यदि सुन्नु भएको छैन भने तपाई शेयर लगानीकर्ता हुन सक्नुहोला, फुटबलको ‘फ्यान’ हुन सक्नुहुन्न । वा फुटबलको ‘फ्यान’ हुनुहोला तर असल शेयर लगानीकर्ता हुनुहुन्न ।
अर्थात शेयर कारोबारमा संलग्न हुँदै फुटबलको फ्यान पनि हुने, विश्वकपका हरेक गतिविधिलाई नजिकबाट नियाल्ने तर ‘पेले इण्डेक्स’को बारेमा थाहा नपाउने ? यो हुनै सक्दैन । यदि त्यस्तो भैरहेको छ भने बुझ्नुस् —तपाई अचम्मको लगानीकर्ता र अचम्मको फ्यान हो, जो वास्तविकताको आधारमा होइन, हाहाहुहुकै आधारमा काम चलाइरहनु भएको छ ।
पेले विश्व फुटवलका अहिलेसम्मकै सर्वाधिक महान खेलाडी मानिन्छन् । उनकै नाममा समर्पण गर्दै १९९८ मा पेले सूचकाङ्क (Pelé Index) शुरु गरिएको हो । उनले खेल जीवनपछि Puma, Hublot, Volkswagen, Subway र Mastercard जस्ता बहुराष्ट्रिय कम्पनीहरूको ग्लोबल ब्रान्ड एम्बेसेडर भएर काम गरे।
उनले कुन कम्पनीको सेयर वा ब्रान्ड प्रवर्द्धन गरिरहेका छन्, त्यसले उक्त कम्पनीको सार्वजनिक सेयर (Public Stock) को आकर्षण र ब्रान्ड भ्यालु बढाउने गर्थ्यो। यसैको आधारमा पेले इन्डेक्स शुरु गरिएको थियो ।
तर आजका मितिसम्म विश्व सेयर बजारमा पेले सूचकाङ्क (Pelé Index) नामक कुनै आधिकारिक, गणितीय वा प्राविधिक सूचकाङ्क ( जस्तै: NEPSE, S&P 500, वा Dow Jones) छैन । यो कुनै देशमा, कुनै आधिकारिक निकायमा कंही कतै दर्ता पनि छैन । तर फुटवल क्लवका लगानीकर्ताहरु, ती कम्पनीका शेयरधनीहरु, खेलाडीहरु र ‘धनी समर्थक’हरु बीच यो इण्डेक्स सर्वव्यापी छ । ती सबैको लागि यो एउटा ‘रहस्यमय भगवान’ जस्तै छ, जो कंही देखिदैन, तर सर्वव्यापी छ । फुटवलको आर्थिक पाटो, फुटवल कम्पनीका शेयरहरुको उतार चढाव लगायतका सबै कुराको बारेमा जानकारी दिन्छ । त्यसैले फुटबलको आर्थिक पाटोको कुरा आउने वित्तिकै ‘पेले इण्डेक्स’ को कुरा आइहाल्छ । ‘पेले इण्डेक्स’का विश्लेषणको बारेमा बहसहरु भइ नै हाल्छ ।
धेरैजसो अवस्थामा ‘पेले इण्डेक्स’ लाई विश्वकप फुटबल र सेयर बजारको उतारचढावसँग जोडेर हेरिन्छ । ‘पेले इण्डेक्स’ का अर्थशास्त्रीहरूले अध्ययन गर्दा के फेला पारेका छन् भने जुन देशले विश्वकप जित्छ, त्यो देशको सेयर बजारमा अल्पकालीन रूपमा भए पनि सकारात्मक प्रभाव देखिन्छ। जनता र लगानीकर्तामा आउने उत्साह (Consumer Confidence) का कारण बजार बढ्छ। पेलेले ब्राजिललाई ३ पटक विश्वकप जिताउँदा ब्राजिलको अर्थतन्त्र र आन्तरिक बजारमा यस्तै सकारात्मक उत्साह देखिएको थियो।
त्यसको उल्टो विश्वकपको फाइनल वा महत्त्वपूर्ण खेलमा पराजित हुने देशको सेयर बजारमा भोलिपल्ट केही गिरावट आउने गरेको छ, जसलाई खेलकुदको मनोविज्ञान र बजारको सम्बन्धका रूपमा हेरिन्छ।
स्मरणरहोस्, भर्खरैको सिजन (२०२५-२६) मा पेले सूचकाङ्कले मात्र ०.४५ को रिटर्न (नाफा) दियो। जबकि यसै अवधिमा विश्वव्यापी सेयर बजार (Global Equities) ले २७% र युरोपेली समग्र सेयर बजारले १७% को सानदार रिटर्न दिए।
दीर्घकालीन अवस्था (सन् १९९८ देखि २०२६ सम्म)
यदि कसैले सन् १९९८ मा यो सूचकाङ्कमा १ हजार युरो लगानी गरेको भए, आज २८ वर्षपछि त्यो पैसा घटेर जम्मा ८९२ (११% घाटा) भएको छ।
यसको विपरीत, यदि त्यही १ हजार युरो विश्वव्यापी सेयर बजारको फन्ड (Global Equity Fund) मा राखिएको भए आज त्यो बढेर लगभग ७,७८४ युरो (झन्डै ९ गुणा बढी) भइसकेको हुन्थ्यो।
फुटबल विज्ञ तथा वित्तीय विश्लेषक हर्मान्सले हालै युरोन्यूजमा ‘पेले इण्डेक्स’ विश्लेषण गर्दै लेखेका छन-फुटबल जस्तो सुन्दर खेल तपाईंको हृदय (भावना) को हकदार छ, तर तपाईंको लगानी पोर्टफोलियो (लगानीको पैसा) ले चाहिँ तपाईंको विवेक र तर्क खोज्छ।