बलियो सरकार र पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने नेतृत्व पाएको छ। यसै सन्दर्भमा, बैंक–सम्बद्ध नयाँ ब्रोकर कम्पनीका प्रमुखसँग गरिएको यो विशेष संवाद बजारको अंकमा मात्र केन्द्रित नभई यसको गुणात्मक रूपान्तरण र भविष्यको मार्गचित्रमा आधारित छ।
बजारको दिगो वृद्धिका लागि अब आपूर्ति व्यवस्थापन मात्र नभई डिमाण्ड (माग) सिर्जना गर्नुपर्ने र संस्थागत लगानीकर्तालाई सक्रिय बनाउनुपर्ने मागहरु रहेका छन। बजारमा पछिल्लो समय देखिएको प्रि–आईपीओको जोखिम, प्रवर्द्धकहरूको लकिङ पिरियडले निम्त्याएको मूल्य चलखेल र बाइ ब्याक नीतिको अपरिहार्यता जस्ता विषयमा सनराइज् सेक्युरिटिज अर्थात ब्रोकर नं. १०० का प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग सुधा देवकोटाले गरेको कुराकानीः
हामीले अघिल्लो पटक कुरा गर्दा पनि नेप्से २६००–२७०० को सेरोफेरोमै थियो, अहिले पनि बजार त्यहीँ छ। इन्डेक्स उस्तै देखिए पनि लगानीकर्ताको मनोबल र बजारको आन्तरिक वातावरणमा केही परिवर्तन भयो वा उस्तै छ ?
इन्डेक्सको अंक हेर्दा उस्तै देखिए पनि धरातलीय यथार्थमा ठूलो परिवर्तन आएको छ। हामीले अघिल्लो पटक कुरा गर्दा जेनजी आन्दोलन पछि मुलुकमा कामचलाउ सरकार थियो। चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलता थियो। तर अहिले परिस्थिति फेरिएको छ। करिब दुई तिहाइ मतसहितको नयाँ र स्थायी सरकार बनेको छ। सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। प्रधानमन्त्री स्वयंले चासो लिनुभएको छ। त्यसैले अहिलेको २७०० को विन्दुमा लगानीकर्ताको आत्मविश्वास अघिल्लो पटकको तुलनामा धेरै बलियो र परिपक्व छ।
बजार अब कुन दिशामा जाला? भविष्यलाई कसरी आंकलन गर्नुहुन्छ?
नेपालको पुँजी बजार अहिले एउटा ठूलो रूपान्तरणको चरणमा छ। पछिल्ला वर्षहरूमा प्रविधिको विकास, विशेष गरी अनलाइन टीएमएसले गर्दा आम लगानीकर्ताको सहभागिता व्यापक बढेको छ। अबको बजार इन्डेक्सको अंकमा मात्र होइन, गुणात्मक वृद्धिमा केन्द्रित हुनुपर्छ। अबको आवश्यकता भनेको बजारमा डिमाण्ड (माग) सिर्जना गर्नु हो। जबसम्म हामीले नयाँ माग सिर्जना गर्ने उपकरणहरू ल्याउँदैनौ, तबसम्म बजार दिगो हुन सक्दैन।
तपाईले डिमाण्ड सिर्जना गर्ने कुरा गर्नुभयो, त्यो कसरी सम्भव छ?
विगतका बुलहरूलाई हेर्नुभयो भने कहिले आपूर्ति रोकेर त कहिले प्रविधिले माग बढाएर बजार बढेको छ। १८०० को इन्डेक्स हुँदा डिमेटरलाइजेशनले आपूर्ति व्यवस्थापन गर्यो, ३२०० को बेला अनलाइन टीएमएसले माग बढायो। अबको माग सिर्जना गर्न तीन–चारवटा प्रमुख बाटोहरू छन्। पहिलो, मार्जिन लेन्डिङ (शेयर धितो कर्जा) लाई पूर्ण क्षमतामा कार्यान्वयन गर्ने हो भने बजारमा करिब एक सय अर्ब रुपैयाँको नयाँ फण्ड आउन सक्छ। दोस्रो, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र अन्य सामाजिक सुरक्षा कोषहरूलाई संस्थागत लगानीकर्ताका रूपमा सक्रिय बनाउनुपर्छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण, विदेशी संस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीलाई बजारमा प्रवेश गराउनुपर्छ। नेपालको जनशक्ति ठूलो संख्यामा बाहिर छ। उनीहरूको पुँजीलाई नेपालको बजारमा ल्याउने नीति तत्काल आवश्यक छ।

विदेशी लगानीकर्ता र एनआरएन भित्रयाउने कुरा वर्षौंदेखि सुनिँदै आएको छ, तर कार्यान्वयन किन हुन सकेको छैन? के उनीहरू नेपालको बजारमा आउन इच्छुक छन?
