ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले सरकारले जलविद्युत् र सिँचाइ क्षेत्रमा निर्माणधीन तथा पुराना आयोजनाको निर्माण सम्पन्न गराउन पहिलो प्राथमिकता दिने बताए । उनका अनुसार, सरकारले नयाँ आयोजना घोषणा गरेर आर्थिक भार नबढाउने नीति लिएको हो ।
‘सरकारले निर्माणधीन र पुराना आयोजना सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ काम गरेको छ,’ मन्त्री श्रेष्ठले भने, पुरानालाई सम्पन्न गर्ने नयाँ थपेर आर्थिक बोझ नलिने सरकारको योजना छ ।’
उनले आगामी दश वर्षमा देशको कुल जडित क्षमता ३० हजार मेगावाट पुर्याउन सरकारले योजना बनाइरहेको बताए । उनले दश वर्षमा भारतमा १० हजार र ५ हजार मेगावाट बंगलादेश विद्युत् निर्यात गर्ने लक्ष्य समेत सरकारका सामु रहेको मन्त्री श्रेष्ठले बताए ।