बबी सम्झन्छन्, "हामीले आइतबार अमेरिकाबाट आएको समाचारमा देख्यौँ कि बैंक टाट पल्टिएको (दिवालियापन) घोषणा गर्न निवेदन दिइरहेको छ। तर बेलायतमा रहेका हाम्रा लागि यसको अर्थ के हो ? हामीलाई थाहा थिएन। त्यसैले हामीलाई सामान्य रूपमा काममा आउन भनिएको थियो।" बबीका अनुसार सुरुका केही समय त्यहाँ निकै भद्रगोल स्थिति थियो। "हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुनै प्रत्यक्ष सम्पर्क थिएन; उनीहरूले फोन पनि उठाउँदैनथे। केही मानिसहरू त भित्तामा झुण्डिएका चित्रहरू जस्ता सामानहरू बटुल्दै थिए र भन्दै थिए— 'बैंकले मलाई मेरा शेयरहरू दिनुपर्छ'।" तर बबजीलाई संकट आउन सक्छ भन्ने आभास थियो र उनी मानसिक रूपमा तयार थिए।
उनी ठट्टा गर्दै भन्छन्, "मैले वास्तवमा अन्तिम दिन एउटा किनमेल ट्रली किनेको थिएँ। अनि रमाइलो कुरा के छ भने, त्यो गर्मीमा मानिसहरू अलि बेचैन थिए। मैले मेरो भेन्डिङ मेसिन कार्डमा भएका ३०० पाउण्ड मूल्यका चकलेटहरू सबै खरिद गरेँ। मलाई थाहा थियो। यदि बैंक डुब्यो र भेन्डिङ मेसिन वा बैंकको प्रणाली बिग्रियो भने मेरो कार्ड बेकार हुनेछ।" बबीले आफ्ना हजारौँ सहकर्मीहरूसँगै आफ्नो करियरका सबै यादहरू एउटा कार्डबोर्ड बक्समा भरेर कार्यालय छोडे। यो दृश्य विश्वव्यापी वित्तीय संकटको एउटा पहिचान बन्यो। जसले हजारौँ व्यवसायहरू बन्द गरायो र लाखौँ मानिसहरूले जागिर गुमाए। यसले दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा लामो र गहिरो आर्थिक मन्दीको सुरुवात गरेको थियो।
आजको अवस्था: के फेरि इतिहास दोहोरिँदै छ ?
सन् २००८ मा लेहम्यान ब्रदर्सको पतनसँगै विश्व अर्थतन्त्र हल्लिएको थियो। अहिले फेरि विश्व आर्थिक सूचकाङ्कहरूमा केही 'चेतावनीका संकेतहरू' देखिन थालेका छन्। जसले गर्दा कतिपय विज्ञहरू हामी अर्को ठुलो वित्तीय संकटको मुखमा त छैनौँ भन्ने आशंका गरिरहेका छन्। तर २०२६ सम्म आइपुग्दा अन्तर्राष्ट्रिय सम्बन्धहरू २००८ को तुलनामा निकै तनावपूर्ण छन्। यस्तो अवस्थामा यदि अर्को मन्दी आयो भने, नीति निर्माताहरूसँग त्यसलाई समाधान गर्ने उपायहरू होलान् ?
