एक वर्षसम्म सुन नकिन्न भारतीय प्रधानमन्त्री मोदीको आब्हानपछि सुन बजारमा त्रास, राजनीति क्षेत्रमा खैलाबैला

May 11, 2026 01:20 PM mero lagani



भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले एक वर्षसम्म सुन नकिन्न  आब्हान गरेपछि  भारतको सुन बजारमा अनिश्चितता छाएको छ ।

त्यसले शेयर बजारमा र लगानीका अन्य क्षेत्रमा पनि मनोवैज्ञानिक त्रास सृजना गरेको देखिएको छ ।सोमबार बजार खुलेपछि सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने भने मोदीको अभिव्यक्तिपछि भारतका सुन तथा गहना कम्पनीहरूको शेयर बजारमा तीव्र गिरावट आएको छ ।

प्रमुख गहना कम्पनीहरूको शेयर १० प्रतिशतभन्दा बढीले घटेको छ । स्काई गोल्डको शेयर सबैभन्दा धेरै १२ प्रतिशतले घटेपछि यो ४७५ रुपैयाँमा झरेको छ । सेन्कोको शेयर मूल्य ३६५.४० रुपैयाँबाट घटेर ३२५.०५ रुपैयाँमा झरेको छ । कल्याण ज्वेलर्सको शेयर अघिल्लो मूल्य ४२४.५५ रुपैयाँबाट करिब १० प्रतिशतले घटेर ३८२.१० रुपैयाँमा झरेको छ। टाइटनको शेयर मूल्य ८ प्रतिशतले घटेर ४ हजार १५०.१० रुपैयाँमा झरेको छ । बिहान १० बजेतिर सेन्सेक्स १.३५ प्रतिशतले घटेर ७६,२८२.२८ मा र निफ्टी १.२३ प्रतिशतले घटेर २३,८७७.८० अंकमा आइपुगेकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै भारतीयहरुलाई १ वर्षसम्म सुन नकिन्न र विदेश भ्रमण नगर्न आब्हान गरेका थिए ।

यो आब्हान मुख्यतः भारतको विदेशी मुद्रा सञ्चिति जोगाउने उद्देश्यले गरिएको बताइएको छ, किनकि भारत विश्वकै ठूलो सुन आयातकर्तामध्ये एक हो ।

भारत विश्वको दोस्रो ठूलो सुन किन्ने देश हो र हरेक वर्ष करिब ५९ अर्ब डलरको सुन आयात गर्छ ।भारतको केन्द्रिय बैंक, रिजर्व बैंक अफ इण्डिया (आरविआई)ले विश्व बजारमा सुनको मूल्य आकासिंदा त्यसको दवाव भारतीय रुपैयाँ परेको र रुपैयाँ निरन्तर कमजोर हुँदै गएको बताएको छ । साथै सुन थप महँगो हुंदा भारतीय रुपैयाँथप कमजोर हुने र देशको वित्तीय प्रणाली नै अस्तव्यस्त हुन सक्ने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्री मोदीको आब्हान त्यही चेतावनीको परिणाम भएको बताइएको छ ।

साथै, प्रधानमन्त्री मोदीले पेट्रोल र डिजेल बचाउन, सार्वजनिक यातायात प्रयोग गर्न, घरबाटै काम गर्न र अत्यावश्यक बाहेकका वस्तुहरु किन्न र विदेश यात्रा नगर्न आग्रह गरेका छन् । उनले आइतबार भनेका थिए—देशभक्ति भनेको आफ्नो जीवन दिनु मात्र होइन, कठिन समयमा जिम्मेवारीपूर्वक बाँच्नु पनि हो ।

प्रधानमन्त्री मोदीले जनतालाई भरसक यात्रा नगर्न र गर्नै परे सार्वजनिक यातायात प्रयोग गर्न अपिल गरेका छन् । उनले मेट्रो, कारपूल, ईभी अपनाउनेमा जोड दिएका छन् । यसको कारण भारतले ८५ प्रतिशत तेल बाहिरबाट आयात गरिरहेको छ भने कच्चा तेलको मूल्य १२० डलर नाघेको छ ।

मोदीले घरबाटै काम गर्न आग्रह गरेका छन् र विदेशी समानको साटो भारतमै निर्मित समानहरु उपयोग गर्नसमेत आब्हान गरेका छन् । किसानलाई रसायनिक मल खपत घटाउन आब्हान समेत गरेका छन् ।

उनको यो आब्हानपछि एकातिर सुन बजार अनिश्चित देखिएको छ भने अर्काेतर्फ राजनीतिक रुपमासमेत विवाद सृजना गरेको छ । संसदमा प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस नेता राहुल गान्धीले सामाजिक संजालमा लेखेका छन्— मोदी शासन शुरु भएको १२ वर्षमा देश यस्तो बिन्दुमा आइपुगेको छ कि मानिसहरूलाई के किन्ने, के किन्ने, कहाँ जाने, कहाँ नजाने भनेर भन्नुपरेको छ ।

प्रत्येक पटक, तिनीहरू जनतामा जिम्मेवारी राख्छन् ताकि तिनीहरू आफैं जवाफदेहीताबाट बच्न सकून् । अब मोदी देश चलाउन सक्षम छैनन भन्ने उनको यो भनाईले पुष्टि गरेको छ ।

उता समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले पनि प्रधानमन्त्री मोदीको आब्हानप्रति आक्रोस पोखेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्— यस विषयमा अखिलेश यादवले एक एक्स पोस्टमा लेखेका छन्— सुन नकिन्न जनतालाई होइन, भाजपाले आफ्ना भ्रष्ट जनतासँग अपिल गर्नुपर्छ किनभने जनताले १.५ लाख तोला बराबरको सुन किन्न सकेका छैनन् । भाजपा आफ्नो कालो धनलाई सुनाउने काममा लागिरहेको छ ।