राष्ट्र बैंकले नगद रोज्यो, लगानीकर्ता अझै बोनसकै पक्षमा, कामनाले गरेको संकेत

Aug 12, 2026 10:39 AM Merolagani



सुवास निरौला

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण गर्न प्रोत्साहित गरिरहेको छ। उद्देश्य स्पष्ट छ—बैंकबाट शेयरधनीको हातमा पैसा पुर्‍याउने, त्यसलाई पुनः बजार तथा अर्थतन्त्रमा परिचालन गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने।

तर राष्ट्र बैंकको यो नीतिको पहिलो व्यवहारिक परीक्षणमै शेयर बजारले भने उत्साहजनक प्रतिक्रिया दिएको देखिएन। आर्थिक वर्ष २०८२/८३ को पहिलो लाभांश घोषणा गर्ने बैंक बनेको कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि दोस्रो कारोबार दिनमै शेयर मूल्य घटेको छ। साउन २२ गते लाभांश घोषणा गरेको बैंकको शेयर मूल्य साउन २६ गते ४७३ रुपैयाँमा कारोबार भएकोमा त्यसपछि घटेर साउन २७ गते ४६८ रुपैयाँमा झरेको छ। पछिल्लो कारोबारमा मात्रै शेयर मूल्य ५.६० रुपैयाँ अर्थात् १.१८ प्रतिशत घटेको छ। यसले बजारमा एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ—राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन नगद लाभांशलाई प्रोत्साहन गरिरहेका बेला शेयर बजारका लगानीकर्ता भने नगद लाभांशप्रति किन उत्साहित देखिएनन् ?

 

शेयर बजारका जानकार तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका उपाध्यक्ष भक्तिराम घिमिरेका अनुसार नेपाली शेयर बजारको मनोविज्ञान अझै पनि नगदभन्दा बोनस शेयरतर्फ बढी आकर्षित छ। “नेपालको मार्केटले क्यास डिभिडेन्डलाई मनै पराउँदैन। बोनस दियो भने मारामार गरेर किन्न आउँछन्,” घिमिरेले भने। उनका अनुसार अहिले कम्पनीहरूको वित्तीय अवस्था, ब्याजदर र लगानीको वातावरणका हिसाबले शेयर बजारमा सकारात्मक आधारहरू छन्। तर लगानीकर्ताको मनोविज्ञान अझै त्यसअनुसार परिवर्तन भएको छैन।

राष्ट्र बैंकको नीति र बजारको रुचि आमनेसामने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ठूलो परिमाणमा नगद रकम शेयरधनीको हातमा पुगोस् भन्ने उद्देश्यले नगद लाभांशलाई प्रोत्साहन गर्ने नीति लिएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले समेत बैंकहरूले बोनस शेयरमा रकम थुपार्नुभन्दा शेयरधनीको हातमा नगद पुर्‍याउने दिशामा जानुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। यसको पछाडिको तर्क हो—बैंकमा थुप्रिएको पैसा निष्क्रिय नराखी अर्थतन्त्रमा माग सिर्जना गर्ने। नगद लाभांश शेयरधनीको खातामा पुगेपछि त्यो रकम उपभोग, लगानी वा अन्य आर्थिक गतिविधिमा प्रयोग हुन सक्छ। त्यसबाट बजारमा माग बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा राष्ट्र बैंकको छ। तर शेयर बजारमा लगानीकर्ताको प्राथमिकता भने फरक देखिन्छ। बोनस शेयर पाउँदा आफ्नो शेयर संख्या बढ्ने भएकाले लगानीकर्ताले त्यसलाई तत्कालै बढी आकर्षक ठान्ने गरेका छन्। नगद लाभांशमा भने खातामा पैसा आउँछ, तर कम्पनीमा लगानी गरेको शेयर संख्या बढ्दैन। यही मनोविज्ञानका कारण नगद लाभांश घोषणा गर्ने कम्पनीको शेयरमा बोनस लाभांश घोषणा गर्ने कम्पनीको जस्तो तत्काल खरिद चाप नआउने गरेको जानकारहरू बताउँछन्।

कामनाले देखाएको ‘पहिलो परीक्षण’

कामना सेवा विकास बैंकले यस वर्षको सबैभन्दा पहिले लाभांश घोषणा गरेर अर्को कारणले पनि बजारको ध्यान तानेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

अझ महत्त्वपूर्ण कुरा, बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत देखिन्छ। अर्थात् बैंकले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश उसको वितरणयोग्य मुनाफाको क्षमतासँग लगभग मेल खाने देखिन्छ। बैंकको इम्पेयरमेन्ट चार्ज पनि अघिल्लो वर्षको ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा आएको छ। यद्यपि खराब कर्जा भने ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ। यसरी हेर्दा बैंकको वित्तीय विवरणमा सुधारका धेरै सकारात्मक पक्ष छन्। नाफा बढेको छ, सञ्चालन मुनाफा बढेको छ, इम्पेयरमेन्ट घटेको छ र लाभांश वितरण गर्ने क्षमता बनेको छ। तर बजारले त्यसलाई शेयर मूल्यमा सकारात्मक रूपमा ग्रहण गरेन।

बोनस शेयर किन यति लोकप्रिय ?

