यसलाई फ्लेक्सिबल प्राइसिङ, डिमान्ड बेस्ड प्राइसिङ वा सर्ज प्राइसिङ पनि भनिन्छ।
पहिले पहिले वस्तुको मूल्य निश्चित हुन्थ्यो। तर आजको डिजिटल र एआई युगमा कम्प्युटर एल्गोरिदमले बजारको विश्लेषण गरेर प्रत्येक सेकेन्ड वा मिनेटमा मूल्य घटबढ गराउन सक्छ।‘डाइनामिक प्राइसिङ’ को आधुनिक जन्मदाता हवाई उड्डयन क्षेत्र हो। खासगरि अमेरिकन एअरलाइन्सका तत्कालीन प्रमुख रोबर्ट क्रान्डललाई यो प्रणाली लागू गर्ने पहिलो व्यक्ति मानिन्छ । उनले पहिलो पटक कम्प्युटर प्रणालीको प्रयोग गरेर 'यिल्ड म्यानेजमेन्ट' को सुरुवात गरे। सन् १९७८ मा अमेरिकामा 'एअरलाइन डिरेगुलेसन एक्ट' आयो, जसले एअरलाइन्सहरूलाई आफ्नो टिकटको मूल्य आफैँ तोक्ने स्वतन्त्रता दियो । उनीहरूले सिट भरिँदै जाँदा वा यात्राको मिति नजिकिँदै जाँदा टिकटको मूल्य स्वतः बढ्ने म्यानुअल र पछि सफ्टवेयर आधारित नियम बनाए। यसको मुख्य उद्देश्य कुनै पनि सिट खाली नउडोस् र बढी तिर्न चाहनेबाट बढी नै असुलियोस् भन्ने थियो। अहिले विश्वभरका हवाई कम्पनीहरुले यही प्रणाली अपनाएर टिकट बिक्री गर्ने गर्छन् ।
इन्टरनेटको विस्तारसँगै सन् १९९० को दशकमा होटल उद्योग र अनलाइन बुकिङ साइटहरूले यसलाई अपनाए। 
‘डाइनामिक प्राइसिङ’ कसरी काम गर्छ ?
यस प्रणालीमा अचेल ठुला कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गर्न थालेका छन् । एल्गोरिदमले निम्न कुराहरूको विश्लेषण गरेर स्वतः मूल्य तय गर्छः
माग र आपूर्तिः यदि किन्न खोज्ने ग्राहक धेरै र सामान कम छ भने मूल्य तुरुन्तै बढ्छ। चाडपर्व, बिदाको दिन वा मध्यरातमा मूल्य फरक हुन सक्छ।
प्रतिस्पर्धीको मूल्यः बजारमा अरू कम्पनीले कतिमा बेचिरहेका छन्, सोही अनुसार मूल्य समायोजन हुन्छ। कतिपय अवस्थामा ग्राहकले कुन डिभाइस (जस्तै आईफोन वा सस्तो एन्ड्रोइड) बाट सामान खोजिरहेको छ भन्ने आधारमा पनि मूल्य फरक पर्न सक्छ।
तपाईँले याद गर्नुभएको होला, हवाइजहाजको टिकट वा होटलको कोठा महिनौं अघि बुकिङ गर्दा सस्तो हुन्छ । तर जति यात्रा गर्ने मिति नजिकिँदै जान्छ वा सिटहरू भरिँदै जान्छन्, टिकटको मूल्य उति नै आकासिन्छ । तर, कतिपय अवस्थामा अन्तिम समयमा टिकटको मूल्य हवात्तै घट्छ र पहिले टिकट काटेकाहरुले भन्दा अन्तिम समयमा टिकट काट्नेहरुले निकै सस्तो मूल्यमा पाउँछन् ।
त्यस्तै संसारभरका राइड शेयरिङ एपहरूले पानी परेको बेला, कार्यालय खुल्ने वा बन्द हुने समयमा सामान्यभन्दा बढी भाडा लिन्छन्, जसलाई सर्ज प्राइसिङ भनिन्छ। माग उच्च र राइडर कम भएपछि मूल्य बढाइन्छ।