पुँजी बजारको मेरुदण्ड भनेको कन्फिडेन्स (विश्वास) हो। नीतिगत अस्थिरताले गर्दा उनीहरू डराएका हुन्। सरकारले बाहिर पैसा जाला कि भनेर डराउनु पर्दैन। जो इन्भेस्टर हो, उसले नाफा खोज्छ र नाफा कमाउने वातावरण भएपछि पैसा रोकिँदैन। अहिलेको सरकारसँग दुई तिहाइ शक्ति छ, कुनै पनि नीति परिवर्तन गर्न वा कानुन बनाउन संसदमा अवरोध छैन। धितोपत्र बोर्डमा पनि विज्ञ नेतृत्व आउनुभएको छ। यदि करका विवादहरू सल्टयाउने र एक्जिट पोलिसी (बजारबाट बाहिरिने सहज व्यवस्था) स्पष्ट बनाउने हो भने अर्को एक–डेढ वर्षमा बजारमा ठूलो वैदेशिक पुँजी भित्रिन्छ।
बजारलाई देशको अर्थतन्त्रसँग कसरी जोड्न सकिन्छ? कतिपयले यसलाई सट्टेबाजी’ वा फुलेको बेलुनको संज्ञा दिएका हुन्छन नि?
यो एकदमै गलत भाष्य हो। क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा कस्तो योगदान दिन्छ भन्ने सबैभन्दा ठूलो उदाहरण जलविद्युत् क्षेत्र हो। १८ घण्टाको लोडसेडिङ कसरी अन्त्य भयो? किनकि सरकारले हाइड्रोमा लगानी गर्ने वातावरण बनायो र क्यापिटल मार्केटले उनीहरूलाई एक्जिट पोलिसी दियो। प्रवर्द्धकले शेयर बेचेर अर्को आयोजनामा लगानी गर्न पाए। अब यही मोडल हामीले उत्पादनमूलक क्षेत्र, कृषि, पर्यटन र आईटीमा लागू गर्नुपर्छ। जब यी क्षेत्रका कम्पनीहरू बजारमा सूचीकृत हुन्छन्। तब मात्र जीडीपीमा पुँजी बजारको वास्तविक योगदान देखिन्छ। बजार बलियो भयो भने घरजग्गा र बैंकिङ क्षेत्रमा देखिएका समस्याहरू स्वतः समाधान हुँदै जान्छन्।
पछिल्लो समय प्रि–आईपीओको कारोबार बजार बाहिर (ह्वाट्सएप ग्रुपहरूमा) निकै फस्टाएको छ। यसले सेकेन्डरी मार्केटलाई कस्तो प्रभाव पारेको छ?
यो अहिलेको ठूलो चुनौती हो। प्रि–आईपीओको नाममा सिस्टमभन्दा बाहिर ठूलो कारोबार भइरहेको छ। यसले गर्दा सरकारको राजस्व गुमिरहेको छ र लगानीकर्ताहरू उच्च जोखिममा छन्। कुनै कम्पनीको नेटवर्थ ८० रुपैयाँ छ तर बाहिर ३०० मा कारोबार भइरहेको छ। भोलि त्यसको आईपीओ आउँछ कि आउँदैन। केही ग्यारेन्टी छैन। नियामकले यसलाई कडाइका साथ नियमन गर्नुपर्छ। यसलाई रोक्ने भन्दा पनि सिस्टमभित्र ल्याउनुपर्छ। उदाहरणका लागि, पार भ्यालु (१०० रुपैयाँ) भन्दा माथिको कारोबार टीएमएसमार्फत मात्र हुने व्यवस्था गर्ने हो भने यो विकृति हट्छ।
बाइ ब्याक र स्टक स्पिलिटका कुराहरू पनि उठिरहेका छन्। के नेपाली बजार यसका लागि तयार छ?
