शेयर बजारमा गेमस्टप काण्ड र मेम स्टकको उदय दोहोरिन लागेको हो ? यदि त्यस्तो भयो भने के होला ?

Jun 26, 2026 02:50 PM Merolagani



इतिहास दोहोरिन्छ, तर ठाक्कै उहीरुपमा होइन (अर्थात केहीरुप परिवर्तन गरेर) भन्छन्—इतिहासका विज्ञहरु । के त्यसो भए शेयर बजारमा पनि त्यस्तै इतिहास दोहोरिन लागेको हो ? यदि दोहोरिन लागेको हो भने त्यो कसरी होला ?

कतिपय विश्लेषकहरु पछिल्ला केही समयदेखि विश्वव्यापीरुपमा देखिएका केही अस्वभाविक गतिविधिको कारण ५ वर्ष अगाडिको ‘गेमस्टप काण्ड’ दोहोरिन लागेको वा त्यस्तै नयाँ काण्डको सृजना हुन लागेको आंशका गरिरहेका छन् ।

गेमस्टप काण्डले विश्वको शेयर बजारको इतिहासमा पहिलो पटक प्रमाणित गरिदियो कि—प्रविधि र सामाजिक सञ्जालको शक्ति प्रयोग गरेरसाना र छरिएका लगानीकर्ता (Retail Investors) को समूहले पनि बजारका अर्बपति र महाशक्तिशाली वित्तीय संस्थाहरूलाई हल्लाउन र हराउन सक्छन् । यसले शेयर बजारको परम्परागत शक्ति सन्तुलनलाई सधैँका लागि बदलिदियो । के फेरि त्यस्तै अवस्था आउन लागेको हो ?

त्यसबारेमा विश्लेषण गर्नु अगाडि पहिले गेमस्टप काण्ड को बारेमा केही तथ्यहरु थाहा पाइराखौं ।

गेमस्टप काण्ड  के हो ?

सन् २०२१ को जनवरी महिनामा अमेरिकी शेयर बजारमा एउटा यस्तो अभूतपूर्व घटना घट्यो, जसलाई वित्तीय इतिहासमा GameStop Short Squeeze वा गेमस्टप काण्ड भनिन्छ। यो घटना पूँजीबजारको इतिहासमा यसकारण विशेष छ, किनकि यसमा वित्तीय बजारका ठूला, शक्तिशाली र अर्बौँ डलरका हेज फन्डहरूलाई सामाजिक सञ्जालमा सङ्गठित भएका सर्वसाधारण वा साना लगानीकर्ताको समूहले घुँडा टेकाइदिएको थियो ।

काण्डको पृष्ठभूमि 

गेमस्टप अमेरिकामा भिडियो गेम र गेमिङ ग्याजेटहरू बेच्ने एउटा स्थापित कम्पनी हो। डिजिटल र अनलाइन गेमिङको लहर आएपछि यो भौतिक पसल (Physical Stores) भएको कम्पनी घाटामा गइरहेको थियो र यसको शेयर मूल्य निकै खस्किएको थियो ।

वाल स्ट्रिटका ठूला हेज फन्डहरू (जस्तै: Melvin Capital)ले गेमस्टप टाट पल्टिने अनुमान गरे। उनीहरूले यो कम्पनीमा व्यापक सर्ट सेलिङ गरे।

सर्ट सेलिङ आफूसँग शेयर नभए पनि बजारबाट सापटी लिएर महँगो मूल्यमा बेच्ने र पछि मूल्य घटेपछि सस्तोमा किनेर फिर्ता गर्ने एउटा वित्तीय दाउपेच हो । कम्पनी डुब्यो वा शेयर मूल्य घट्यो भने सर्ट सेलरलाई फाइदा हुन्छ ।

रेडिट (Reddit) कम्युनिटीको विद्रोह

रेडिट सामाजिक सञ्जालको एउटा ग्रुप छ, जसको नाम हो— r/wallstreetbets। । यस ग्रुपमा लाखौँ साना शेयर लगानीकर्ताहरू आबद्ध थिए।

त्यस ग्रुपका केही चतुर प्रयोगकर्ताहरू (जसमा Roaring Kitty नामले चिनिने किथ गिल मुख्य थिए) ले वित्तीय विवरणहरू हेरेर एउटा कुरा पत्ता लगाए—हेज फन्डहरूले गेमस्टपको उपलब्ध कुल शेयर संख्याभन्दा पनि बढी (झन्डै १४०%) शेयर सर्ट सेलिङ गरिसकेका थिए ।

यदि सबै साना लगानीकर्ता मिलेर गेमस्टपको शेयर धमाधम किनिदिने हो भने मूल्य आकासिने र हेज फन्डहरू ठूलो संकटमा पर्ने रणनीति उनीहरूले बनाए। यो सन्देश सामाजिक सञ्जालमा डढेलो झैँ फैलियो ।

