अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धितोपत्र बजारमा लाग्ने पूँजीगत लाभकर अन्तिम (फाइनल) नै भएको र यसमा सरकारका तर्फबाट कुनै पनि 'जालझेल' नभएको प्रस्ट पारे।
"शेयर बजारको कर फाइनल हो कि होइन भनेर केही भ्रम सिर्जना गर्न खोजिएको देखियो। म स्पष्ट पार्न चाहन्छु कि यो कर फाइनल (अन्तिम) नै हो। यसमा कसैले कुनै शङ्का वा द्विविधा राख्नुपर्ने आवश्यकता छैन।" शेयर बजारका केही व्यक्ति तथा सञ्चारमाध्यममा करका विषयमा आएका नकारात्मक टिप्पणीहरूप्रति लक्षित गर्दै अर्थमन्त्री डा. वाग्लेले भने।
पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले शेयर बजारको करलाई स्थायी र सुनिश्चित बनाउन लगानीकर्ता आफैँले माग गरेको खुलासा गरे। विगतमा लगानीकर्ताहरू सिंहदरबारमै डेलिगेसन लिएर आएको स्मरण गर्दै उनले भने, "लगानीकर्ता साथीहरू आफैँ मकहाँ आएर 'हामी ५ प्रतिशत विन्दु अतिरिक्त कर तिर्न तयार छौँ, तर यो करलाई फाइनल (अन्तिम) गरिदिनुहोस्' भन्नुभएको थियो। उहाँहरूले करको अन्योलताका कारण सधैँ टाउकोमा तरबार झुण्डिएझैँ महसुस भएको बताउनुभएको थियो। सोही मागलाई सम्बोधन गर्न अन्तिम करको रुपमा ल्याइएको हो" छिमेकी मुलुक भारतको उदाहरण दिँदै अर्थमन्त्रीले भारतमा अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभकर (CGT) क्रमशः १० र २० प्रतिशत रहेको जानकारी दिए। नेपालमा भने सरकारले लगानीकर्ताकै आग्रह र बजारको सुनिश्चितताका लागि ५ प्रतिशतको दरलाई साढे ७ प्रतिशत र साढे ७ प्रतिशतको दरलाई १० प्रतिशत बनाएर यसलाई सधैँका लागि 'फाइनल, सिल र डन' (अन्तिम रूपमा टुङ्ग्याइएको) गरेको उनको भनाइ थियो। यति स्पष्ट व्यवस्था हुँदाहुँदै पनि बजारमा नियोजित रूपमा भ्रम फैलाउन खोजिएकोमा उनले आश्चर्य व्यक्त गरे।
बजारमा चर्चामा रहेको ४० लाख रुपैयाँको सीमा र अन्य आम्दानीका विषयमा स्पष्ट पार्दै अर्थमन्त्रीले शेयर बजारबाट भएको आम्दानीमा मात्र अन्तिम कर लाग्ने बताए। यदि कुनै व्यक्तिले शेयर कारोबारबाहेक अन्य क्षेत्र जस्तै विभिन्न १० ठाउँमा परामर्श (कन्सल्टिङ) गर्ने वा २० वटा अन्य व्यवसाय सञ्चालन गर्ने गरेको छ भने उसले आफ्नो करको फारम भर्नुपर्ने हुन्छ। "यदि तपाईँ अन्य व्यवसाय पनि गर्नुहुन्छ भने फारम त भर्नु नै पर्छ। तर फारम भर्दा शेयर बजारबाट प्राप्त भएको नाफाको हकमा 'यो पूरै आम्दानी फाइनल भइसकेको हो' भनेर स्पष्ट देखाउन सकिन्छ। त्यसैले शेयर बजारको आम्दानीमा थप कर लाग्ने कुनै पनि गुन्जाइस वा सम्भावना छैन।" उनले थपे।
अर्थमन्त्री डा. वाग्लेले सरकारको नियत सफा रहेको र लगानीकर्ताको हितलाई ध्यानमा राखेर नै बजेटमा यस्तो व्यवस्था गरिएको दाबी गरे। "हामीले कुनै गल्ती वा कमजोरी गरेका छौँ र हाम्रो नियतलाई बङ्ग्याउन खोजिएको हो भने आउनुहोस्, हामी सच्याउन तयार छौँ। तर बिना आधार बजारमा द्विविधा सिर्जना गर्ने काम कसैले गर्नु हुँदैन।" उनले भने।
उनले पत्रिका र डिजिटल अनलाइन सञ्चारमाध्यमहरूलाई बिना अध्ययन र विश्लेषण नकारात्मक वा भ्रामक हेडलाइन बनाएर समाचार नलेख्न अनुरोध गरे। "सञ्चारमाध्यमका मसी र डिजिटल स्पेसका बाइटहरू बिना कारण भ्रम फैलाउन खर्च नगरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु, किनकि असत्य वा भ्रमले धेरै टाढासम्म यात्रा गर्न सक्दैन," अर्थमन्त्रीले भने। यस पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री डा. वाग्लेले शेयर बजारका आम लगानीकर्ताहरूलाई सुरक्षित रूपमा ढुक्क भएर लगानी गर्न र बजारमा फैलिएका करसम्बन्धी हल्लाहरूको पछाडि नलाग्न आग्रह गरे।