एकदमै तयार छ र आवश्यक पनि छ। धेरै राम्रा कम्पनीहरूको शेयर मूल्य अहिले उनीहरूको नेटवर्थ वा बुक भ्यालुको आसपास छ। यदि कम्पनीसँग अतिरिक्त नगद छ र आफ्नो शेयर सस्तो भएको महसुस गर्छ भने उसले बजारबाट आफ्नै शेयर किन्न पाउनुपर्छ। यसले बजारमा डिमाण्ड सिर्जना गर्छ र मूल्यलाई स्थिरता दिन्छ। त्यस्तै, स्टक स्पिलिटले बजारमा लिक्विडिटी (तरलता) बढाउँछ। महँगो शेयरलाई टुक्राउँदा साना लगानीकर्ताको पहुँच पुग्छ।
लकिङ पिरियडको विषयमा पनि ठूलो बहस छ। प्रवर्द्धकहरुकाे शेयर रोक्नुपर्छ कि फुकाउनुपर्छ?
मेरो विचारमा डे–वानदेखि नै सबै शेयर कारोबार योग्य हुनुपर्छ। अहिलेको लकिङ सिस्टमले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गरिन्छ। जसले गर्दा म्यानुपुलेसन गर्न सजिलो हुन्छ। थोरै आपूर्ति हुँदा मूल्य आकाशमा पुर्याइन्छ र जब लकिङ खुल्छ, तब ठूला लगानीकर्ताले सर्वसाधारणलाई शेयर भिराएर निस्कन्छन्। यदि सुरुदेखि नै सबै शेयर बजारमा उपलब्ध हुने हो भने मूल्य वास्तविक हुन्छ र कसैले म्यानुपुलेट गर्न सक्दैन।
तपाई बैंकको सहायक कम्पनीका रूपमा रहेको ब्रोकर हुनुहुन्छ। नयाँ ब्रोकरहरूका लागि अहिलेको बजार कत्तिको चुनौतीपूर्ण छ?
बजार निकै प्रतिस्पर्धात्मक छ। हामी बैंकको पृष्ठभूमिबाट आएका हुनाले कर्पोरेट गभर्नेन्स र नियमको पालनामा निकै सचेत छौँ। हामी केवल शेयर खरिद–बिक्री गराउने मात्र होइन। नलेज सेयरिङ र कर्पोरेट एडभाइजरीमा पनि केन्द्रित छौँ। ब्रोकरहरू अब कमिसनमा मात्र भर पर्नु हुँदैन, उनीहरूले लगानीकर्तालाई शिक्षा र सही परामर्श दिनुपर्छ। मार्जिन लेन्डिङका लागि हामी तयार छौँ, मात्र राष्ट्र बैंक र धितोपत्र बोर्डको केही नीतिगत स्पष्टता पर्खिरहेका छौँ।
अन्त्यमा, आम लगानीकर्तालाई के भन्न चाहनुहुन्छ?
लगानीकर्ताहरूलाई मेरो एउटै आग्रह छ। सामाजिक सञ्जालको हल्ला, फेसबुक लाइभ वा ह्वाट्सएप ग्रुपको टिपका भरमा लगानी नगर्नुहोस्। यो तपाईंको मिहिनेतको कमाइ हो। लगानी गर्नुअघि कम्पनीको कम्तीमा बुक भ्यालु, प्रतिशेयर आम्दानी, र लाभांशको इतिहास हेर्नुहोस्। हल्लाको पछि लाग्दा अल्पकालीन फाइदा देखिए पनि दीर्घकालमा फसिने सम्भावना हुन्छ। बजार सकारात्मक लयमा छ। तर अध्ययन र धैर्यता नै सफल लगानीकर्ताको पहिचान हो।
थप जानकारीका लागि भिडियाे