पुनः सञ्चालन गर्न हेटौँडा कपडा उद्योगमा काम हुँदै

Jul 15, 2026 01:00 PM Merolagani



लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिए । सूचना अधिकारी भण्डारीकाअनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ । साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्रसारण तथा विद्युत जडानको काम पनि सँगसँगै अघि बढाइएको छ ।

उनकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ ।

भण्डारीले लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।

उद्योग पुनः सञ्चालनका लागि चरणवद्ध रूपमा काम अघि बढाइएको छ । पहिलो चरणमा उद्योग परिसरलाई व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार तयार गर्ने तथा विद्युत आपूर्तिको व्यवस्था मिलाउने काम भइरहेको छ । त्यसपछि मेसिन तथा उपकरणहरूको निरीक्षण, मर्मत तथा प्राविधिक परीक्षणलगायतका प्रक्रिया अघि बढाइनेछ ।

हेटौँडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको मुलुककै पुराना सरकारी उद्योगमध्ये एक हो ।

वि.सं.२०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १२०० भन्दाबढीलाई रोजगारी दिएको थियो । तर उद्योग २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीति अनुरूप हेटौंडा कपडा उद्योगमा पनि आवश्यक तयारी अघि बढाएको छ । सोही क्रममा उद्योग परिसरको सरसफाइ, विद्युत् जडान तथा अन्य आधारभूत पूर्वाधार व्यवस्थापनका काम भइरहेको सूचना अधिकारी भण्डारीले बताए ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।