सुरुवाती चेतावनीका संकेतहरू
२००८ को संकट आउनुअघि पनि केही चेतावनीका संकेतहरू थिए। २००७ मा जब घरधनीहरूले ऋण तिर्न सकेनन्। जोखिमपूर्ण अमेरिकी धितोमा गरिएको लगानी खस्कन थाल्यो। बियर स्टर्न्स र बीएनपी परिबास जस्ता बैंकहरूले चलाएका कोषहरूबाट लगानीकर्ताहरूले आफ्नो पैसा निकाल्न खोजे, जसले गर्दा कतिपय कोषहरू पूर्ण रूपमा बन्द भए। यी समस्याहरूले भविष्यमा आउने ठुलो विपत्तिको संकेत दिएका थिए। जब डर फैलियो, बैंकहरूले एक अर्कालाई ऋण दिन बन्द गरे। जसलाई 'क्रेडिट क्रन्च' भनिन्छ। यसले नै विश्वव्यापी वित्तीय संकट निम्त्यायो।
आजको समयमा हेर्दा पनि केही समानताहरू देखिन्छन्। हाल धेरै ऋण दिने कोषहरूले घाटा भएको घोषणा गरेका छन् वा लगानीकर्तालाई पैसा फिर्ता दिने प्रक्रियामा प्रतिबन्ध लगाएका छन्। ब्ल्याकरक, ब्ल्याकस्टोन,अपोलो र ब्लू आउल जस्ता निजी क्रेडिट कोषहरूबाट लगानीकर्ताहरूले अर्बौ डलर फिर्ता मागेका छन्। बैंक अफ इङ्गल्याण्डकी डेपुटी गभर्नर सारा ब्रीडेन भन्छिन् कि निजी ऋणको यो नयाँ बजार निकै तीव्र गतिमा बढेको छ। तर यसको वास्तविक परीक्षा हुन बाँकी छ। उनी भन्छिन्, "हामीले अहिले जे देखिरहेका छौँ, त्यसमा २००८ को वित्तीय संकटको प्रतिध्वनि छ। पछिल्लो १५-२० वर्षमा निजी ऋण शून्यबाट बढेर साढे दुई ट्रिलियन डलर पुगेको छ। यसमा जटिलता छ, अस्पष्टता छ र अन्य वित्तीय प्रणालीसँग यसको गहिरो सम्बन्ध छ। यी सबै कुराहरू २००८ को संकटसँग मेल खान्छन्।" उनी यो कुराले पनि चिन्ता व्यक्त गर्छिन् कि यी निजी कोषहरूले दिएको पैसा आफैँ पनि उधारो लिएर ल्याइएको हुन्छ। यसले ऋणको एउटा ठुलो तह (Leverage) सिर्जना गर्छ। जसले गर्दा सानो घाटा भए पनि त्यसको असर निकै ठुलो हुन सक्छ।
जर्मन वित्तीय फर्म एलियान्जका प्रमुख आर्थिक सल्लाहकार मोहम्मद एल-एरियन पनि सहमत छन्। उनी भन्छन्, "२००७ सँग केही समानताहरू छन् जसले मलाई रातभरि निदाउन दिँदैन। वित्तीय प्रणालीमा केही स्पष्ट कमजोरीहरू छन्। जसलाई उचित रूपमा हेरिएको छैन।" उनका अनुसार, संकटपछि बैंकहरूमा लगाइएका कडा नियमहरूले गर्दा नै यो नयाँ 'निजी क्रेडिट बजार' को जन्म भयो। बैंकहरू सतर्क भएकाले कम्पनीहरूले निजी ऋणदाताहरूबाट पैसा लिन थाले। तर एल-एरियन चेतावनी दिन्छन्— "यदि अचानक सबै ऋणदाताहरूले एकैसाथ आफ्नो पैसा फिर्ता मागे भने, अर्थतन्त्रको जग नै हल्लिन सक्छ।" यद्यपि, ब्ल्याकरकका प्रमुख ल्यारी फिङ्क भने यसमा सहमत छैनन्। उनी भन्छन् कि आजका वित्तीय संस्थाहरू बढी सुरक्षित छन् र २००८ जस्तो आघात दोहोरिने कुनै सम्भावना छैन।
ऊर्जा संकटको जोखिम
