लप्सीफेदी सबस्टेशन सेप्टेम्बरभित्र सम्पन्न गर्न प्राधिकरणको निर्देशन, काठमाडौँको विद्युत आपूर्ति थप भरपर्दो हुने

Jun 14, 2026 04:36 PM Merolagani



नेपाल विद्युत प्राधिकरणका कायममुकायम (कामू) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले लप्सीफेदी र चाँगुनारायण सबस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । 

निरीक्षणका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले लप्सीफेदी ४००।२२०।१३२ केभी सबस्टेशनको निर्माण कार्य आगामी सेप्टेम्बर महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिए ।

उनले निर्माण कार्यमा आवश्यक जनशक्ति, उपकरण र स्रोत साधन परिचालन गरी कामलाई गति दिन जोड दिए । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार लप्सीफेदी सबस्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति प्रणाली थप व्यवस्थित, भरपर्दो र गुणस्तरीय हुनेछ। यो सबस्टेशन खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीको प्रमुख ‘हब’ का रूपमा विकसित गरिँदैछ।

यस सबस्टेशनले माथिल्लो तामाकोशी र भोटेकोशी करिडोरका जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई काठमाडौँ उपत्यकाका लोड सेन्टरहरूसम्म प्रभावकारी रूपमा पुर्‍याउनेछ। साथै, यो सबस्टेशनअन्तर्गतको लप्सीफेदी–रातामाटे ४०० केभी लाइनसँग समेत जोडिने भएकाले यसलाई राष्ट्रिय तथा क्षेत्रीय प्रसारण सञ्जालको महत्त्वपूर्ण केन्द्र मानिएको छ।

सरकारले हालै सार्वजनिक गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को लक्ष्य प्राप्तिमा यस्ता उच्च क्षमताका सबस्टेशनहरूको समयमै निर्माण हुनु अनिवार्य रहेको श्रेष्ठले बताए। देशभित्रै विद्युत खपत विस्तार, औद्योगिकीकरण र विद्युतीय यातायात प्रवर्द्धनका लागि यी संरचनाहरू मेरुदण्ड सावित हुने उनको भनाइ छ।

भ्रमण टोलीमा आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक जुजुरत्न शाक्य र कार्यकारी निर्देशकको सचिवालयका निर्देशक श्रीराम पोखरेल लगायतको सहभागिता थियो। टोलीले चाँगुनारायण १३२।११ केभी सबस्टेशनको पनि निरीक्षण गर्दै सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।