भदौ ९–१४ गतेसम्म नाडा अटो शो हुने, रोबोटदेखि नयाँ मोडलको लन्चसम्म यस्तो छ तयारी

Aug 19, 2026 12:45 PM Merolagani



नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने प्रदर्शनीको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स रहेको छ। नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोको १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागिएको हो।

करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा २३ वटा प्यासेन्जर कार तथा भेहिकल ब्रान्ड, १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्ड, १३ वटा दुईपांग्रे सवारीसाधन ब्रान्ड तथा १० वटा वित्तीय तथा बिमा सेवा प्रदायकको सहभागिता रहनेछ।

त्यस्तै, अटोमोबाइल पार्टपुर्जा, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स तथा ग्यारेज उपकरणलगायतका करिब ७० वटा स्टल रहनेछन्।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत स्वदेशी उत्पादनसमेत प्रदर्शन गरिनेछ। ‘मेड इन नेपालरमेड फर नेपाल’ पभिलियनमार्फत नेपाली उत्पादनलाई प्राथमिकता दिइने नाडाले जनाएको छ।

रोबोटदेखि नयाँ मोडलको लन्चसम्म

यस वर्षको अटो शोको मुख्य आकर्षणका रूपमा जी–१ ह्युमानोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट रहनेछन्। भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिबारे आगन्तुकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले यी प्रविधि प्रदर्शन गर्न लागिएको हो।

त्यस्तै, विभिन्न ब्रान्डका नयाँ सवारीसाधन सार्वजनिक गर्ने प्रोडक्ट लन्च, स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोजियमसमेत आयोजना गरिनेछ।

प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था तथा अटोमोबाइल कम्पोनेन्ट र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोन बनाइनेछ।

टिकटमा ५० प्रतिशत क्यासब्याक

आगन्तुकको सहजताका लागि टिकटको अग्रिम बुकिङ खुला गरिएको छ। खल्ती एपमार्फत टिकट खरिद गर्दा निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीस्थलमा मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य टोलीको व्यवस्था गरिनेछ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी तथा आगलागी नियन्त्रणको व्यवस्था पनि गरिने आयोजकको भनाइ छ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनअन्तर्गतको पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गरिनेछ।

नाडाले यस वर्षको प्रदर्शनीमा करिब २ लाख आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ। आयोजकले अटोमोबाइल व्यवसायी, उपभोक्ता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नयाँ प्रविधि, उत्पादन तथा बजारमा आएका सवारीसाधनबारे जानकारी लिन आग्रह गरेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।