प्राधिकरणले देशभरिका आफ्ना सम्पूर्ण निर्देशनालयहरूलाई परिपत्र गर्दै मौसमजन्य विपद्को जोखिमलाई मध्यनजर गरी आम उपभोक्तालाई निरन्तर, सुरक्षित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।
६ प्रदेशमा भारी वर्षाको प्रक्षेपण, पूर्वाधार जोगाउन चुनौती
मौसम पूर्वानुमान अनुसार असार १६ र १७ गते मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध र चट्याङ जस्ता प्राकृतिक विपद्का कारण विद्युतका पोल, ट्रान्सफर्मर, सबस्टेशन तथा प्रसारण लाइन जस्ता भौतिक संरचनाहरूमा क्षति पुग्न सक्ने जोखिम रहन्छ।
प्राधिकरणका कायममुकायम (का.मु.) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठद्वारा जारी निर्देशनात्मक पत्रमा भनिएको छ, "विपद्का कारण विद्युत् संरचना तथा सेवा प्रवाहमा प्रतिकूल प्रभाव पर्न सक्ने परिस्थितिलाई दृष्टिगत गरी आम उपभोक्तालाई निरन्तर, सुरक्षित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गरी कार्यहरू गर्नु/गराउनु हुन जानकारी गराइन्छ।"
सेवा प्रवाहलाई प्रभावकारी र अविच्छिन्न राखिने
प्राधिकरणले प्राकृतिक प्रकोपको बेला विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन र अवरोध भइहालेमा पनि तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीहरूलाई चनाखो रहन भनेको छ। सम्पूर्ण निर्देशनालयहरूले यस निर्देशनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरी विद्युत् सेवा प्रवाहलाई सुरक्षित र अविच्छिन्न राख्न विशेष ध्यान दिनुपर्ने पत्रमा उल्लेख छ।
मनसुन सक्रिय भएसँगै आउने बाढी-पहिरोका कारण बर्सेनि विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुग्ने गरेको छ। यस पटक सम्भावित भौतिक क्षतिलाई न्यून गर्न र उपभोक्तालाई सास्ती हुन नदिन प्राधिकरणले समयमै पूर्वतयारी र सुरक्षात्मक उपायहरू अवलम्बन गर्न जोड दिएको हो।