यो भारतीय वित्तीय बजारका लागि एउटा ऐतिहासिक कदम मानिएको छ, किनभने अब वर्षा पनि सुन, तेल वा सेयरजस्तै व्यापारयोग्य जोखिम (tradable risk) बनेको छ।

भारतको National Commodity & Derivatives Exchange (NCDEX) र पूँजी बजार सम्वन्धि भारतको नियामक निकाय भारतीय प्रतिभूती और विनिमय बोर्ड (सेवि)ले अनुमति दिएपछि RAINMUMBAI नामक कम्पनीले Weather Derivatives को सोमबारदेखि कारोबार शुरु गरेको हो । कतिपयले मौसम डेरिभेटिभ्सलाई कतिपयले Rainfall Futures वाMonsoon Futures पनि भन्ने गरेका छन् ।
कम्पनीले हालको लागि मुम्बईमा मनसुन अवधिभर परेको वर्षाको मात्रामा कारोबार गर्ने भएको छ । वर्षाको तथ्यांक भारतको मौसम विज्ञान विभाग (India Meteorological Department IMD) बाट लिइन्छ। कम्पनीले भारतको आर्थिक राजधानी, वर्षाका कारण यातायात, निर्माण, व्यापार र सेवाक्षेत्रमा ठूलो असर र भरपर्दो ऐतिहासिक मौसम तथ्यांक उपलब्धता रहेकोले यसको कारोबार मुम्बईबाट शुरु गरिएको र क्रमिकरुपमा भारतका अन्य शहरहरुमा पनि विस्तार गरिने उल्लेख गरेको छ । विशेषगरी कृषि, जलविद्युत तथा ऊर्जा, निर्माण कम्पनी, बैंक तथा बीमा कम्पनी, यातायात तथा पर्यटन क्षेत्रको साथै खुद्रा व्यापारीहरुले यो व्यापारबाट लाभ लिन सक्ने बताएको छ ।
Weather Derivatives कसरी काम गर्छ ?
यसको आधार Cumulative Deviation Rainfall (CDR) हो । सरल भाषामा मुम्बईको ३० वर्षको औसत वर्षा (Long Period Average – LPA) निर्धारण गरिन्छ । वास्तविक वर्षा त्यो औसतभन्दा बढी वा कम भएमा त्यसको अन्तरका आधारमा करारको मूल्य निर्धारण हुन्छ। करार नगद (cash-settled) रूपमा अन्त्य हुन्छ । वास्तविक पानी किनबेच हुँदैन।
उदाहरणको लागि यदि कुनै निर्माण कम्पनीलाई अत्यधिक वर्षाका कारण काम रोकिने डर छ भने उसले वर्षा बढ्ने पक्षमा करार किन्न सक्छ। यदि वास्तवमै धेरै वर्षा भयो भने निर्माणमा भएको नोक्सानीको केही क्षतिपूर्ति डेरिवेटिभ्सबाट प्राप्त लाभले पूर्ति गर्न सक्छ।
मूल्य निर्धारण कसरी हुन्छ ?
मानौं:
३० वर्षको औसत वर्षा (LPA) = २२०० मिमि
वास्तविक वर्षा =१९०० मिमि
अन्तर = ३०० मिमि
यदि करारमा प्रति मिमि = १०० को मूल्य तोकिएको छ भने
३०० × १०० = ३०,०००
लगानीकर्ताले ३०,००० प्राप्त गर्न सक्छ।
स्मरण रहोस् Weather Derivatives पहिलो पटक १९९० को दशकमा अमेरिकामा विकसित भएका थिए। अहिले अमेरिका, युरोप र जापानमा तापक्रम, हिमपात, वर्षा तथा हावाको गतिमा आधारित करारहरूको कारोबार हुने गर्छ। दक्षिण एशियाली मुलुकहरुमध्ये अहिले पहिले पटक भारतले यस्को व्यवसाय शुरु गरेको हो ।