ब्याजदर कटौती र असार मसान्तको दोहोरो प्रभावः असारकाे २० काराेबार दिनमा १५ अर्बको डिबेञ्चर कारोबार, आज मात्रै साढे ३ अर्ब नाघ्यो

Jul 10, 2026 05:26 PM Merolagani



शेयर बजारमा डिबेञ्चरको कारोबारले विगतका सबै रेकर्डहरू तोड्दै नयाँ उचाइ छोएको छ। असार १ देखि २६ सम्मको करिब ४ हप्ताको अवधिमा मात्रै नेप्सेमा १५ अर्ब ३८ करोड ७३ लाख रुपैयाँभन्दा बढीको डिबेञ्चर किनबेच भएको छ।

यस अवधिमा समग्र नेप्सेको कुल कारोबार ८२ अर्ब ६३ करोड ८१ लाख रुपैयाँ रहँदा डिबेञ्चर समूह एक्लैले १८.६२ प्रतिशत हिस्सा ओगटेर बजारलाई ठूलो तरलता प्रदान गरेको छ। ऋणपत्र बजारको यो उछाल असार २६ गते यो महिनाकै उच्च विन्दुमा पुग्यो, जहाँ नेप्सेको कुल ६ अर्ब ८६ करोड ७१ लाखको कारोबारमध्ये आधाभन्दा बढी अर्थात् ३ अर्ब ७१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार डिबेञ्चरकै मात्र भएको छ।

डिबेञ्चरको कारोबार यसरी एकाएक उकालो लाग्नुमा असार मसान्तको क्लोजिङको दबाब र वाणिज्य बैंकहरूमा घटेको ब्याजदरको दोहोरो प्रभावले काम गरेको देखिन्छ। एकातिर आर्थिक वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न, प्राथमिक पुँजी कोषको सन्तुलन मिलाउन र ‘क्रेडिट टु डिपोजिट’ रेसियो कायम गर्न डिबेञ्चरको तीव्र खरिदबिक्री गरेका छन्। असार लागेसँगै डिबेञ्चर कारोबारमा आएको उतारचढावले यसलाई पुष्टि गर्छ। असार ११ मा केवल २ लाख रुपैयाँमा खुम्चिएको डिबेञ्चर कारोबार, असार मसान्त नजिकिँदै गर्दा असार १८ मा १ अर्ब, असार २४ मा २ अर्ब ८ करोड र असार २६ मा ३ अर्ब ७१ करोड रुपैयाँ नाघ्नुले संस्थागत लगानीकर्ताहरूको असार मसान्त केन्द्रित ‘ब्लक ट्रेड’ रणनीतिलाई प्रष्ट पार्छ।

यद्यपि, यो तीव्र वृद्धिको जग भने बजारमा विद्यमान न्यून ब्याजदरको वातावरण नै हो। वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएर निकै तल झारेपछि सुरक्षित र निश्चित आम्दानी खोज्ने ठूला संस्थागत लगानीकर्ता, म्युचुअल फण्ड र बीमा कम्पनीहरूका लागि पुराना डिबेञ्चरहरू मुख्य आकर्षण बनेका हुन्। दोस्रो बजारमा धेरैजसो पुराना ऋणपत्रहरू अंकित मूल्य प्रतिइकाई १,००० रुपैयाँभन्दा कममा उपलब्ध थिए, जसको कुपन ब्याजदर भने वार्षिक ८ देखि ११ प्रतिशतसम्म सुरक्षित छ। न्यून ब्याजदरको समयमा यसरी सस्तो मूल्यमा ऋणपत्र किन्दा लगानीकर्ताले बैंक निक्षेपको तुलनामा आकर्षक ’यिल्ड टु म्याचुरिटी’ र परिपक्व हुँदा पुँजीगत लाभ समेत पार्ने भएकाले ऋणपत्रमा लगानीको बाढी आएको हो। अहिले डिबेञ्चर पनि ११ सय रुपैयाँमाथि नै काराेबार भइरहेकाे छ।

नेप्सेको तथ्यांकले सेयर बजार सुस्त रहेका बेला डिबेञ्चरले बजारको कुल टर्नओभरलाई कसरी धानेको छ भन्ने रोचक दृश्य पनि देखाउँछ। असार १५ मा नेप्सेको कुल कारोबार २ अर्ब ६७ करोडमा सीमित हुँदा ऋणपत्रको हिस्सा न्यून थियो, तर असार २६ मा बजारले ६ अर्ब ८६ करोडको फराकिलो कारोबार गर्दा त्यसको मुख्य संवाहक डिबेञ्चर नै बन्यो। नजिकिँदो असार मसान्तको प्राविधिक मिलानले यसलाई तत्कालका लागि ठूलो परिमाण दिएको भए तापनि, बैंकिङ प्रणालीमा घट्दो ब्याजदर कायम रहुन्जेल र सेयर बजारले स्पष्ट दिशा नलिएसम्म सुरक्षित लगानीका रूपमा कर्पोरेट डिबेञ्चरको यो बलियो यात्रा आगामी दिनमा पनि जारी रहने विश्लेषण गर्न सकिन्छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।