साेखलाई व्यवसायमा बदल्ने 'पूजा', ३० हजारबाट सुरु भएको ‘मीसा’को यात्रा

Jul 27, 2026 06:04 PM Merolagani



निशा ढकाल

आजभन्दा नौ वर्षअघि नेपालमा अनलाइन सपिङको लहर भर्खरै सुरु हुँदै थियो। धेरैका लागि अनलाइनबाट सामान खरिद गर्नु नयाँ र केही हदसम्म जोखिमपूर्ण पनि थियो। यही समयमा एउटी युवतीले आफ्नो साेखलाई व्यवसायमा बदल्ने आँट गरिन्। 

हातमा केवल ३० हजार रुपैयाँ र मनमा केही नयाँ गर्ने उत्साह बोकेर सुरु भएको त्यो सानो प्रयास आज ‘मीसा’ ज्वेलरीका रूपमा स्थापित नेपाली फेसन ज्वेलरी ब्रान्ड बनेको छ।

मीसाकी संस्थापक पूजा, जसलाई धेरैले ‘मीसा म्याम’ भनेर चिन्छन्, उनको यो यात्रा भने सहज थिएन। त्यतिबेला पनि सुनको मूल्य निरन्तर बढिरहेको थियो। सबैले सधैँ सुन किन्न सक्ने अवस्था थिएन। पूजालाई आफैँलाई पनि इमिटेसन ज्वेलरी मन पर्थ्यो। त्यही रुचिबाट उनलाई एउटा विचार आयो,आफूलाई मन पर्ने वस्तुलाई नै किन व्यवसाय नबनाउने र ?

‘त्यतिबेला सुनको भाउ निकै बढिरहेको थियो। सबैले सधैँ सुन किन्न सक्ने अवस्था थिएन। मलाई आफैँलाई पनि इमिटेसन ज्वेलरी मन पर्थ्यो। त्यहीँबाट सोच आयो, किन यसैलाई व्यवसाय नबनाउने ?’ पूजा आफ्नो व्यवसाय सुरु गर्दाको क्षण सम्झिन्छिन्।

व्यवसाय सुरु गर्दा मीसाले सबैभन्दा ठूलो चुनौती ग्राहकको विश्वास जित्नुपर्ने अवस्था थियो। अनलाइन व्यापार विस्तार हुँदै गरेको समयमा ग्राहकहरूलाई फोटोमा देखिएको सामान वास्तविकतामा पनि उस्तै हुन्छ कि हुँदैन भन्ने डर हुन्थ्यो। कतिपय अवस्थामा अर्डर गरेको सामान फरक आउने वा गुणस्तरमा समस्या हुने गुनासो पनि सुनिन्थ्यो।

यही समस्या समाधान गर्न मीसाले नेपालमै नौलो अवधारणाका रूपमा ‘ट्राइ-अन’ सेवा सुरु गर्‍यो। डेलिभरीका बेला ग्राहकले गहना लगाएर हेर्न पाउने, आफूलाई सुहाएमा मात्र खरिद गर्ने र मन नपरेमा डेलिभरी चार्जसमेत तिर्नु नपर्ने यो सेवाले ग्राहकको विश्वास जित्न महत्वपूर्ण भूमिका खेल्यो। ग्राहकलाई पहिले अनुभव गर्ने र त्यसपछि मात्र खरिद गर्ने सुविधा दिइएपछि मीसा विस्तारै घरघरमा परिचित बन्न थाल्यो।

व्यवसाय विस्तार हुँदै गर्दा कोरोना महामारीले देशभरका व्यवसायलाई प्रभावित बनायो। लकडाउनका कारण बजार, पसल र व्यापारिक गतिविधि ठप्प भए। मीसाले पनि यो चुनौती सामना गर्नुपर्‍यो। तर, पूजाले हार मानिनन्।

