तर, २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुआतसँगै फुटबल एउटा बहु बिलियिन डलरको विश्वव्यापी उद्योग (Global Industry) मा रूपान्तरण भयो।
क्लबहरूलाई कर्पोरेट कम्पनीका रूपमा दर्ता गर्ने र पूँजी संकलनका लागि शेयर बजारमा सूचीकृत गर्ने अभ्यास सुरु भयो।
सन् १९८३ मा बेलायतको टोटनह्याम हट्सपर (Tottenham Hotspur) शेयर बजारमा सूचीकृत हुने पहिलो क्लब बन्यो। त्यसपछि धेरै युरोपेली क्लबहरूले यस मोडेललाई पछ्याए। यद्यपि, फुटबल क्लबको शेयर कारोबार सामान्य व्यावसायिक कम्पनीहरू (जस्तै प्रविधि वा बैंकिङ क्षेत्र) को भन्दा व्यापक रूपमा भिन्न हुन्छ। यहाँ वित्तीय प्रतिवेदन मात्र होइन, मैदानभित्रको ९० मिनेटको खेल, खेलाडीको चोटपटक र ट्रान्सफर विन्डोको हल्लाले सेयर मूल्य निर्धारण गर्दछ।
फुटबल स्टकहरूलाई वित्तीय बजारमा Emotional Assets वा Trophy Stocks भनिन्छ। यि शेयरहरूमा लगानीकर्ताहरू वित्तीय प्रतिफल (ROI) का लागि मात्र नभई क्लबप्रतिको लगाव र ब्रान्ड भ्यालुका कारण पनि आकर्षित हुन्छन्।
प्रमुख सूचीकृत विश्वव्यापी फुटबल क्लबहरूको हालको अवस्था (जुन २०२६)
फुटबल आज केवल खेल मात्र होइन, यो बहु-अर्ब डलरको उद्योग हो। विश्वभरका केही क्लबहरू स्टक एक्सचेञ्जमा सूचीबद्ध छन् र तिनका शेयरहरू सामान्य कम्पनीझैँ कारोबार हुन्छन् । तर फुटबल शेयरको विशेषता के हो भने मैदानको नतिजा र बजारको मूल्यबीच सीधा सम्बन्ध देखिन्छ।
हाल विश्वका सूचीकृत फुटबल क्लबहरूको संयुक्त बजार पूँजीकरण करिब ६.८ अर्व डलर पुगेको छ।
यो आकार सानो देखिए पनि स्पाेर्ट्स फाइनान्स सेक्टरमा निकै प्रभावशाली हो।
विश्वका प्रमुख listed फुटबल कम्पनीहरू
म्यानचेस्टर युनाइटेड फुटबल क्लब (Manchester United F.C.)
याे विश्वको सबैभन्दा ठूलो सूचीकृत फुटबल कम्पनी हो। यसको बजार पूँजीकरण अहिले करिब ३.८ अर्व डलर वरिपरि छ। शेयर मूल्य यही जुनमा २१ देखि २३ अर्व डलर मा कारोबार भइरहेको छ। नयाँ लगानीकर्ताहरु प्रवेश गर्ने हल्लाले पछिल्लो समय कम्पनीको शेयरप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ ।
जुभेन्टस फुटबल क्लब (Juventus F.C.)
