'देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने?'

Jun 11, 2026 10:28 AM Merolagani



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अविनाश विक्रम शाहको लघु चलचित्र लोरीले कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै उनले नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको उल्लेख गरे । मन्त्री पौडेलले नेपाललाई चिनाउन सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला र सिर्जनाका माध्यमबाट पनि विश्वमा चिनिनुपर्नेमा जोड दिए । उनले लोरीको सफलताको चर्चा नेपालमा भन्दा बढी भारतमा भएको आफूले पाएको उल्लेख गर्दै यस्ता उपलब्धिले देशलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । अन्तर्राष्ट्रिय समुदायले अहिले नेपाली चलचित्र र सर्जकहरूलाई नजिकबाट नियालिरहेको बताउँदै मन्त्री पौडेलले यस क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।

उनले भने, ‘नेपाली सिनेमाले एकदमै ठूलो फड्को मारिरहेको छ । अविनाशजी त्यसको पछिल्लो श्रृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ । हामी पहिले–पहिले एउटा जोक गथ्र्यौँ–फिल्म तीन प्रकारका हुन्छन्, गुड फिल्म, ब्याड फिल्म र हिन्दी फिल्म । नेपाली फिल्मलाई त त्यसमा राखिन्थ्यो कि राखिँदैनथ्यो, मलाई थाहा छैन । त्यसपछि भनिन्थ्यो, सकेसम्म गुड फिल्म हेर्नु, त्यो नभए ब्याड फिल्म हेर्नु, र त्यो पनि नभए हिन्दी फिल्म हेर्नु । तर आज परिस्थिति धेरै बदलिएको छ । धेरैको सपना हुने ठाउँमा, जब ‘लोरी’ले क्यानमा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गर्यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ । त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो । देश चिनियो भने हामी पनि चिनिन्छौँ । देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने ? अब त हाम्रो पनि पालो हो । तपाईंहरूको यो योगदानप्रति मेरो गहिरो सम्मान छ । त्यसलाई शब्दमा व्यक्त गर्न सजिलो छैन । यो कुरा मेरो मनमा सधैँ धड्किरहन्छ । हामी सबै मिलेर काम गर्यौँ भने धेरै कुरा सम्भव छ । अहिले नेपाललाई धेरैले नियालिरहेका छन् । तपाईंलाई पनि धेरैले हेरिरहेका छन् ।’

कलाकारहरूको योगदानलाई आफूले उच्च सम्मान गर्ने भन्दै उनले नेपाली सिनेमाको यो यात्रामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।