विश्वकप र व्यापारः विश्वकपबाट सबैभन्दा धेरै कमाउने देश बन्दैछ बंगलादेश, नेपाल हेरेको हेर्यै

Jun 17, 2026 06:31 PM Mero lagani



विश्वकपको सम्भावित उपाधि विजेता मध्येको एक मानिएको स्पेनलाई निकै कमजोर र सानो राष्ट्र कोप भार्डेले गोलररहित बराबरीमा रोकेपछि अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

तर, यही चर्चाको विच बंगलादेशी शुभचिन्तकहरु भने आफ्नै देशले विश्वकप जितेको जस्तो गरि उत्साहित भए । त्यसको कारण थियो—कोप भार्डेका खेलाडीहरुले लगाएको जर्सी ।

कोप भार्डेका खेलाडीहरु मात्र होइन, प्रशिक्षक र समर्थकहरुले समेत ‘मेड इन बंगलादेश’ अर्थात बंगलादेशमा बनेको जर्सी लगाएका थिए । यो जर्सी ढाकाको तुराग क्षेत्रमा रहेको गार्मेन्ट म्यानुफ्याक्चरिङ एन्ड एसेम्बलिङ लिमिटेड (जीएमए) ले उत्पादन गरेको हो । कम्पनीका प्रबन्धक शोमिक बार्मोनका अनुसार कम्पनीले न्यूयोर्कमा आधारित स्पोर्ट्सवेयर कम्पनी क्यापेली स्पोर्टमार्फत कोभार्डेको खेलाडी, प्रशिक्षकलगायतका अन्य कर्मचारीहरुको ५,००० जर्सी र फ्यानरुको लागि १३,००० जर्सी पनि क्यापेली स्पोर्ट मार्फत निर्यात गरिएको थियो ।

उनकाअनुसार प्रत्येक जर्सी ८ डलरमा बिक्री गरिएको थियो ।

फुटबल जर्सी बनाउनका लागि पसिना सोस्ने विशेष प्रकारको ‘कूलम्याक्स कपडा’ चाहिन्छ, जुन विशेष धागोबाट बनाइन्छ ।

त्यसो त बंगलादेशले कोप भार्डेको मात्र जर्सीहरु बनाइरहेको छैन । धेरै देशका जर्सी तयार गर्यो र विक्री गर्यो । अझै पनि त्यो क्रम चलिरहेको छ ।

अहिले अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप २०२६ मा बंगलादेश खेलेको छैन । किनकी उ छनोट हुनै सकेन । तर, प्रत्यक्षरूपमा खेल्न नसके पनि यो विश्वकपबाट सबैभन्दा धेरै आर्थिक फाइदा लिने देशहरुमा बंगलादेश एक हो । विश्वकपका आधिकारिक जर्सी, फ्यान जर्सी र खेलकुदका अन्य सामग्रीहरू उत्पादन गरेर बंगलादेशले बलियो आर्थिक लाभ लिइरहेको छ । विश्वकप खेलिरहेका र जर्सीको व्यापारको लागि विशेष मानिएका अर्जेण्टिना, जर्मनी, ब्राजील, स्पेन, बेलायत मात्र होइन, कोभ भार्डे लगायतका साना देशहरुको जर्सीसमेत बंगलादेशमा उत्पादन हुन्छ । कोभ भार्डेसहितका कैंयौं देशहरुले त सरकारी स्तरबाटै बंगलादेशको जर्सी खरिद गरे भने बाँकी धेरै देशका व्यवसायीहरुले बंगलादेशी कम्पनीहरुबाट आयात गरे ।

विजनेश रिसर्च इन्साइटले यो विश्वकपमा ३ देखि ५ करोड वटा जर्सी विक्री हुने दावी गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै जर्सी व्यापार चीन र बंगलादेशले गर्दैछन् भने त्यसपछि भियतनाम, कम्बोडिया र बाँकी छिटफुटरुपमा युरोपेली तथा अमेरिकी देशहरुले ।

ठूला खेलकुद ब्रान्डहरूले जर्सी डिजाइन आफ्नै देश (जस्तै जर्मनी वा अमेरिका) मा गरे पनि कपडा बुन्ने, डिजिटल प्रिन्टिङ गर्ने र सिलाउने काम भने बंगलादेश, चीन, भियतनाम र कम्बोडिया जस्ता देशहरूमा रहेका आउटसोर्सिङ कारखानाहरूबाटै गरिरहेका छन् ।