नेपालको शेयर बजारमा बोनस शेयरप्रतिको आकर्षण लामो समयदेखि छ। यसको एउटा कारण शेयर संख्या बढ्नु हो। उदाहरणका लागि १० प्रतिशत बोनस शेयर घोषणा गर्ने कम्पनीमा १०० कित्ता शेयर भएका लगानीकर्ताको शेयर संख्या ११० कित्ता हुन्छ। नगद लाभांशमा भने शेयर संख्या उही रहन्छ। त्यसैले बजार बढ्ने अपेक्षा राखेका लगानीकर्ताले बोनसलाई बढी आकर्षक ठान्छन्।

अर्कोतर्फ बोनस शेयरले कम्पनीको पूँजी विस्तारमा समेत सहयोग गर्छ। तर बोनस शेयर आफैंमा ‘निःशुल्क सम्पत्ति’ भने होइन। बोनसपछि समायोजित मूल्यका कारण लगानीकर्ताको तत्काल सम्पत्ति स्वतः बढ्दैन।तर बजारको मनोविज्ञानमा यसको प्रभाव फरक छ। यही मनोविज्ञान परिवर्तन गर्न राष्ट्र बैंकले अहिले नगद लाभांशलाई प्राथमिकता दिन खोजेको देखिन्छ।

नगद लाभांश

अहिलेको अवस्था रोचक छ। राष्ट्र बैंक भन्छ—नगद बाहिर पठाऊ। कम्पनी भन्छ—नगद लाभांश दिन्छु। तर बजार भन्छ—त्यसको प्रतिक्रिया किन सकारात्मक हुन सकेन ? कामना सेवा विकास बैंकको शेयर मूल्यमा देखिएको पछिल्लो गिरावटलाई नगद लाभांशकै कारण भएको ठोस प्रमाणका रूपमा त लिन मिल्दैन। तर शेयर मूल्यमा बजारको समग्र अवस्था, आपूर्ति–माग, लगानीकर्ताको अपेक्षा, कम्पनीको मूल्यांकन र अन्य धेरै पक्षले प्रभावचाँही पार्छन्। तर नगद लाभांश घोषणा गरेको कम्पनीमा पनि तत्काल खरिद चाप नदेखिनुले नेपाली शेयर बजारको बोनसप्रतिको पुरानो मोह अझै बलियो रहेको संकेत भने गर्छ।

त्यसैले कामनाको १५ प्रतिशत नगद लाभांश अहिले एउटा कम्पनीको लाभांश घोषणामा मात्र सीमित छैन। यसले राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिको बजार मनोविज्ञानसँगको टकराव पनि देखाएको छ।

बजारको अर्को परीक्षा बाँकी

कामना सेवा विकास बैंकपछि अब अन्य बैंक तथा वित्तीय संस्थाले कस्तो लाभांश घोषणा गर्छन् भन्ने चासो छ।यदि धेरै संस्थाले नगद लाभांशलाई प्राथमिकता दिए र त्यसपछि पनि बजारमा उनीहरूको शेयरमा खरिद चाप नबढेमा राष्ट्र बैंकको नगद लाभांश प्रोत्साहन नीतिले बैंकिङ प्रणालीमा पैसा पठाउने उद्देश्य त पूरा गर्न सक्छ, तर शेयर बजारको मनोविज्ञान बदल्ने उद्देश्य भने तत्काल पूरा नहुन सक्छ।

अर्कोतर्फ कम्पनीहरूले नगदसँगै बोनसको मिश्रण रोजे भने लगानीकर्ताको प्रतिक्रिया फरक हुन सक्छ। यसकारण आगामी लाभांश सिजन नेपाली शेयर बजारका लागि केवल ‘कुन बैंकले कति प्रतिशत लाभांश दियो?’ भन्ने विषय रहने छैन। यो ‘लगानीकर्ताले कस्तो लाभांश चाहन्छन्?’ भन्ने प्रश्नको पनि परीक्षण हुनेछ।

अहिलेसम्मको संकेतले भने एउटा कुरा स्पष्ट देखाएको छ— राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन नगदलाई प्राथमिकता दिएको छ, तर नेपाली शेयर बजारको लगानीकर्ता अझै पनि बोनसको मोहबाट बाहिर निस्किसकेको छैन।

कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश र त्यसपछिको शेयर कारोबारले यही विरोधाभासलाई सतहमा ल्याइदिएको छ। बैंकले शेयरधनीको हातमा पैसा पुर्‍यायो, तर बजारको हातमा भने उत्साह पुर्‍याउन सकेन।