६०% डुबेको ऋण र २० जनाको कब्जामा आधा बैंक: शेयर किन्नुअघि नारायणी डेभलपमेन्ट बैंकको रिपोर्टबारे जान्नै पर्ने तथ्यहरू

Jul 01, 2026 05:31 PM Merolagani



सुवास निरौला

नेपालको धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत कम्पनीहरूको वित्तीय वास्तविकता र उनीहरूको शेयर मूल्यबीच कति ठूलो खाडल हुन सक्छ भन्ने कुराको सबैभन्दा डरलाग्दो र ज्वलन्त उदाहरण बनेको छ—नारायणी डेभलपमेन्ट बैंक लिमिटेड।

दोस्रो बजारमा हाल यस बैंकको शेयर मूल्य प्रतिकित्ता करिब ७७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। अझ अचम्मको कुरा त के छ भने, केही महिनाअघि हकप्रद शेयर निष्कासनको हल्ला चल्दा यसको मूल्य कर्नरिङ र चलखेलका कारण १८०० रुपैयाँभन्दा माथिसम्म पुर्‍याइएको थियो। तर, के यो मूल्य कम्पनीको वास्तविक अवस्थासँग मेल खान्छ? रेटिङ एजेन्सी इक्रा नेपालको ताजा प्रतिवेदनले भन्छ—"यो मूल्य वित्तीय चेतना शून्य भएका सोझा लगानीकर्तालाई फसाउने एउटा गम्भीर पासो मात्र हो।"

इक्रा नेपालले नारायणी डेभलपमेन्ट बैंकलाई 'C+' रेटिङ दिएको छ। यस रेटिङको स्पष्ट अर्थ हुन्छ— "बैंकले आफ्ना वित्तीय दायित्वहरू समयमै भुक्तान गर्न नसक्ने अत्यन्तै उच्च जोखिम छ।" यस्तो नाजुक अवस्थामा रहेको कम्पनीको शेयर मूल्य दोस्रो बजारमा अस्वाभाविक रूपमा महँगो हुनुले आम लगानीकर्ता ठूलो वित्तीय दुर्घटनामा फस्न सक्ने गम्भीर खतरा देखाउँछ।

पूँजी बढे पनि सुध्रेन वित्तीय संरचना

नारायणी डेभलपमेन्ट बैंकले हालै १०० प्रतिशत (१:१) हकप्रद शेयर जारी गरेर आफ्नो चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ पुर्‍याएको छ। यस हकप्रद निष्कासनले नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरको 'ख' वर्गको विकास बैंकका लागि तोकेको न्यूनतम ५० करोडको सीमा त पूरा गर्‍यो, जसले गर्दा बैंकको पूँजी कोष अनुपात पनि कागजी रूपमा ३७.११ प्रतिशत पुगेको देखिन्छ।

तर, यो केवल कागजमा देखिएको पूँजीको 'कृत्रिम सुधार' मात्र हो। बैंकले यसअघि पनि पटक-पटक हकप्रद शेयर जारी गरेर पूँजी बढाएको थियो, तर त्यो टिक्न सकेन। लगातारको सञ्चालन नोक्सानी र खराब कर्जाका कारण पूँजी फेरि सिद्धियो। हकप्रद शेयरले बैंकको सञ्चालन क्षमता र नाफा कमाउने आधारलाई सुधार गर्न सक्दैन। जबसम्म बैंकले आफ्नो मुख्य व्यवसायमा सुधार गर्दैन। तबसम्म शेयर धनीसँग पैसा मागेर मात्र बैंक बलियो हुन सक्दैन भन्ने कुरा यसअघिका हकप्रदको असफलताले प्रमाणित गरिसकेको छ।

६० प्रतिशत पुग्न लागेको खराब कर्जाको महाविपत्ति

नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा भयावह पक्ष यसको लगातार थपिँदै गएको खराब कर्जा (Non-Performing Loans - NPL) हो। प्रतिवेदन अनुसार बैंकको खराब कर्जा बढेर ५९.३६ प्रतिशत पुगेको छ। विकास बैंकहरूको औसत खराब कर्जा केवल ६.१३ प्रतिशत रहेको अवस्थामा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा झन्डै ६० प्रतिशत पुग्नु भनेको बैंक वित्तीय रूपमा टाट पल्टिनु सरह हो।

यसको अर्थ बैंकले लगानी गरेको कुल कर्जामध्ये हरेक १०० रुपैयाँमा ६० रुपैयाँ उठ्न नसकेर डुब्ने निश्चित भएको छ। यस्तो चरम खराब कर्जाका कारण बैंकले शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपरेको छ। जसले गर्दा बैंक सधैँ घाटामा गइरहेको छ। सन् २०२० मा समस्याग्रस्त अवस्थाबाट फुकुवा भए पनि बैंकले हालसम्म एक रुपैयाँ पनि सञ्चालन नाफा कमाउन सकेको छैन।