बंगलादेशले विश्वकपका लागि मात्रै छुट्टै कमाइको आधिकारिक डेटा तत्कालै ननिकाले पनि यो सिजनमा खेलकुद सामग्रीबाट उस्ले करोडौं डलर आम्दानी गरिरहेको छ । कतिसम्म भने बंगलादेशले जर्सी मात्र नभएर सम्वन्धित देशका कपडाका झण्डाहरु पनि बनाएर ती देशहरुलाई नै विक्री गरिरहेको छ ।

बंगलादेश निटवेयर म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीकेएमईए) का अध्यक्ष मोहम्मद हातेम विश्वकपका जर्सीहरू उत्पादन गर्न बंगलादेशका दर्जनौँ ठूला र अत्याधुनिक तयारी पोसाक कारखानाहरू सहभागी रहेको बताउंछन् । यसमा विश्वप्रसिद्ध ब्रान्डहरू (जस्तै Capelli Sport, Adidas, Nike र दक्षिण कोरियाको Youngone Corporation) का बंगलादेशमा रहेका आफ्नै प्लान्ट वा उनीहरूले इजाजत दिएका स्थानीय उद्योगहरू जस्तै गार्मेन्ट म्यानुफ्याक्चरिङ एन्ड एसेम्बलिङ लिमिटेड (जीएमए) ले  जर्सी र कपडाहरू उत्पादन गरिरहेका छन् । विश्वकप चाहे फुटवलको होस् वा क्रिकेटको होस्, बंगलादेशको तयारी पोशाक उद्योगको लागि खास उत्सव हुन्, जसले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।’

हातेम विश्वकपमा हुने जर्सीको व्यापार हेर्दा ‘सिजनल’ जस्तो देखिए पनि यथार्थमा भने त्यो सर्वकालिक हुने बताउँछन् । ‘विश्वकप एउटा अवसर हो भन्नेमा शंका छैन । तर जर्सी मात्रै ठूलो कुरा होइन, मुख्य कुरा विश्वकपमा जर्सी व्यापारको लागि गरिने सहमती अन्य बेलामा समेत काम लाग्छ । सम्वन्धित देश र व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने तयारी पोशाकहरु सधैभरि हामीबाटै खरिद गर्ने गरि सम्वन्ध विकास हुन्छ । बंगलादेशको तयारी पोशाक उद्योगको लागि त्यो निकै ठूलो कुरा हो’ उनी भन्छन् ।

बंगलादेशले वार्षिक रूपमा ३५ अर्ब डलरभन्दा बढी मूल्यको तयारी पोसाक निर्यात गर्छ, जसमा ‘नितेड कपडाहरू’ (Knitted Appare) मात्रै करिब २० अर्ब डलर बराबरको हुन्छ। विश्वकप जस्ता ठूला खेलकुद प्रतियोगिताका बेला यो विधाको माग ह्वात्तै बढ्छ।

बंगलादेशको गार्मेन्ट क्षेत्रले प्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसमा ठूलो संख्या महिलाहरूको छ ।

स्मरणीय के छ भने कुनै बेला नेपालको तयारी पोशाक उद्योग पनि बंगलादेशको जस्तै गुणस्तरिय मानिन्थ्यो र विश्व बजारमा लोकप्रिय थियो । तर, अहिले बंगलादेश तयारी पोशाक उत्पादनमा चीनलाई टक्कर दिइरहेको बेला नेपालको अवस्था भने दिन प्रतिदिन खस्किदै गैरहेको छ । ‘बंगलादेश सरकारले तयारी पोशाक उद्योगलाई संरक्षण गर्न आवश्यक पर्ने हरेक प्रकारका सहयोग गरिरहेको छ । उद्योगीका दुख पीडामा साथ दिन्छ, विदेशमा निर्यात गर्न पनि सहजीकरण गर्छ । तर, हाम्रोमा भने कोही कसैलाई मतलव छैन । सरकारको त कुरै छोडौं, उद्योगी व्यवसायीहरु पनि संस्थागत पहल गर्न चासो दिंदैनन्, अनि हाम्रो व्यापार नडुबेर कस्को डुबोस् ?’ एकजना तयारी पोशाक उद्योगी भन्छन् ।

उनका अनुसार अहिले विश्वकपका जर्सीहरुसमेत बंगलादेश र चीनबाट आइरहेको छ । ‘विकासमा उस्तै भए पनि उनीहरु जर्सी बेचेरै मालामाल भैरहेका छन्, हामी उनीहरुको जर्सी किनेर लगाउदैमा मख्ख छौं । नेपाली उत्पादनको बारेमा त कस्लाई के चासो ?’ उनी भन्छन् ।

 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।