बहुमूल्य धातुको बजार विश्लेषण गर्ने संस्था एलएसईजी (LSEG) को हालैको प्रतिवेदन अनुसार, विश्वकप ट्रफीमा रहेको सुनको भौतिक मूल्य कतार विश्वकप २०२२ को तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
अहिले यस ट्रफीमा रहेको सुनको मात्रै बजार मूल्य बढेर लगभग ७ लाख १३ हजार अमेरिकी डलर (करिब ९ करोड ५० लाख नेपाली रुपैयाँ) पुगेको छ। सन् २०२२ मा अर्जेन्टिनाले कतारमा विश्वकप जित्दा यसको धातुको मूल्य करिब २ लाख ७७ हजार डलर मात्र थियो। विगत साढे तीन वर्षमा सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण ट्रफीको धातु मूल्य १५० प्रतिशतभन्दा बढीले बढेको हो।

१८ क्यारेट सुन र ६ किलो तौल
विश्व प्रसिद्ध फिफा विश्वकप ट्रफी सन् १९७४ देखि प्रयोगमा ल्याइएको हो। यसको डिजाइन इटालियन मूर्तिकार सिल्भियो गाजानिगाले गरेका हुन्।
-
यस ट्रफीको कुल तौल ६.१७५ किलोग्राम छ।
-
यो ट्रफी १८ क्यारेट सुनबाट बनेको छ, जसमा ४.९३ किलोग्राम शुद्ध सुन प्रयोग गरिएको छ।
-
ट्रफीको भित्री भाग खोक्रो बनाइएको छ, ता कि खेलाडीहरूले यसलाई सजिलैसँग उचाल्न सकुन्। यदि यो पूर्ण रूपमा ठोस सुनको हुन्थ्यो भने यसको तौल धेरै गुणा बढी हुने थियो।
किन बढ्यो सुनको मूल्य?
बजार विश्लेषकहरूका अनुसार विश्वमा बढ्दो भूराजनीतिक तनाव, व्यापारिक अनिश्चितता र सुस्त विश्वव्यापी आर्थिक वृद्धिका कारण लगानीकर्ताहरूले सुनलाई सबैभन्दा सुरक्षित लगानी (Safe-Haven Asset) का रूपमा रोजिरहेका छन्। यही चौतर्फी मागका कारण सुनको मूल्यले इतिहासकै नयाँ उचाइ छोएको हो, जसको प्रभाव विश्वकप ट्रफीमा पनि प्रत्यक्ष रूपमा प्रतिविम्बित भएको छ।
अन्य खेलकुद ट्रफीसँग तुलना
विश्वकप ट्रफी आफ्नो धातु मूल्यका आधारमा विश्वकै सबैभन्दा महँगो खेलकुद पुरस्कार बनेको छ। अन्य खेलकुदका चर्चित ट्रफीहरू सामान्यतया चाँदीबाट बन्ने भएकाले तिनको धातु मूल्य निकै कम हुन्छ:
-
च्याम्पियन्स लिग र युरोपेली लिग: यी प्रतियोगिताका ट्रफीहरू ‘स्टर्लिङ चाँदी’ बाट बन्ने हुनाले यिनको धातु मूल्य क्रमशः १४.६ हजार डलर र १९.६ हजार डलर मात्र रहेको छ।
-
बोर्ग–वार्नर ट्रफी (Borg-Warner Trophy): अमेरिकाको प्रसिद्ध मोटर रेसिङ 'इन्डियानापोलिस ५००' को विजेतालाई दिइने यो ट्रफी १.६२ मिटर अग्लो र १५३ किलोग्राम वजनको छ। यो निकै विशाल र भारी भए पनि चाँदीको प्रयोग भएकाले यसको धातु मूल्य करिब २२,६०० डलर मात्र पर्छ।
-
विन्स लोम्बार्डी ट्रफी: अमेरिकी फुटबलको यस प्रतिष्ठित ट्रफीको धातु मूल्य करिब ७,५०० डलर मात्र पर्छ।
सक्कल ट्रफी फिफाकै नियन्त्रणमा
फिफाको कडा नियमअनुसार यो सक्कली ट्रफी विजेता राष्ट्रले स्थायी रूपमा लैजान पाउँदैन। प्रतियोगिताको फाइनल खेलको विजयी उत्सव सकिएपछि यो ट्रफी पुनः फिफाको मुख्यालय स्वीट्जरल्याण्डको ज्युरिचमा फर्काइन्छ। विजेता टोलीलाई भने यसको हुबहु काँसको प्रतिकृति (Replica) मात्र प्रदान गरिन्छ।
फुटबल खेलाडी र देशका लागि यो ट्रफीको भौतिक मूल्य ९ करोड रुपैयाँभन्दा बढी भए पनि यसले बोकेको गौरव, इतिहास र भावना भने अर्बौँ रुपैयाँभन्दा बढी अर्थात् 'अमुल्य' रहेको छ।