आधा कर्जा केवल २० जनाको मुठ्ठीमा

बैंकको अर्को सबैभन्दा डरलाग्दो कमजोरी भनेको कर्जा केन्द्रीकरणको जोखिम हो। बैंकले प्रवाह गरेको कुल ऋणमध्ये झन्डै ५० प्रतिशत हिस्सा केवल २० जना ऋणी वा व्यावसायिक समूहहरूको हातमा छ।

यति सानो आकारको बैंकमा केवल २० जना ऋणीको नियन्त्रण हुनु भनेको अत्यन्तै संवेदनशील विषय हो। यदि ती २० जना ऋणीमध्ये २-४ जनाले मात्रै पनि सावाँ-ब्याज तिर्न सकेनन् भने बैंकको पूँजी कोष पुनः शून्यमा झर्नेछ र बैंक फेरि राष्ट्र बैंकको कारबाहीको दायरामा पुग्नेछ। यो जोखिमले बैंकको दीर्घकालीन अस्तित्वलाई नै संकटमा पारेको छ।

महँगो निक्षेप र निरन्तर खुद नोक्सानीको मार

बैंकको कर्जा मात्र होइन, निक्षेपको संरचना पनि अत्यन्तै दयनीय छ। बैंकको चल्ती तथा बचत खाता (CASA) को अनुपात केवल २२ प्रतिशत मात्र छ। जबकी अन्य विकास बैंकहरूको यस्तो औसत निक्षेप ५६ प्रतिशत हुन्छ।

सस्तो निक्षेप नहुँदा बैंकले महँगो मुद्दती निक्षेपमा भर पर्नुपरेको छ। जसले गर्दा बैंकको कोषको लागत ५.४० प्रतिशत पुगेको छ। महँगो ब्याजमा पैसा उठाएर लगानी गरेको ऋण पनि उठ्न नसकेपछि बैंकको खुद ब्याज आम्दानी ऋणात्मक बनेको छ। समीक्षा अवधिमा बैंकले ५ करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ र यसको सञ्चित नोक्सानी बर्सेनि बढ्दै गइरहेको छ।

शेयर बजारका लगानीकर्तालाई गम्भीर चेतावनी

अब प्रश्न उठ्छ—यति विघ्न वित्तीय रूपमा जीर्ण, खराब कर्जाले थलिएको, र निरन्तर घाटामा गइरहेको बैंकको शेयर मूल्य दोस्रो बजारमा ७७० रुपैयाँ किन छ त ?

यसको मुख्य कारण नेपालको शेयर बजारमा हुने विकृति र चलखेल हो। यस बैंकको कुल सूचीकृत शेयर संख्या अत्यन्तै न्यून छ। सर्वसाधारणसँग रहेको थोरै शेयर संख्यालाई ठूला खेलाडीहरूले सजिलै कर्नरिङ गरेर, कृत्रिम रूपमा माग सिर्जना गरी मूल्य १८०० रुपैयाँसम्म पुर्‍याएर सोझा साझा लगानीकर्तालाई हकप्रदको लोभ देखाई शेयर भिडाउने काम गर्दछन्।

लगानीकर्ताहरूले बुझ्नुपर्छ कि यो बैंकको प्रतिसेयर किताबी मूल्य (Book Value) केवल ३३ रुपैयाँको हाराहारीमा मात्र छ। जसको वास्तविक वित्तीय मूल्य ३३ रुपैयाँ पनि छैन। त्यसलाई ७७० रुपैयाँ हालेर किन्नु सरासर नोक्सानीको बाटो रोज्नु हो। हकप्रद शेयर जारी हुँदा बजारमा शेयर संख्या थपिएपछि कर्नरिङ गर्न गाह्रो भई मूल्य अहिले ७७० मा झरेको छ। तर यो मूल्य पनि बैंकको आधारभूत अवस्थाको तुलनामा अत्यधिक महँगो हो।

त्यसैले, कुनै पनि कम्पनीको शेयर केवल हकप्रदको हल्ला वा बजारको लहैलहैमा लागेर किन्नुअघि रेटिङ एजेन्सीको रिपोर्ट र कम्पनीको वित्तीय सूचकहरू अनिवार्य रूपमा अध्ययन गर्नुहोस्। नारायणी डेभलपमेन्ट बैंकको हकमा इक्रा नेपालको 'C+' रेटिङ र ६० प्रतिशत खराब कर्जाले नै स्पष्ट चेतावनी दिइसकेको छ कि यसमा लगानी गर्नु भनेको आफ्नो मिहिनेतको पूँजीलाई ठूलो जोखिममा फाल्नु हो।





यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।