सर्ट स्क्विज र मूल्यमा विष्फोट

लाखौँ सर्वसाधारण लगानीकर्ताहरूले मोबाइल एपहरू प्रयोग गरेर गेमस्टपको शेयर आक्रामक रूपमा किन्न थाले । माग ह्वात्तै बढेपछि शेयरको मूल्य अकल्पनीय रूपमा बढ्न थाल्यो ।

सन् २०२१ को जनवरीको सुरुतिर जम्मा १७ डलर हाराहारीमा रहेको गेमस्टपको शेयर मूल्य केही दिनभित्रै बढेर ४८३ डलर सम्म पुग्यो ।

यसरी मूल्य बढेपछि सर्ट सेलिङ गरेर बसेका हेज फन्डहरू बर्बाद हुने अवस्थामा पुगे । उनीहरूले आफ्नो घाटा कम गर्न बाध्य भएर बजारबाट महँगो मूल्यमै शेयर किनेर फिर्ता गर्नुपर्यो ।  (जसलाई वित्तीय भाषामा Short Squeeze भनिन्छ) । यसले गर्दा मूल्य झन् आक्रामक रूपमा बढ्यो।गेमस्टपको मूल्य बढेका कारण मेलभिन क्यापिटल जस्ता ठूला वित्तीय संस्थाहरू टाँट पल्टिने अवस्थामा पुगे र उनीहरूले अर्बौँ डलरको नोक्सानी ब्यहोर्नुपर्यो ।

ट्रेडिङमा प्रतिबन्ध र विवाद

रोबिनहुड एपले अचानक साना लगानीकर्ताहरूलाई गेमस्टपको शेयर किन्न नमिल्ने (तर बेच्न मात्र मिल्ने) बनाइदियो । यसले गर्दा ठूला संस्थालाई जोगाउन साना लगानीकर्तामाथि अन्याय गरिएको भन्दै विश्वभर व्यापक विरोध र अमेरिकी संसद सम्म सुनुवाइ भयो।

मेम स्टकु  (Meme Stocks) को उदय

गेमस्टपको सफलतापछि AMC थियेटर्स, ब्ल्याकबेरी जस्ता डुब्न लागेका अन्य कम्पनीहरूको शेयर पनि सामाजिक सञ्जालको वहकाउमा ह्वात्तै बढाउने फेसन चल्यो, जसलाई मेम स्टक भन्न थालियो ।

के अहिले फेरि शेयर बजारमा ‘गेमस्टप काण्ड मच्चिएर मेम स्टकको उदय हुन लागेको हो ?

ती घटनाहरु भएको अहिले ५ वर्षभन्दा धेरै समय भएको छ । र, यो अवधिमा संसारमा धेरै परिवर्तन आएको छ । शेयर बजारमा पनि थुप्रै परिवर्तन आएको छ । त्यसैले ती काण्डहरु हुबहुरुपमा दोहोरिएलान् भनेर कसैले पनि कल्पना गर्न सक्दैन । तर, पछिल्लो समयमा केही अनौठा गतिविधि भैरहेका छन्, जस्ले कुनै न कुनै रुपमा शेयर बजारमा ‘गेमस्टप काण्डको सृजना भएर फेरि मेम स्टकको उदय हुने त होइन भन्ने आशंका जन्माइदिएको छ । त्यस्तो आशंका गर्नु पछाडिका मुख्य ४,५ वटा कारणहरु छन् । ती हुन्ः

 एआईमा आक्रामक लगानी 

अहिले विश्व बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को लहर छ। तर अनौठो कुरा के छ भने, एनभिडिया जस्ता स्थापित विशाल कम्पनीहरू मात्र होइन, बरु एआई डेटा सेन्टरलाई बिजुली वा चिस्यान (Cooling) दिने साना, घाटामा रहेका वा भर्खरका कम्पनीहरूको शेयर मूल्य पनि सामाजिक सञ्जालको हल्लाका भरमा हप्तादिनमै ३००% सम्म बढाउने गरिएको छ। प्रमुख वित्तीय संस्था Roundhill Investments को Meme Stock ETF (MEME) प्रतिवेदन अनुसार, साना लगानीकर्ताको जोखिम लिने प्रवृत्ति अहिले एआई पूर्वाधार र सेमिटेक्नोलतातर्फ मोडिएको छ।

क्लबहाउस, फेसबुक र भाइबर ग्रुपहरूको प्रभाव

अमेरिकामा रेडिट (Reddit) ले गेमस्टपको मूल्य उचाले जस्तै नेपालमा फेसबुक ग्रुपहरू, भाइबररव्हाट्सएप ग्रुपहरू र विशेष गरी क्लबहाउसका कोठाहरूमा सर्वसाधारण लगानीकर्ताहरू एकजुट हुने गरेका छन्। कुनै एउटा हाइड्रोपावर वा फाइनान्स कम्पनीको शेयर अब यति पुग्छु भन्दै ग्रुपमा प्रचार गरेर साना लगानीकर्ताहरूलाई सामूहिक रूपमा किन्न लगाउने प्रवृत्ति नेपालमा निकै फस्टाएको छ। 

