नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु, कडा योग्यता र मापदण्डसहित आवेदन आह्वान

May 27, 2026 11:42 AM Merolagani



नेपालको बीमा क्षेत्रको सर्वोच्च नियामक निकाय 'नेपाल बीमा प्राधिकरण'को रिक्त अध्यक्ष पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ। नाम सिफारिस गर्न गठित समितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट ७ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

बीमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै प्राधिकरणको नेतृत्व चयनका लागि सरकारले कडा योग्यता, उच्च व्यवस्थापकीय अनुभव र नैतिक मापदण्डहरू निर्धारण गरेको छ । इच्छुक उम्मेदवारले २०८१ जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको 'वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा', सिंहदरबारमा आफ्नो आवेदन र व्यक्तिगत विवरण (Bio-Data) बुझाउनुपर्नेछ।

 

शैक्षिक योग्यता र कार्य अनुभवको कडा सर्त

सूचनाअनुसार अध्यक्ष पदका लागि उम्मेदवारले कम्तिमा स्नातकोत्तर (Master's Degree) तहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ। शैक्षिक विषयका लागि बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानूनमध्ये कुनै एक विधालाई तोकिएको छ। शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको 'उच्च व्यवस्थापकीय' कार्य अनुभव हुनु अनिवार्य गरिएको छ। यसले गर्दा बीमा वा वित्तीय क्षेत्रको नेतृत्व तहमा काम गरिसकेका व्यक्तिहरू मात्र यस दौडमा सामेल हुन पाउने देखिन्छ। समितिले यस पदका लागि उमेरको हद पनि स्पष्ट पारेको छ। आवेदन दिने मितिसम्म आवेदकको उमेर कम्तिमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। 'उच्च नैतिक चरित्र' हुनुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

को हुन सक्छन् अयोग्य ? 

सूचनाले अयोग्यताका सम्बन्धमा निकै विस्तृत र कडा प्रावधानहरू राखेको छ, जसले गर्दा स्वार्थको द्वन्द्व (Conflict of Interest) भएका व्यक्तिहरू बाहिरिनेछन्। देहायका अवस्थामा व्यक्ति अध्यक्ष पदका लागि अयोग्य मानिनेछन्। 
१. भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबार, वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको ।
२. प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई सो सूचीबाट फुकुवा भएको ३ वर्ष पूरा नभएको ।
३. कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमति (PR/DV) प्राप्त गरेको ।
४. मानसिक सन्तुलन ठीक नभएको वा दामासाहीमा परेको ।
५. कुनै सार्वजनिक निकायको ठेक्कापट्टा वा सम्झौतामा संलग्न रहेको ।
६. कुनै पनि राजनीतिक दलको सदस्य रहेको ।
७. नेपाल बीमा प्राधिकरणसँग कुनै पनि प्रकारको निजी स्वार्थ वा ठेक्कापट्टामा संलग्न रहेको ।

स्वार्थको द्वन्द्व निवारणमा कडाइ

बीमा क्षेत्रको शुद्धीकरणका लागि आवेदकले 'स्वघोषणा' समेत गर्नुपर्ने प्रावधान राखिएको छ। जसअनुसार आवेदक कुनै पनि बीमा कम्पनी (बीमक) को कर्मचारी, सञ्चालक, वा परामर्शदाता हुनुहुँदैन। यदि आवेदक कुनै बीमकको उच्च व्यवस्थापकीय पदबाट हटेको छ भने, सो पदबाट हटेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, निजको एकाघरको परिवारका सदस्यको कुनै बीमकमा आधारभूत शेयर स्वामित्व वा वित्तीय स्वार्थ हुनु हुँदैन।

छनोट प्रक्रिया

मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गर्नेछ। योग्यता र अनुभवका आधारमा सर्टलिस्ट गरिएका उम्मेदवारहरूबाट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले ती मध्येबाट एक जनालाई आगामी चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।