अहिले नेपाली सुनका उपभोक्ताको लागि यो भनाई ठ्वाक्क मेल खाएको छ । इरान—अमेरिका युद्धको कारण एकातर्फ विश्वव्यापीरुपमै सुनको मूल्य बढ्नु, त्यसमाथि सरकारले बजेट मार्फत २० प्रतिशत कर वृद्धि गर्न मात्र होइन, भारतमा भन्दा नेपालमा सुनको मूल्य धेरै भएकोले एकातर्फ उपभोक्तालाई चरम समस्या सृजना गरेको छ । अर्काेतर्फ भारतबाट सुन चोरी तस्करी हुँदा नेपालको सुन बजारमा थप प्रतिकुल असर पार्ने देखिएको छ ।
करिब दुई साता अगाडि विदेशी मुद्राको चाप तथा व्यापार घाटा कम पार्नका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकलाई कम्तीमा एक वर्ष सुन नकिन्न आव्हान गरे । त्यस लगत्तै भारत सरकारले सुनमा लाग्दै आएको ६ प्रतिशत भन्सार दरलाई बढाएर १५ प्रतिशत कायम गर्यो ।
त्यसले नेपालमा भन्दा भारतमा सुन महँगो भएको थियो । त्यहीकारण नेपाली सुन व्यवसायीले भारतसँग एउटै मूल्य कायम गर्ने गरि सुनमा लाग्दै आएको १० प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत पुर्याउन आग्रह गरेका थिए।

तर सरकारले बजेट घोषणामार्फत् नेपालमा सुनको भन्सार दर २० प्रतिशत पुर्याइदियो । यो निर्णयपछि नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुन पुगेको र त्यसबाट खासगरि सिमावर्ती नेपाली बजारमा सुनको कारोबार ठप्प भएर भारतीय बजार गुल्जार हुने अवस्था सृजना भएको व्यवसायीहरु बताउँछन् ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अहिलेको नियमानुसार भारतमा सुनमा १५ प्रतिशत भन्सार अनि ३ प्रतिशत जीएसटी कर लाग्छ भने नेपालमा २० प्रतिशत भन्सार, अनि १ प्रतिशत ब्याङ्क तथा व्यवसायीको मार्जिन जोडिन्छ। त्यस्तै सीप विकास शुल्कको नाममा ०.५ प्रतिशत थप कर लाग्छ ।
महासंघका अनुसार कर धेरै भएको कारण भारतमा भन्दा नेपालमा प्रति तोला १० देखि १५ हजारसम्म धेरै पर्छ । अरु समानजस्तो किलोमा किनेर झोलामा ल्याउनु पर्ने अवस्था नभएको पकेटमै पनि ल्याउन सकिने भएकोले भारतीय बजारबाट नेपालमा सजिलै सुन भित्रिने अवस्था रहेको जानकारहरु बताउँछन् । ‘१ किलो चिनी किन्दा १० रुपैयाँ बचत हुँदा त नेपालीहरु भारतीय बजारमा चिनी किन्न जान्छन् भने सुनको तोलामै १०—१५ हजार फरक पर्ने भएपछि कुन चाहिँ नेपालीले नेपालमा सुन किन्छ ?’ नेपाल सुन चाँदी व्यवसायी महासङ्घको मधेश प्रदेश समितिका अध्यक्ष रामजी शाह भन्छन् । उनकाअनुसार भन्सार दर समायोजन गर्नुका साथै बजेटले थपेको सीप प्रवर्द्धन शुल्क नहटाउने हो भने धेरै सुन व्यवसायीहरु पलायन हुने अवस्था छ ।