इतिहास दोहोरिने अर्को माध्यम ऊर्जाको मूल्य हुन सक्छ। २००८ को संकटमा तेलको मूल्य एक वर्षमै ५० डलरबाट बढेर १४७ डलर पुगेको थियो। आज पनि तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। यदि इरानसँगको द्वन्द्व बढ्यो र 'हर्मुज जलमार्ग' (जहाँबाट विश्वको धेरै तेल ढुवानी हुन्छ) बन्द भयो भने यो मूल्य अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलका अनुसार, हर्मुज जलमार्ग बन्द हुनु इतिहासको सबैभन्दा ठुलो ऊर्जा सुरक्षा संकट हुन सक्छ। यद्यपि, हालका शेयर बजारहरू उच्च बिन्दुमा छन्। जसले गर्दा तत्कालै ठुलो गिरावट आउने संकेत देखिएको छैन। तर सारा ब्रीडेन भन्छिन् कि यदि निजी ऋणको संकट, एआई (AI) को बजारमा गिरावट र ऊर्जा संकट एकैसाथ आइलाग्यो भने, त्यो विश्व अर्थतन्त्रका लागि एउटा ठुलो झट्का हुनेछ।
कृत्रिम बुद्धिमत्ता (AI) को 'बबल'
ब्रीडेनले अर्को जोखिमका रूपमा एआई (AI) लाई औँल्याएकी छिन्। एआईमा २० खर्ब डलरभन्दा बढी लगानी भएको छ। जसलाई बिल गेट्सले 'उन्माद' र अरूले 'बबल' (अस्वाभाविक वृद्धि) भनेका छन्। यसले केही ठुला कम्पनीहरूको मूल्यलाई यति बढाएको छ कि अमेरिकी शेयर बजार (S&P 500) को ३७ प्रतिशत हिस्सा केवल सात वटा कम्पनीहरू (एनभिडिया, माइक्रोसफ्ट, गुगल, अमेजन आदि) मा केन्द्रित छ। यदि यी कम्पनीहरूको शेयर मूल्य घट्यो भने, यसले लाखौँ बचतकर्ता र पेन्सन कोषहरूलाई असर गर्नेछ। सन् २००० मा 'डटकम बबल' फुटेपछि सन् २००१ मा मन्दी आएको थियो। त्यस बेला टेक कम्पनीहरूको शेयर मूल्य ८० प्रतिशतले घटेको थियो। अहिलेको एआई लहर पनि त्यस्तै जोखिममा हुन सक्छ।
के नीति निर्माताहरूसँग समाधानका उपायहरू छन् ?
२००८ मा जब संकट आयो, सरकारहरूले अरबौँ डलर खर्च गरेर बैंकहरूलाई बचाए र केन्द्रीय बैंकहरूले ब्याजदर घटाए। तर अहिले त्यस्ता उपायहरू काम नगर्न सक्छन्। २००८ मा बेलायत सरकारको ऋण राष्ट्रिय आयको ५० प्रतिशत भन्दा कम थियो। तर अहिले त्यो १०० प्रतिशतको नजिक पुगेको छ। अर्थात्, सरकारसँग अब बैंकहरूलाई बचाउनका लागि धेरै पैसा उधारो लिने क्षमता छैन। मोहम्मद एल-एरियन यसलाई 'पानी सकिएको दमकल' सँग तुलना गर्छन्। उनी भन्छन्, "सरकार र केन्द्रीय बैंकहरूले एकपछि अर्को संकट समाधान गर्दागर्दै आफ्नो क्षमता कमजोर बनाएका छन्।"
अन्तर्राष्ट्रिय सम्बन्ध पनि अहिले कमजोर छ। २००८ मा विश्वका नेताहरू एकजुट भएर संकट समाधानका लागि बसेका थिए। तर आज अमेरिका-चीन व्यापार युद्ध, युक्रेन युद्ध र 'अमेरिका फर्स्ट' जस्ता नीतिहरूले गर्दा देशहरूबिच समन्वय गर्न गाह्रो छ।
आशा र चुनौती
यति हुँदाहुँदै पनि सारा ब्रीडेन एउटा सकारात्मक कुरा भन्छिन्— अहिलेका बैंकहरूसँग २००८ को तुलनामा बढी पूँजी छ। उनी भन्छिन्, "बैंकहरू अहिले बढी सुरक्षित छन्, त्यसैले यदि तनाव आयो भने पनि त्यो २००८ जति भयानक नहुन सक्छ।" तर एल-एरियन भन्छन् कि बैंकिङ प्रणाली सुरक्षित भए पनि वित्तीय कमजोरीहरूले मन्दी निम्त्याउन सक्छन्। र यस्तो मन्दीमा सबैभन्दा बढी असर गरिब र कमजोर वर्गलाई पर्छ। किनभने उनीहरूसँग संकट झेल्ने क्षमता हुँदैन।
अहिले गणित शिक्षक बनेका बबी सिगल भन्छन्, "वित्तीय बजारहरू अहिले अझै जटिल भएका छन्। सतहमुनि के लुकेको छ। कसैलाई थाहा हुँदैन। जब संकट आउँछ, यो निकै छिटो फैलिन्छ। र त्यस्तो बेला जोखिमपूर्ण लगानीको प्याकेज हातमा बोकेर बस्ने अन्तिम व्यक्ति बन्नु सबैभन्दा डरलाग्दो कुरा हो।"