स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको हो ।
आगामी जेठ ३१ गते, आइतबार उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिने छ भने सोही दिन अपराह्न साढे ४ बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ ।
उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थी बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

उत्सवले स्वदेशमा रहेको सीप विकासका अवसरबारे जानकारी गराउनुका साथै प्राविधिक शिक्षा तथा अप्रेन्टिसिप कार्यक्रमको महत्वबारे सचेतना अभिवृद्धि गर्न र सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुर्याउने विश्वास अध्यक्ष राठीले व्यक्त गरे ।
उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा अटोमोवाईलको विद्यामा सीप प्रतियोगिताका साथै माटाको भाडावर्तन, प्लम्बिङ, इण्डष्ट्रियल अटोमेशन, सि.सि.टि.भि, थ्रिडी प्रिन्टिङ, ग्रिन स्किलका विधामा लाइभ तालिम र विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गर्ने संगठनका कार्यसमिति सदस्य एव मानव संशाधन विकास समितीका संयोजक दिपक अग्रवालले वताए ।
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने संयोजक अग्रवालले जानकारी दिए ।
सीप उत्सव २०८३ ले व्यावसायिक सीप विकास, करियर मार्गदर्शन तथा उद्योगसंगको सहकार्यलाई संस्थागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई उद्योगमैत्री र व्यवहारिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा संगठनले लिएको छ ।