अमेजनजस्ता विशाल अनलाइन पसलहरूले दिनमा पटक पटक वस्तुहरूको मूल्य बदल्छन् । यदि कुनै सामानको माग अचानक बढ्यो वा प्रतिस्पर्धीले मूल्य घटायो भने अमेजनको एल्गोरिदमले तुरुन्तै आफ्नो मूल्य परिवर्तन गर्छ।
हाल चलिरहेको विश्वकपमा डाइनामिक प्राइसिङको प्रभाव
फिफाले यस पटकको विश्वकपमा टिकट बिक्रीका लागि पहिलो पटक आधिकारिक ‘डाइनामिक प्राइसिङ’ र एआई आधारित यिल्ड मोडल पूर्णरूपमा लागू गरेको छ। यसले खेलकुदको अर्थतन्त्र र आम प्रशंसकहरूमा निकै ठुलो प्रभाव पारेको छ।
प्रशंसकहरूमा निराशा र 'हार्टब्रेक'
पहिले विश्वकपको टिकटको मूल्य वर्ग (Category) अनुसार स्थिर हुन्थ्यो (जस्तै क्याटगोरी १ को ३००, क्याटगोरी २ को १५० आदी)। तर यस पटक अनलाइन प्रणालीमा टिकट खुला गर्नासाथ, लाखौँ मानिसहरू एकैपटक क्यु (Queue) मा बस्दा माग अत्यधिक देखियो । नतिजास्वरूप, सुरुमा २०० डलर देखिएको टिकट मानिसले क्लिक गर्दागर्दै सिस्टमले बढाएर ८०० देखि १,५०० डलर सम्म पुर्याइदियो । यसले गर्दा मध्यमवर्गीय फुटबल प्रेमीहरू रंगशाला बाहिरै बस्न बाध्य भएका छन् र धनी वर्गले मात्र टिकट कब्जा गर्ने स्थिति बनेको छ।
बिचौलियाको अन्त्य तर वैधानिक महँगी
विगतका विश्वकपमा बिचौलियाहरूले सस्तोमा टिकट किनेर ब्ल्याकमा महँगोमा बेच्थे, जसको नाफा फिफाले पाउँदैनथ्यो। यस पटक फिफा आफैँले डाइनामिक प्राइसिङ लागू गरेपछि, ब्ल्याक मार्केटमा हुने जति मूल्य फिफाकै आधिकारिक साइटमा कायम भयो। यसले अवैध कारोबार त रोक्यो, तर फिफा आफैँले ब्ल्याकको मूल्यमा टिकट बेच्यो भन्दै विश्वभर यसको आलोचना भइरहेको छ।
फिफाको आम्दानीमा कीर्तिमानी उछाल
व्यापारिक दृष्टिकोणबाट फिफाका लागि यो रणनीति इतिहासकै सबैभन्दा सफल सावित भएको छ। खेलको सङ्ख्या बढेर १०४ पुगेको र डाइनामिक प्राइसिङका कारण प्रतिटिकट औसत आम्दानी झन्डै २५० प्रतिशतले बढेकाले फिफाले यो विश्वकपको टिकट र हस्पिटालिटीबाट मात्रै ३ अर्ब अमेरिकी डलर भन्दा बढी सङ्कलन गर्दै छ, जुन कतार विश्वकपको तुलनामा झन्डै तेब्बर हो।
होटल र हवाई भाडामा चेन इफेक्ट
विश्वकपका खेलहरू अमेरिका, क्यानडा र मेक्सिकोका १६ वटा फरक फरक सहरमा भइरहेका छन्। फिफाको टिकटको मूल्य बढेसँगै ती सहरहरूका होटल र एअरलाइन्सका आफ्नै डाइनामिक प्राइसिङ एल्गोरिदमहरू पनि सक्रिय भए। खेल हुने दिन लस एन्जलस वा न्युयोर्क उड्ने जहाजको भाडा र होटलको कोठाको मूल्य र खानाको ‘मेन्यु’ मा समेत सामान्य समयभन्दा ४०० प्रतिशत सम्म महँगो भएको छ।