थलिए उत्पादनमूलक उद्योग, पर्यटन र निर्यातमा भने सुधारका संकेत (राष्ट्र बैंकको अर्ध-वार्षिक प्रतिवेदन)

Jun 14, 2026 02:15 PM Merolagani



नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ ले मुलुकको अर्थतन्त्र क्रमिक सुधारतर्फ अघि बढेको संकेत गरे पनि उत्पादनमूलक उद्योग क्षेत्रमा भने गम्भीर कमजोरी देखाएको छ। 

प्रतिवेदनका अनुसार समीक्षा अवधिमा उद्योगहरूको उत्पादनमा समग्र गिरावट आएको छ भने क्षमता उपयोगको अवस्था पनि निकै कमजोर देखिएको छ।

विशेषगरी उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो आर्थिक वर्षको तुलनामा घटेर ४२.११ प्रतिशतमा सीमित भएको छ, जुन गत वर्ष ४२.९४ प्रतिशत रहेको थियो। यसले नेपाली उद्योगहरू आफ्नो कुल उत्पादन क्षमताको आधाभन्दा कममा सञ्चालन भइरहेको स्पष्ट पार्छ। राष्ट्र बैंकका अनुसार सर्वेक्षण गरिएका २१ प्रकारका ५२ वस्तुहरूमध्ये २८ प्रकारका वस्तुको उत्पादन घटेको पाइएको छ। उत्पादनमा देखिएको यो गिरावटले उत्पादनमूलक उद्योगहरूको ठूलो हिस्सा प्रभावित भएको छ।

उत्पादनमा ह्रास आउने वस्तुहरूमा वनस्पति घिउ, तोरीको तेल, प्रशोधित दूध, बिस्कुट, चिया, हल्का पेय पदार्थ र चुरोटजस्ता दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। त्यस्तै, कपडा, जुटजन्य उत्पादन, कच्चा तथा प्रशोधित छाला, प्लाइउड, कागज र विद्युत् उत्पादनजस्ता क्षेत्रमा पनि गिरावट देखिएको छ। उत्पादन गिरावटमा सबैभन्दा बढी प्रभावित छालाका जुत्ता उद्योग भएको छ, जसको उत्पादन ५८.३३ प्रतिशतले घटेको छ। त्यसैगरी, जीआई पाइप उत्पादन ५२.५१ प्रतिशत र विद्युत् तार तथा केबल उत्पादन ४४.०४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकले विशेषगरी निर्माण, ऊर्जा र पूर्वाधारसँग सम्बन्धित उद्योगहरूको उत्पादनमा उल्लेख्य गिरावट आउनुको पछाडि निर्माण गतिविधिमा देखिएको सुस्ती, राजनीतिक अस्थिरता र बजारमा माग घट्नुलाई मुख्य कारण मानेको छ। सिमेन्ट, इँट्टा, कंक्रिट र जीआई तारजस्ता निर्माण-आधारित उद्योगहरूको अवस्थाले समग्र पूर्वाधार विकासको सुस्ततालाई पनि प्रतिविम्बित गरेको छ।

यद्यपि, सबै औद्योगिक क्षेत्रमा निराशाजनक अवस्था मात्र छैन। केही उद्योगहरूमा भने उत्साहजनक वृद्धि देखिएको छ। स्टिलजन्य उत्पादनमा १२०.५५ प्रतिशत र चिनी उत्पादनमा ११४.८६ प्रतिशतको उच्च सुधार आएको छ। त्यस्तै भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, चकलेट, चाउचाउ, मदिरा र औषधि उत्पादनमा पनि वृद्धि भएको छ। क्षमता उपयोगको दृष्टिकोणले गार्मेन्ट उद्योग सबैभन्दा अब्बल देखिएको छ, जसले ९५.७४ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्य लत्ता-कपडा उद्योगहरू ९० प्रतिशत हाराहारीमा सञ्चालन भइरहेका छन्।

समग्र आर्थिक परिदृश्यलाई हेर्दा औद्योगिक उत्पादन कमजोर रहे पनि बाह्य व्यापारमा भने केही सुधारका संकेत देखिएका छन्। समीक्षा अवधिमा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यसले व्यापार असन्तुलन अझै पनि एउटा ठूलो चुनौतीका रूपमा रहेको देखाउँछ।

पर्यटन र सेवा क्षेत्रले भने अर्थतन्त्रलाई राहत दिने काम गरेका छन्। समीक्षा अवधिमा ६ लाख ३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् भने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या करिब ३ लाख ९६ हजार पुगेको छ। यसले भविष्यमा रेमिट्यान्स प्रवाहलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रमा भने मिश्रित नतिजा देखिएको छ। खाद्यान्न बाली उत्पादन ६.७६ प्रतिशत र दूध उत्पादन २५.९७ प्रतिशतले घटेको छ भने तरकारी, फलफूल र अन्डा उत्पादनमा सुधार आएको छ। बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि हुनुले वित्तीय प्रणालीमा तरलता विस्तार भएको संकेत गर्छ। यस्तै, घरजग्गा कारोबारको संख्या घटे पनि यस क्षेत्रबाट संकलन हुने राजस्वमा भने उल्लेख्य वृद्धि देखिएको छ। समग्रमा, उत्पादनमूलक र निर्माण क्षेत्रमा देखिएको यो सुस्तीलाई समयमै सम्बोधन नगरे आर्थिक वृद्धि र रोजगारी सिर्जनामा दीर्घकालीन असर पर्न सक्ने प्रतिवेदनको निष्कर्ष छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।