बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिएका छन्। गोपाल भट्ट नातामा संयोजक डा. गुणाकर भट्टका दाजु हुन्। दाजु नै उम्मेदवार भएपछि छनोट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर उनले समितिबाट अलग हुने निर्णय गरेका हुन्।
सरकारले डा. भट्टको नेतृत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सम्मिलित तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। कानुनी व्यवस्था अनुसार, यस समितिले आवेदन दिएका उम्मेदवारहरूमध्येबाट उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ। ती तीनमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ।
संयोजक भट्टको राजीनामासँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अन्योलमा परेको छ। अब सरकारले सिफारिस समितिको नयाँ संयोजक नियुक्त गरेपछि मात्र रोकिएको छनोट प्रक्रिया अगाडि बढ्नेछ।