साउने सोमबारमा शिवालयमा जल, दूध, फूल, बेलपत्र, फलफूल, महलगायत सामग्री चढाउने परम्परा छ। यही धार्मिक गतिविधिले ठूलो संख्यामा मानिसलाई मन्दिरसम्म पुर्याउँछ र त्यससँगै यातायात, फूल, दूध, पूजा सामग्री, चिया–नास्ता, होटल तथा साना खुद्रा व्यवसायमा अतिरिक्त माग सिर्जना गर्छ।

काठमाडौंको पशुपतिनाथमा साउनका सोमबार लाखौँ भक्तजन आउने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसको अर्थ मन्दिरको भीड धार्मिक तथ्यांक मात्र होइन, आर्थिक गतिविधिको संकेत पनि हो।
दूधदेखि फूल, फलफूल र बेलपत्रसम्मको बजार
साउने सोमबारको बजारमा सबैभन्दा रोचक कृषि सम्बन्ध दूधसँग जोडिन्छ। भक्तजनले शिवलिङ्गमा चढाउने दूधको माग बढ्दा त्यसको पहिलो स्रोत किसानको गोठ हो । एउटा परिवारले पूजा सामग्रीमा खर्च गरेको पैसा पसल हुँदै दूध व्यवसायी र अन्ततः दुग्ध किसानसम्म पुग्छ । यही कुरा फूल, बेलपत्र, फलफूल र अन्य कृषि उत्पादनमा पनि लागू हुन्छ। त्यसैले साउने सोमबारलाई धार्मिक उपभोगले कृषि बजारमा सिर्जना गर्ने मौसमी मागका रूपमा हेर्न सकिन्छ।
भारतको पछिल्लो बजार अध्ययनले साउनमा फूल तथा पूजा सामग्रीको माग तीव्र रूपमा बढ्ने देखाएको छ। NDTV ले गरेको पछिल्लो अध्ययनले भारतमा साउनको सोमबार (एउटा सोमबार होइन, महिना भरिका ४ वा ५ सोमबार) सँग सम्बन्धित धार्मिक खरिद, यात्रा, खाना, कपडा तथा उपहारलगायतको कारोबार १ खर्ब ५० अर्ब करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब) सम्म पुगेको छ ।
गत जुलाई ३० तारिखमा प्रकाशित उक्त रिपोर्टअनुसार साउने सोमबार केवल धार्मिक दृष्टिले मात्र होइन, बजारको चलायमान र किसानको आम्दानीको हिसाबले पनि ऐतिहासिक दिन बनिरहेको छ ।जनसंख्यालगायतका विभिन्न कारणले भारतको यो तथ्यांकलाई नेपालको बजारसँग तुलना गर्न उचित हुँदैन । तर नेपालमा पनि साउने सोमबारको बजार शास्त्र हरेक वर्ष निकै ठूलो मात्रामा बढिरहेको छ भन्नेमा शंका छैन । साउने सोमबारमा पशुपति, पिण्डेश्वर, हलेसी तथा देशभरका शिवालयमा कति भक्तजन आए? उनीहरूले दूध, फूल, बेलपत्र, फलफूल र पूजा सामग्रीमा कति खर्च गरे ? यातायात, खाना र होटलमा कति रकम खर्च भयो ? त्यसको कति हिस्सा किसानसम्म पुग्यो ?
स्मरणीय के छ भने साउने सोमबार शिबजीको दर्शन गर्न नेपाली मात्र नभएर भारतका हिन्दु धर्मावलम्बीहरु पनि ठूलो संख्यामा पशुपतिनाथ लगायतका नेपालका शिब मन्दीरहरुमा ठूलो संख्यामा आउने गर्छन् । यसले पर्यटन उद्योगलाई पनि ठूलो टेवा पुर्याइरहेको छ । किनकी पर्यटक (वा आन्तरिक धर्मावलम्बी नै किन नहोस्) एक जना भक्त मन्दिर पुग्दा उसले दर्जनौं ठाउँमा खर्च गर्छ ।
ऊ घरबाट निस्कन्छ—यातायातमा खर्च गर्छ, फूल किन्छ, दूध वा अन्य पूजा सामग्री किन्छ, मन्दिरमा दान गर्छ, चिया–नास्ता खान्छ, आवश्यक परे होटलमा बस्छ। यसरी एउटा धार्मिक यात्राले किसान → व्यापारी → यातायात → होटल → रेस्टुरेन्ट → स्थानीय बजारसम्म पैसा घुमाउँछ।
यही कारण साउने सोमबार अर्थतन्त्र चलायमानको हिसाबले बहुआयामिक महत्वको दिन हो । तर नेपालमा यसबारेमा अध्ययन नभएकोले यति नै मात्रामा अर्थतन्त्र चलायमान हुन्छ भनेर अनुमान गर्न सकिदैन । तर, मोटामोटी अनुमान गर्दा पनि त्यो अर्बाैमा पुग्ने देखिन्छ । त्यसैले साउने सोमबार नेपालको धार्मिक संस्कृतिसँगै कृषि, पशुपालन, पर्यटन र साना उद्यमलाई जोड्ने मौसमी अर्थतन्त्र पनि हो।