मे महिनामा नेपाल भित्रिए १ लाखभन्दा बढी विदेशी पर्यटक, भारतीयको संख्या सबैभन्दा धेरै

Jun 02, 2026 02:09 PM Merolagani



मे महिनामा मात्रै १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२६ को मे महिनामा मात्रै १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमण गरेका छन्, जुन संख्या विगतका वर्षहरूको तुलनामा निकै उत्साहजनक देखिएको छ।

यो आगमन गत वर्ष अर्थात् सन् २०२५ को मे महिनाको ८६ हजार २ सय १६ जनाको तुलनामा १९ प्रतिशतले बढी हो भने कोभिड महामारीपूर्व अर्थात् सन् २०१९ को मे महिनाको ७८ हजार ३ सय २९ जनाको तुलनामा ३१ प्रतिशतले वृद्धि हो।

विगतमा जस्तै यस महिना पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। कुल आगमनमा भारतको हिस्सा ३९.७४ प्रतिशत अर्थात् ४० हजार ७ सय ८२ जना रहेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको चीनबाट ११ हजार ५ सय १४ जना र तेस्रो स्थानमा रहेको अमेरिकाबाट ९ हजार १ जना पर्यटक नेपाल आएका छन्। यसैगरी बङ्गलादेशबाट ५ हजार २ सय ९८ जना र बेलायतबाट ३ हजार ३ सय ७५ जना पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ।

क्षेत्रीय वितरणलाई हेर्दा नेपाल आउने कुल पर्यटकमध्ये झन्डै आधा हिस्सा दक्षिण एसियाली मुलुकहरूले ओगटेका छन्, जहाँ सार्क क्षेत्रको योगदान ४७.२ प्रतिशत रहेको छ। त्यसबाहेक अन्य एसियाली मुलुकहरूबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत र ओशिनिया क्षेत्रबाट ३.१ प्रतिशत पर्यटक नेपाल आएका छन्। मध्य पूर्वबाट १.५ प्रतिशत, अफ्रिकाबाट ०.३ प्रतिशत र अन्य क्षेत्रबाट ४.५ प्रतिशत आगमन भएको छ।

पर्यटन क्षेत्रमा देखिएको यो निरन्तर सुधार र उत्साहजनक तथ्याङ्कले नेपालप्रति विश्वभरका पर्यटकको विश्वास बढ्दै गएको सङ्केत गर्छ। यसले नेपाललाई विश्वकै एक उत्कृष्ट र जीवनभरको अविस्मरणीय गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।

 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।