Meme Stocks को नयाँ अवतार

३ वर्षको मौनतापछि सन् २०२४ को मध्यमा गेमस्टप काण्डका मुख्य योजनाकार Roaring Kitty (किथ गिल) अचानक सामाजिक सञ्जालमा फर्किएका थिए । उनले रेडिट र एक्समा आफूसँग गेमस्टपको ठूलो हिस्सा (झन्डै ९० लाख शेयर) रहेको स्क्रिनसट सार्वजनिक गरेपछि गेमस्टपको शेयर मूल्य फेरि एकैपटक ६० डलर नाघेर ह्वात्तै बढेको थियो । त्यसले बजारमा २०२१ को सम्झना ब्युँताइदिएको थियो । र २०२५ उनले एक्स र रेडिटमा आफ्नो पोर्टफोलियो पोस्ट गर्ने बित्तिकै गेमस्टप  र एएमसी जस्ता पुराना मेम स्टकहरूको मूल्य कुनै व्यापारिक समाचार विना नै फेरि एकैदिनमा ५०५ देखि १००५ सम्म उतारचढाव भयो।

 राजनीतिक र सामाजिक हाइपका आधारमा मूल्य निर्धारण 

कम्पनीको आम्दानी र वित्तीय अवस्था शून्यप्रायः हुँदा पनि केवल राजनीतिक लोकप्रियता वा सामाजिक सञ्जालको ट्रेन्डका आधारमा कम्पनीको मूल्याङ्कन अर्बौँ डलर पुर्याउने प्रवृत्ति Trump Media & Technology Group - DJT को शेयर) बजारमा व्यापक देखियो । यो परम्परागत लगानीको नियम विपरीत हो।

पछिल्लो समय विश्व शेयर बजारमा देखिएका उतारचढावहरू गेमस्टप प्रकरणकै पार्ट-२ वा विस्तारित रूप हुन् । गेमस्टपले विश्व पूँजीबजारको चरित्रलाई सधैँका लागि बदलिदियो । कम्पनीको वास्तविक कमाइ र वित्तीय स्वास्थ्य हेरेर लगानी गर्ने क्लासिक शैलीलाई सामाजिक सञ्जालको भाइरल र मेम संस्कृति ले ओझेलमा पार्ने क्रम अहिले पनि जारी छ, जसले गर्दा बजार पहिलेभन्दा धेरै अनपेक्षित बनेको छ।

के अहिले फेरि यस्तो काण्ड दोहोरिन लागेको हो ?

अहिले ठ्याक्कै २०२१ को जस्तै महासङ्कट (Crash वा अर्बौँ डलरको सर्ट स्क्विज) त भइहालेको छैन, तर बजारमा त्यसको कम्पन र केही नयाँ तरंगहरू भने लगातार आइरहेका छन् ।

सामाजिक सञ्जालको वहकाउमा लागेर कुनै पनि सेयरको मूल्य केही दिनमै सयौँ गुणा बढ्ने र घट्ने ट्रेन्ड अहिले पनि चलिरहेको छ । अमेरिकामा रेडिटले गेमस्टपको मूल्य उचाले जस्तै नेपाल लगायतका धेरै देशमा फेसबुक ग्रुपहरू, भाइबररव्हाट्सएप ग्रुपहरू र विशेष गरी क्लबहाउसका कोठाहरूमा सर्वसाधारण लगानीकर्ताहरू एकजुट हुने गरेका छन्। कुनै एउटा हाइड्रोपावर वा फाइनान्स कम्पनीको सेयर अब यति पुग्छ भन्दै ग्रुपमा प्रचार गरेर साना लगानीकर्ताहरूलाई सामूहिक रूपमा किन्न लगाउने प्रवृत्ति नेपालमा पनि निकै फस्टाएको छ । Reddit r/business Discussion मा उल्लेख भएअनुसार, कतिपय व्यक्ति र कम्पनीले संस्थाहरूले एआईको प्रयोग गरेर चलखेललाई बढाइरहेका छन् । उनीहरूले सामाजिक सञ्जाल (Reddit, TikTok, Discord) का च्याटहरूलाई २४सै घण्टा ट्र्याक गर्न एआई  र बिग डेटा टुलहरू परिचालन गरेका छन् । साना लगानीकर्ता कुन सेयरमा केन्द्रित हुँदैछन् भन्ने कुरा उनीहरूले पहिले नै थाहा पाउँछन् । त्यसबाट बजारमा निकै कडा चलखेल हुने गरेको स्पष्ट हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल स्टक एक्सचेन्जको संरचना, प्रविधि र कानुनी दायरा विश्व बजार भन्दा निकै फरक छ। त्यसैले, गेमस्टप काण्ड जस्ता घटनाहरू ठ्याक्कै त्यही रूपमा नेपालमा दोहोरिन प्राविधिक रूपमा असम्भव छ, तर साना लगानीकर्ता एकजुट भएर बजार हल्लाउने प्रवृत्ति भने नेपालमा पनि विभिन्न रूपमा देखिने गरेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।