तिरेन। बरु भाका सार्यो। जस कारण नाफा देखिएको हो।
यस कम्पनीको वित्तीय विवरणमा सबैभन्दा डरलाग्दो पक्ष यसको 'फाइनान्स कस्ट' अर्थात् बैंक ऋणको ब्याज हो। विवरण अनुसार कम्पनीको दीर्घकालीन ऋण ५८ करोड ७ लाख रुपैयाँ भन्दा बढी छ। २०८२ को तेस्रो त्रैमासमा मात्रै कम्पनीले ३ करोड ७ लाख रुपैयाँ ब्याज तिर्नुपर्ने देखिन्छ। कम्पनीको सञ्चालन मुनाफा ३ करोड ७० लाख हुँदा त्यसको झन्डै ८३ प्रतिशत रकम ब्याज बुझाउनै ठिक्क हुन्छ।
रोचक कुरा के छ भने, कतिपय त्रैमासमा कम्पनीले ब्याज भुक्तानी गर्न नसकेर त्यसलाई पूँजीकरण गर्ने वा बक्यौता राख्ने गरेको देखिन्छ। जब कम्पनीले ब्याज तिर्छ त्यो वर्ष वा त्रैमासमा भारी घाटा देखिन्छ र जब ब्याजको व्यवस्थापन फरक ढंगले गरिन्छ। तब विवरणमा 'नाफा' झुल्किन्छ। यसले लगानीकर्तालाई कम्पनी सुधारिएको भान पर्न सक्छ। जुन वास्तवमा भ्रम मात्र हुन सक्छ। कम्पनीले यो कुरा लुकाएको पनि छैन। आर्थिक वर्ष २०७८ देखि २०८२ सम्मका हरेक त्रैमासिक रिपोर्टको बुँदा नम्बर ५ (ख) मा कम्पनीले आफैँ स्वीकार गरेको छ। "बैंकको साँवा ब्याजको व्ययभार बढ्न गएको कारण साँवा तथा ब्याज नियमित हुन सकिरहेको छैन।" रिपोर्टमा भनिएको छ।
रोचक पक्ष: जब कम्पनीले कुनै त्रैमासमा ब्याज तिर्दैन वा त्यसलाई 'पुँजीकरण' (ब्याजलाई पनि ऋणमै जोड्ने) गर्छ। तब खर्च कम देखिन्छ र कम्पनी नाफामा देखिन्छ। उदाहरणका लागि २०८२ को पुस मसान्त र चैत मसान्तको रिपोर्ट हेर्दा आम्दानी बढेको देखिन्छ। तर त्यही बेला बैंकको ब्याज दर ७ देखि ९ प्रतिशतसम्म पुग्दा कम्पनीले ब्याज नियमित बुझाउन नसकेको कुरा पनि रिपोर्टमै उल्लेख छ। ब्याज नतिर्दा नाफा देखिने र ब्याज तिर्दा घाटा देखिने यो चक्रले लगानीकर्तालाई भ्रममा पारिरहेको छ।
के लगानीकर्ता झुक्क्याउन खोजिएको हो ?
विवरणहरूलाई गहिरिएर हेर्दा कम्पनीले 'नाफा' देखाउनका लागि कतिपय ठाउँमा लेखा परीक्षणका प्राविधिक पक्षहरू चलाखीपूर्ण प्रयोग गरेको हुन सक्ने आशंका उब्जिन्छ। उदाहरणका लागि आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (पुस २०८१ मसान्त) को रिपोर्ट हेर्याे भने त्यहाँ बुँदा नम्बर १ को 'ग' मा स्पष्ट लेखिएको छ। "दोस्रो त्रैमासमा कम्पनीले जग्गाको पुनर्मुल्याङ्कन गरेको छ र उक्त मूल्याङ्कनबाट ४ करोड ७५ लाख ४५ हजार ६८० रुपैयाँ पुनर्मुल्याङ्कन आम्दानी जगेडा कोष मार्फत लेखाङ्कन गरिएको छ।" यसको अर्थ के हो ? कम्पनीसँग भएको जग्गाको मूल्य कागजमा बढाइयो। यो कम्पनीको गोजीमा आएको वास्तविक नगद नाफा होइन। तर, यसले गर्दा कम्पनीको ऋणात्मक (Negative) रहेको जगेडा कोष केही सुधारिएको जस्तो देखियो। यदि यो 'कागजी नाफा' हटाउने हो भने कम्पनीको वित्तीय अवस्था अझै भयावह देखिन्छ।
कुनै पनि कम्पनीको वास्तविक हैसियत त्यसको नेटवर्थले देखाउँछ। दिब्येश्वरीको प्रतिसेयर नेटवर्थ निकै चिन्ताजनक छ। २०८२ चैतको रिपोर्ट अनुसार कम्पनीको जगेडा कोष २५ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ मात्र ५ रुपैयाँ ५९ पैसा छ। यसको अर्थ, कम्पनीको आफ्नो पूँजी (२६.४ करोड) झन्डै पूरै घाटाले खाइसकेको छ। शेयर बजारमा ३०० रुपैयाँभन्दा माथि कारोबार भइरहेको यो कम्पनीको वास्तविक किताबी मूल्य ५ रुपैयाँ मात्र हुनुले बजार मूल्य र वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको पुष्टि गर्छ।
प्रसारण लाइन र प्राविधिक अवरोधको बहाना
कम्पनीले हरेक रिपोर्टको बुँदा ५ (ख) मा एउटै समस्या दोहोर्याउँदै आएको छ। "३३ केभी प्रसारण लाइनको क्षमतामा कमजोरी।"
कम्पनीको दाबी छ कि प्रसारण लाइन कमजोर भएका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा पठाउन सकिएको छैन। जसले गर्दा आम्दानी गुमेको छ र बैंकको ब्याज तिर्न सकिएको छैन। यस बुँदालाई कम्पनीले वर्षौदेखि त्रैमासिक विवरणमा राख्दै आएको छ। यदि यो समस्या स्थायी हो भने, लगानीकर्ताले कम्पनीको भविष्यमा सुधार हुने आशा कसरी गर्ने ?
