आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको तथ्याङ्क अनुसार नेपालको कुल निर्यातको करिब ६० प्रतिशत हिस्सा त्यस्ता वस्तुले नै ओगटेका छन्। जसको नेपालले निर्यात गरेको भनेर दङ्ग पर्नु ...... पछिको एक छिनको न्यानो मात्रै रहेको पुष्टि गर्छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत रहँदा निर्यातको हिस्सा केबल १२.८२ प्रतिशतमा खुम्चिएको छ। नेपालको निर्यात सूचीमा रहेका प्रमुख १० वस्तुमध्ये अधिकांशको कच्चा पदार्थ आयातमा निर्भर हुनुले व्यापार घाटा कम गर्न मद्दत पुग्नुको सट्टा उल्टै दबाब सिर्जना गरिरहेको छ। विशेष गरी सोयाबिन, सूर्यमुखी र पाम तेलको आयात र निर्यातको अङ्कले यो वास्तविकतालाई थप प्रस्ट पार्छन्।
फोटोमा हेर्नुहोस् आयात निर्यातको अवस्था

माथि उल्लेखित तस्बिरमा भएका सोयाबिन, सूर्यमुखी र पाम तेल नेपालका उत्पादन होइनन्। जुन निर्यात भए भनेर दङ्ग पर्नु बेकार हो। सोही कारण नेपालको व्यापार घाटा कम हुन नसकेको हो। गएको १० महिनामा मात्रै नेपालको कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतको वृद्धि हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत रहँदा निर्यातको हिस्सा केबल १२.८२ प्रतिशतमा खुम्चिएको छ। नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा ६.७९ रुपैयाँ बराबरको वस्तु आयात गर्नुपर्ने बाध्यकारी अवस्था छ।
खाने तेलको 'रोचक' व्यापार: नाफा कि नोक्सान ?
तथ्याङ्क अनुसार नेपालले १० महिनामा सबैभन्दा बढी निर्यात गरेको वस्तु सोयाबिन तेल हो। नेपालले १०१ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबरको प्रशोधित सोयाबिन तेल निर्यात गरेको छ। तर, आश्चर्यको कुरा के छ भने, सोही अवधिमा नेपालले तेस्रो मुलुकबाट १०६ अर्ब ८२ करोड २८ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात गरेको छ। यसको अर्थ, जति मूल्यको तेल निर्यात भइरहेको छ। त्योभन्दा ५ अर्ब बढी रकम त कच्चा पदार्थ खरिदकै लागि बाहिरिएको छ।
यस्तै अवस्था सूर्यमुखी तेलमा पनि देखिएको छ। १७ अर्ब ३९ करोडको कच्चा तेल आयात गरेर मात्र ७ अर्ब ४१ करोडको निर्यात भएको छ। यसले के स्पष्ट पार्छ भने नेपालमा प्रशोधित हुने अधिकांश खाने तेल नेपालको आफ्नै माग धान्न प्रयोग भइरहेको छ र बाँकी रहेको तेल मात्र निर्यात भइरहेको छ। यो व्यापारले भन्सार राजस्वमा योगदान दिए पनि डलर सञ्चितिमा भने लाभभन्दा बढी घाटा पुर्याइरहेको देखिन्छ।
स्वदेशी उत्पादनको शक्ति: गलैँचा र अलैँची
री-एक्सपोर्ट व्यापारको भीडमा ऊनी गलैँचा र अलैँचीले मात्र वास्तविक मूल्य अभिवृद्धि गरिरहेको देखिएको छ। गलैँचा बुन्नका लागि नेपालले १ अर्ब ५९ करोडको ऊन आयात गर्दा ८ अर्ब २४ करोडको तयारी गलैँचा निर्यात गरेको छ। यसमा ६ अर्ब ६५ करोड रुपैयाँ शुद्ध 'भ्यालु एडिसन' देखिएको छ। जसले नेपालको श्रम र सीपको मूल्य झल्काउँछ। त्यस्तै, ११ अर्ब ४२ करोडको निर्यात भएको अलैँचीमा नेपालको आयात लागत शून्य प्रायः छ, जसले यो व्यापार शतप्रतिशत नाफामा रहेको पुष्टि गर्छ।
जुट र धागोको अवस्था
नेपालको औद्योगिक निर्यातमा पोलिस्टर धागो र जुटको हिस्सा पनि ठुलो छ। ६ अर्ब ७८ करोडको सिन्थेटिक फाइबर आयात गरेर ८ अर्ब २ करोडको धागो निर्यात हुनुले यो क्षेत्रमा करिब डेढ अर्बको मूल्य अभिवृद्धि भएको देखाउँछ। जुट उद्योगमा भने ४ अर्ब ९२ करोडको कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्दा ५ अर्ब १९ करोडको निर्यात भएको छ। यसले जुट उद्योगले पनि जेनतेन आफ्नो लागत उठाइरहेको देखाउँछ।
अन्त्यमा यो तथ्याङ्कले नेपाली अर्थतन्त्रका दुई प्रमुख कमजोरीलाई औँल्याएको छ। पहिलो, नेपालको निर्यात दिगो छैन। यदि भारतले खाने तेलको आयात नीतिमा सामान्य फेरबदल गरिदियो भने नेपालको आधाभन्दा बढी निर्यात एकै दिनमा समाप्त हुन सक्छ। दोस्रो, यसले नेपाललाई वास्तविक उत्पादक मुलुकभन्दा पनि 'प्याकेजिङ र रि-लेबलिङ' केन्द्रको रूपमा स्थापित गरिरहेको छ।
सोयाबिन र सूर्यमुखी तेल जस्ता 'शून्य मूल्य अभिवृद्धि' भएका वस्तु निर्यात भएर भनेर दङ्ग पर्नुको सट्टा अलैँची, चिया, र हस्तकला जस्ता शतप्रतिशत स्वदेशी उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ। अन्यथा, निर्यातको अङ्क अर्बौँमा देखिए पनि देशको व्यापार घाटा भने कहिल्यै कम हुने छैन।