सरकारी बैंकका तीनवटै अध्यक्षसहित सञ्चालकहरूले दिए राजीनामा

May 07, 2026 06:00 PM Merolagani



नयाँ सरकार गठनसँगै सरकारी स्वामित्वका तीन ठूला बैंकको नेतृत्व तहमा ठूलो उथलपुथल भएको छ। सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने गरी अध्यादेश ल्याएपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले राजीनामा बुझाएका हुन् ।

अध्यक्षहरूले मात्र होइन, राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सञ्चालक समिति सदस्यहरूले समेत सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सदस्यहरूमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना र हरिकुमार सिलवाल रहेका छन्।
अघिल्लो सरकारको पालामा नियुक्त भएका यी पदाधिकारीहरूलाई अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमै बोलाएर मार्ग प्रशस्त गर्न स्पष्ट निर्देशन दिएको थियो । मन्त्रालयको सोही ’ग्रिन सिग्नल’ पछि बिहीबार धमाधम राजीनामा आएको हो ।

सरकारले यही वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको थियो । यस अध्यादेशमार्फत सरकारले १०८ वटा निकायका १५९४ पदाधिकारीको नियुक्ति एकमुष्ट खारेज गरिदिएको छ ।

यद्यपि, सरकारले नेपाल राष्ट्र बैंक ऐनलाई भने उक्त अध्यादेशको दायरामा राखेको छैन जसका कारण राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति भने जोगिएको छ । गभर्नरलाई जोगाएर अन्य सबैजसो सरकारी राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको रणनीति देखिएको छ ।

नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी अनुभव सम्हालेका देवकुमार ढकाल गत साउन २ मा वाणिज्य बैंकको अध्यक्ष नियुक्त भएका थिए भने प्रा.डा. डिल्लीराज शर्मा गत भदौ १८ मा स्वतन्त्र सञ्चालक नियुक्त भई त्यसको दुई दिनपछि नेपाल बैंकको अध्यक्ष बनेका थिए । त्यस्तै डिमप्रसाद पौडेल गत भदौ १९ मा सञ्चालक सदस्य हुँदै कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

सरकारी बैंकहरूमा सरकार फेरिएसँगै नेतृत्व फेर्ने पुरानै ‘संस्कार’ ले यसपटक पनि निरन्तरता पाएको छ । मन्त्रालयको प्रतिनिधित्व गर्ने सहसचिवहरूको समेत सरुवा र अवकाश भइसकेको अवस्थामा अब यी तीनवटै बैंकमा नयाँ सरकारले आफ्ना निकटका नयाँ अनुहारहरूलाई भित्र्याउने पक्का भएको छ । व्यावसायिक बैंकिङ भन्दा पनि राजनीतिक खिचातानीका कारण बोर्ड नै रिक्त हुँदा बैंकको दीर्घकालीन रणनीतिमा भने केही प्रभाव पर्न सक्ने देखिन्छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।