नयाँ सरकार गठन भएपछि २०० अंकले घट्याे नेप्से, घटेकाे मूल्यमा पनि लगानीकर्ताकाे रुचि छैन किन ?

May 06, 2026 05:35 PM Merolagani



सुधा देवकोटा
मुलुकमा नयाँ सरकार गठन भएको ४० दिन पूरा भएको छ। सरकार गठनसँगै प्रशासनिक तथा आर्थिक क्षेत्रमा कामकारबाहीलाई तीव्रता दिइएको छ।

सरकारले क्षेत्रलाई सुधार र व्यवस्थित बनाउने सक्रियता देखाएको छ। तर अर्थतन्त्रको ऐनाका रूपमा मान्यता पाएको शेयर बजारमा भने उत्साह देखिनुको साटो निरन्तर गिरावट आइरहेको छ। पछिल्लो उच्च विन्दु २९६० बाट नेप्से परिसूचक करिब २५० अंक अर्थात् ८.४२ प्रतिशतले घटिसकेको छ। सरकार गठनपछि पनि बजार घट्ने क्रम जारी नै छ।

नयाँ सरकार गठनपछिका पछिल्ला ४० दिनलाई मात्र हेर्ने हो भने पनि नेप्से सूचक करिब २०० अंकले घटेको छ। सरकार गठन हुँदा नेप्से २९११ मा थियो भने बुधबार २७११ विन्दुमा बन्द भएको छ। निरन्तर गिरावटसँगै कारोबार रकम पनि घटेको छ, जसले बजारमा ‘बेयरिस’ दबाब परेको संकेत गर्छ। तर घटेको मूल्यमा पनि लगानीकर्तामा शेयर खरिद गर्ने रुचि देखिएको छैन। बजारको प्राण मानिने कारोबार रकममा आएको संकुचनले लगानीकर्तालाई थप चिन्तित बनाएको छ।

केही साताअघि दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार हुने बजारमा अहिले कारोबार रकम निकै घटेको छ। बुधबार मात्र ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भयो। परिसूचकसँगै कारोबार रकम घट्नुलाई विश्लेषकहरूले लगानीकर्ताको घट्दो आत्मविश्वास र ‘पर्ख र हेर’ रणनीतिका रूपमा लिएका छन्।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार अहिलेको गिरावट बजारमा पैसा नभएर भन्दा पनि लगानीकर्तामा लगानी गर्ने रुचि र साहसको कमीका कारण हो। उनका अनुसार धेरै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा छन् र केही लगानीकर्ता २६०० देखि २९०० विन्दुको बीचमा साइडवेज खेल्न अभ्यस्त भएका छन्, जसले बजारको लयलाई असर गरेको छ। पाण्डे भन्छन्, “यो अवस्थामा धैर्य गरेर शेयर किन्ने हो भने एक–दुई महिनामै राम्रो प्रतिफल पाउन सकिन्छ।”

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा छ र लगानीकर्ताहरू बजेटको दिशा पर्खिरहेका छन्। यद्यपि, नेप्से सूचकले सधैं बजेटलाई मात्र पर्खँदैन। केही दिनभित्रै बजारले सकारात्मक लय समात्ने अपेक्षा गरिएको छ।

बजार सूचकलाई दीर्घकालीन रूपमा असर पार्ने नकारात्मक आधारभूत कारणहरू देखिँदैनन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ र निक्षेपको ब्याजदर न्यून विन्दुमा झरेको छ। बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ३ देखि ४.५ प्रतिशतसम्म ब्याज दिएका छन् भने कर्जाको ब्याजदर पनि सस्तो भएको छ। तर, यति सहज अवस्थाका बाबजुद पनि ऋणको माग अपेक्षित रूपमा बढ्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निरन्तर निक्षेप संकलन र बन्ड जारी गरिरहेको छ। तर, उपलब्ध पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको आरोप लाग्ने गरेको छ।

बजार सुस्त हुनुमा आन्तरिक मात्र नभई बाह्य कारणहरूको पनि प्रभाव छ। मध्यपूर्वमा बढ्दो तनाव, त्यसले विश्व अर्थतन्त्रमा पार्न सक्ने असर र सम्भावित मुद्रास्फीतिको डरले लगानीकर्तामा अन्योलता बढाएको छ। साथै, विश्व बैंक र एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर कमजोर रहने प्रक्षेपण गरेपछि पनि नकारात्मक सन्देश गएको छ। देशभित्र विकास खर्च कम हुनु पनि आर्थिक गतिविधि सुस्त हुनुको एक कारण हो।

यसका अतिरिक्त, केही ठूला व्यापारी अनुसन्धानको दायरामा पर्नु र ब्रोकर लिमिटमा कडाइ हुनु पनि कारोबार घट्नुका कारण मानिन्छन्। नेप्सेमा निरन्तर गिरावट र न्यून कारोबार रकमले बजारमा निराशा बढेको संकेत गर्छ। तर इतिहास हेर्दा, बजार चरम निराशाको अवस्थामा पुगेपछि नै नयाँ उचाइतर्फ उकालो लाग्ने प्रवृत्ति देखिन्छ।

यस्तो अवस्थामा प्यानिक भएर शेयर बेच्नु भन्दा खरिद गर्ने अवसरका रूपमा लिन सकिन्छ। बलियो आधारभूत अवस्था भएका कम्पनीहरू छनोट गरी धैर्यताका साथ लगानी गर्नु उपयुक्त हुन्छ। लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था र लाभांश क्षमताको विश्लेषण गरेर रणनीति बनाउनुपर्ने देखिन्छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।