भारतीय तेल कम्पनीहरूलाई १० हप्तामै १ लाख करोडको झट्का

May 11, 2026 01:42 PM Merolagani



भारतका सरकारी स्वामित्वका तेल प्रशोधन तथा वितरण कम्पनीहरूले पछिल्लो १० हप्तामा मात्रै १ लाख करोड भारु बराबरको ठूलो वित्तीय घाटा व्यहोर्नु परेकाले भारतीय बजारमा चौतर्फी दबाब सिर्जना भएको छ।

पश्चिम एसियामा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १०० डलर नाघे पनि आन्तरिक बजारमा इन्धनको भाउ स्थिर राखिँदा इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम जस्ता ठूला कम्पनीहरूले दैनिक १ हजार ७ सय करोड भारुसम्मको अन्डर-रिकभरी सहनु परिरहेको छ।

तेल क्षेत्रको यो संकटसँगै भारतीय शेयर बजारमा विदेशी संस्थागत लगानीकर्ता (FPI) को समेत ठूलो पहिरो देखिएको छ। सन् २०२६ को सुरुवातदेखि नै आक्रामक बनेका विदेशी लगानीकर्ताहरूले मे महिनाको पहिलो हप्तामै थप १४ हजार २ सय करोड भारुको शेयर बिक्री गरेपछि ५ महिना नपुग्दै बाहिरिने कुल पुँजी २ लाख करोड भारु नाघेको छ। विश्वव्यापी आर्थिक अनिश्चितता, बढ्दो अमेरिकी ट्रेजरी यिल्ड र डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक ९५ को कमजोर विन्दुमा पुगेका कारण 'स्मार्ट मनी' सुरक्षित गन्तव्यतर्फ पलायन भइरहेको हो। विशेषगरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएको यो तीव्र बिक्री चापले निफ्टी लगायतका मुख्य सूचकहरूलाई तल्लो विन्दुमा धकेलेको छ। तेल कम्पनीहरूको बिग्रिँदो वित्तीय स्वास्थ्य र विदेशी पुँजीको बहिर्गमनले भारतीय अर्थतन्त्रमा मूल्यवृद्धि र तरलताको नयाँ चुनौती थप्ने निश्चित देखिएको छ।