बुधबार क्यान महासंघले आयोजना गरेको 'डिटिजल अर्थतन्त्रको प्रस्थानविन्दु वा अधुरो सपना' बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बजेटले सूचना प्रविधि, डिटिजल नवप्रवर्तन, कृत्रिम बुद्दिमत्ता(एआइ) लगायतका बिषयहरु बजेटमा समावेश भएको बताएका हुन् ।
सो अवसरमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार पारिएको अवधारणा ढाँचाले नेपालको प्रविधि इकोसिस्टमका लागि यो बजेट कति महत्वपूर्ण छ भन्ने कुरालाई प्रस्ट्याएको बताए । उनले नीतिगत रुपमा बजेट आकर्षक भए पनि बजेटले नवप्रवर्तनकारी स्टार्टअप, सफ्टवेयर निर्यातक, फ्रिलान्सर र डिजिटल उद्यमीहरूका लागि वास्तविक ढोका खोल्छ, कि पुरानै प्रशासनिक र संरचनागत बाधाहरूले यसको गति रोक्नेछन्? भन्ने दुविधा रहेको बताए ।
उनले बजेटमा आएको बिषय कार्यान्वयन कसरी हुन्छ र त्यसको असर देखिएमा सरकारले समाधानका लागि सहजीकरण गर्नुपर्ने बताए ।
त्यस्तै, मोबाइल वितरक संघका प्रतिनिधि रघु त्रिपाठीले बजेटले डिजिटल प्रविधि, स्टार्टअप र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयन कसरी हुन्छ र त्यसबाट पर्ने प्रभावले व्यवसायमा कस्तो असर पर्छ भनेर सरकारले सोच्नुपर्ने बताए ।
सरकारले अवैध मोबाइल आयात रोक्न नसक्दा उपभोक्ता मर्कामा परेको उनले बताए ।