इटालीको सबैभन्दा चर्चित सूचीकृत क्लब। अहिले बजार पूँजीकरण लगभग ९६ करोड डलर पुगेको छ ।
बाेरूसिया डर्टमन्ड (Borussia Dortmund)
जर्मनीको प्रमुख सूचीकृत क्लब। युवा खेलाडी विकास र ट्रान्सफर प्राेफिट यसको मुख्य पक्ष हो। बजार पूँजीकरण लगभग ३९ करोड डलर पुगेको छ ।
यिनीहरुसहित हाल विश्वका प्रमुख स्टक एक्सचेन्जहरूमा दर्जनभन्दा बढी फुटबल क्लबहरू सार्वजनिक रूपमा कारोबार भइरहेका छन्।
फुटबल कम्पनीहरूको शेयर मूल्य निर्धारण गर्ने मुख्य कारकहरू
एक साधारण उद्योगको शेयर मूल्य माग र आपूति, कम्पनीको नाफा र व्याजदर जस्ता आर्थिक सूचकले निर्धारण गर्छन् । तर फुटबल कम्पनीको हकमा निम्न विशिष्ठ कारकहरू महत्वपूर्ण हुन्छन्ः
खेलको मैदान भित्रको नतिजाः
यदि कुनै क्लब च्याम्पियन्स लिगमा छनोट हुन सफल भए उसले तुरुन्तै करोडौँ युरो बराबरको पुरस्कार र टेलिभिजन अधिकार प्राप्त गर्दछ । च्याम्पियन्स लिगबाट बाहिरिनु वा घरेलु लिगमा खराब प्रदर्शन गर्नुले शेयरमा सिधै गिरावट ल्याउँछ।
प्रशारण अधिकार
प्रिमियर लिग जस्ता लिगहरूले गर्ने अर्बौँ डलरको टेलिभिजन सम्झौताको हिस्सा क्लबहरूले पाउँछन्। प्रसारण अधिकारको मूल्य बढ्दा क्लबहरूको आम्दानी सुनिश्चित हुन्छ।
खेलाडी ट्रान्सफर मार्केट
ट्रान्सफर विन्डोमा कुनै खेलाडीलाई बेच्दा क्लबको वित्तीय विवरणमा तत्काल नाफा देखिन्छ जसले शेयर बजारमा सकारात्मक प्रभाव पार्छ ।
स्वामित्व परिवर्तनको हल्ला
फुटबल क्लबहरूमा अर्बपतिहरू वा खाडी मुलुकका सार्वभौम कोषहरू (Sovereign Wealth Funds) ले पूरा क्लब नै किन्न खोज्ने हल्ला चल्दा शेयर मूल्यमा व्यापक उछाल आउँछ।
फुटबल शेयरमा लगानी गर्दाका जोखिम र चुनौतीहरू
फुटबल क्लबको शेयरमा कारोबार गर्नु अत्यधिक अस्थिर मानिन्छ। धेरैजसो फुटबल क्लबहरूले आफ्ना साधारण शेयरधनीहरूलाई लाभांश वितरण गर्दैनन्। क्लबले कमाएको नाफा नयाँ खेलाडी किन्न, खेलाडीको बढ्दो तलब भुक्तानी गनर्तावा रंगशालाको पूर्वाधार विकासमा खर्च हुन्छ। त्यसैले, यो केवल पूँजीगत वृद्धि (Capital Appreciation) मा मात्र निर्भर हुन्छ।
दोहोरो शेयर संरचना (Dual-class Share Structure)
उदाहरणका लागि, म्यानचेस्टर युनाइटेडमा Class A र Class B गरी दुई प्रकारका शेयर छन्। बजारमा सर्वसाधारणले किन्ने Class A शेयरको भोटिङ अधिकार निकै कम हुन्छ, जबकि मुख्य मालिक (ग्लेजर परिवार) सँग भएको Class B शेयरको भोटिङ अधिकार १० गुणा बढी हुन्छ । यसको मतलब साना लगानीकर्ताले क्लबको व्यवस्थापनमा कुनै ठोस निर्णय लिन सक्दैनन्।
खेलाडीको तलबको मुद्रास्फीति
क्लबहरूको आम्दानी बढेपनि खेलाडीहरू र तिनीहरूका एजेन्टहरूको कमिसन र तलब असाधारण रूपमा बढिरहेको छ। आम्दानीको ठूलो हिस्सा (कतिपय क्लबमा ७०% भन्दा बढी) खेलाडीको तलबमै सक्ने हुनाले खुद नाफा संकुचित हुन्छ।