कानुनी लफडा र व्यवस्थापकीय कमजोरी
वित्तीय विवरणको बुँदा ३ मा कम्पनीले खेपिरहेका कानुनी मुद्दाहरूको विवरण छ। पूर्व कर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सिभिल ठेकेदारसँगको मुआब्जा विवाद उच्च अदालत पाटनमा छ। यी मुद्दाहरूले कम्पनीको दायित्व अझै बढाउन सक्ने जोखिम जीवितै राखेका छन्। आफ्ना पूर्व कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने र अदालत धाउनुपर्ने अवस्थाले व्यवस्थापकीय कमजोरी छताछुल्ल पारेको छ।
५ रुपैयाँको कम्पनी दोस्रो बजारमा ३०० : किन यस्तो हुन्छ ?
कम्पनीको प्रतिशेयर नेटवर्थ (वास्तविक किताबी मूल्य) मात्र ५ रुपैयाँ ५९ पैसा छ। १०० रुपैयाँ हालेर शेयर किन्नेको त ९४ रुपैयाँ स्वाहा भइसक्यो भने ३०० मा किन्नेको अवस्था के होला ? तैपनि मूल्य किन ३०० छ त ? यसका तीनवटा मुख्य कारण मध्ये एक कारण कम चुक्ता पूँजी हो। यसको चुक्ता पूँजी मात्र २६ करोड ४० लाख छ। बजारमा धेरै शेयर उपलब्ध नहुँदा थोरै शेयर किनेर पनि मूल्य उचाल्न सजिलो हुन्छ। अर्को कारण भनेको शेयर कर्नरिङ र म्यानिपुलेसन हो। बजारमा थोरै शेयर (Float) भएका कम्पनीलाई केही ठूला खेलाडीले 'कर्नरिङ' गरेर मूल्य बढाउने गरेको आशंका गरिन्छ। वास्तविक वित्तीय अवस्था नहेरी मूल्य बढेको देखेर साना लगानीकर्ता त्यसमा हाम फाल्ने गर्छन्। अन्तिम कारण भनेको अपूर्ण जानकारी नै हाे। धेरै नयाँ लगानीकर्ताले कम्पनीको नेटवर्थ वा ऋणको भारी हेर्दैनन्। उनीहरूलाई लाग्छ– "जलविद्युत त हो, भोलि राम्रो भइहाल्छ नि !" तर ५ रुपैयाँ नेटवर्थ भएको कम्पनी १०० पुग्न मात्रै पनि निकै धेरै नाफा कमाउनुपर्छ।
लगानीकर्ताले बुझ्नै पर्ने यथार्थ
दिब्येश्वरी हाइड्रोपावर आफैँमा "खराब" कम्पनी भन्दा पनि "वित्तीय रूपमा थलिएको" कम्पनी हो। यसको प्रसारण लाइनमा समस्या छ। बैंकको ऋण ठूलो छ र आन्तरिक मुद्दाहरू अदालतमा छन्।
यदि तपाईँ लाभांश (Dividend) को आशामा हुनुहुन्छ भने, यसले २५ करोडको सञ्चित घाटा पूर्ति नगरेसम्म एक पैसा पनि बाँड्न पाउँदैन। त्यसैले, केवल बजारमा मूल्य बढेको देखेर मात्र होइन, कम्पनीको बुँदा नम्बर ५ मा उल्लेखित 'समस्या र चुनौती' पढेर मात्र निर्णय लिनु बुद्धिमानी हुनेछ।
दिब्येश्वरीको नाफा र घाटाको लुकामारी कुनै चमत्कार होइन, यो नदीको पानी र बैंकको ब्याजको सन्तुलन मात्र हो।