लकडाउनपछि मानिसहरू घरबाहिर निस्कन डराउने अवस्था सिर्जना भयो। यससँगै अनलाइन सपिङको महत्त्व झन् बढ्यो। मीसाले पनि बदलिँदो परिस्थितिलाई अवसरका रूपमा लियो र आफ्नो अनलाइन सेवा थप व्यवस्थित तथा प्रभावकारी बनाउँदै लग्यो। महामारीका कारण सिर्जित कठिन परिस्थितिलाई व्यवसाय सुधार गर्ने अवसरमा बदल्नु मीसाको यात्राको महत्वपूर्ण मोड बन्यो।

मीसाको अर्को बलियो पक्ष भनेको यसको मूल्यमा रहेको विविधता हो। पाँच सय रुपैयाँमै आकर्षक ब्याङ्गल, लकेटलगायतका फेसन ज्वेलरी उपलब्ध हुने भएकाले निम्नदेखि मध्यम वर्गीय ग्राहकसम्म यसको पहुँच विस्तार भएको छ। फेसनका लागि ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकका लागि पनि मीसाले सस्तो र आकर्षक विकल्प उपलब्ध गराउँदै आएको छ।

मीसामा उपलब्ध अधिकांश गहना थाइल्याण्डबाट आयात गरिने बताइएको छ। संस्थापक पूजाका अनुसार यी गहनाहरू एन्टी-एलर्जी हुनुका साथै लामो समयसम्म टिक्ने खालका छन्। आकर्षक डिजाइन, उचित मूल्य र गुणस्तरलाई प्राथमिकता दिँदै ग्राहकको आवश्यकता पूरा गर्ने प्रयास गरिएको उनको भनाइ छ।

३० हजार रुपैयाँबाट सुरु भएको मीसाको यात्रा अहिले १८ जनाको टिमसम्म पुगेको छ। हाल तीनवटा स्थानबाट सेवा दिइरहेको मीसाले आफ्नो व्यवसाय विस्तार गर्ने तयारी पनि गरिरहेको छ। भक्तपुर र सीतापाइलालगायतका क्षेत्रमा नयाँ शाखा खोल्ने योजना रहेको पूजा बताउँछिन्।

‘धेरै युवाहरू पढाइ सकेपछि विदेश जाने मात्र सोच्नुहुन्छ। तर, धैर्य र सही योजना हुने हो भने नेपालमै पनि सानो लगानीबाट ठूलो काम गर्न सकिन्छ,’ उनी भन्छिन्।

पूजाका लागि व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र होइन। ग्राहकको आवश्यकता बुझ्ने, उनीहरूको विश्वास जित्ने र निरन्तर सुधार गर्दै अघि बढ्ने प्रक्रिया पनि हो। नौ वर्षको यात्रामा उनले व्यवसायमा धैर्य, निरन्तरता र ग्राहक सन्तुष्टिको महत्व नजिकबाट अनुभव गरेकी छन्। ‘व्यवसायमा धैर्य र ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो पुँजी हो,’ उनी भन्छिन्।

३० हजार रुपैयाँको सानो लगानीबाट सुरु भएको एउटा प्रयास आज लाखौँ रुपैयाँको कारोबार, १८ जनाको रोजगारी र हजारौँ ग्राहकको विश्वासमा परिणत भएको छ। मीसाको यात्रा एउटा फेसन ज्वेलरी ब्रान्डको  कथा मात्र होइन, नेपालमै केही गर्न चाहने युवाहरूका लागि प्रेरणाको कथा पनि हो।

ठूलो व्यवसाय सुरु गर्न सधैँ ठूलो लगानी नै चाहिन्छ भन्ने हुँदैन। कहिलेकाहीँ सानो लगानी, सही सोच, निरन्तर मेहनत र ग्राहकको विश्वास जित्ने क्षमताले पनि ठूलो यात्राको सुरुवात गर्न सक्छ। मीसाको नौ वर्ष लामो यात्रा यही कुराको एउटा उदाहरण हो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।