साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM Merolagani



साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा (८९ करोड ५१ लाख रुपैयाँ) को तुलनामा ५१.८४ प्रतिशत बढी हो।

कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी आम्दानी गरिरहेको छ। कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँ थियो। प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाई सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्च (ब्याज दायित्व) अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

कम्पनीले आफ्नो वित्तीय आधार र सञ्चित कोषलाई थप मजबुत बनाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्ष ३ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीमाथि रहेको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिको आकार १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम भएको छ।

कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेड मार्फत ३४१ मेगावाटको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अगाडि बढाएको छ। यसका लागि कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावसहित आवश्यक कार्य अगाडि बढाएको छ।




प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।