भट्टका अनुसार निजी क्षेत्र हाल 'अनसस्टेनेबल डेब्ट ट्र्याप' मा छ, जहाँ बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जा कुल गार्हस्थ्य उत्पादनको करिब ९२ प्रतिशत पुगेको छ र अन्य कोषहरू समेत जोड्दा यो ११० प्रतिशत पुग्ने देखिन्छ। यसका साथै निजी क्षेत्रको ठुलो लगानी अनुत्पादक सम्पत्तिमा फसेका कारण व्यवस्थापनमा गम्भीर चुनौती थपिएको उनको भनाइ छ। अर्कोतर्फ, सरकार भने 'अनबेरेबल अब्लिगेटरी ट्र्याप' मा रहेको उनले उल्लेख गरे, जहाँ सामाजिक सुरक्षा र बढ्दो ऋणको सावाँ–ब्याज भुक्तानीका कारण अनिवार्य दायित्व धान्नै नसकिने गरी बढ्दै गएको छ।
विगतका आर्थिक सुधारहरूले वृद्धिमा योगदान दिए पनि अबको बाटो 'इन्नोभेसन' र 'डिजिटलाइजेसन' हुनुपर्नेमा उनले जोड दिए। हामी औद्योगिक क्रान्तिको पाँचौँ चरणमा प्रवेश गरिरहेकाले अबको आर्थिक वृद्धि डिजिटल क्रान्तिले डोऱ्याउनुपर्ने उनको तर्क छ। सस्तो लोकप्रियताका लागि धेरै कर घटाउने वा बढाउने भन्दा पनि मध्यम र दिगो बाटो रोज्नुपर्ने सुझाव दिँदै उनले अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रले नेतृत्व लिनुपर्ने र सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्ने बताए। बजारको अपेक्षा र कार्यदक्षता बीचको सन्तुलन मिलाउनु नै अहिलेको प्रमुख कार्यभार रहेको उनको निष्कर्ष छ।