ललितपुरको पाटनढोकास्थित यान्त्रिक तालिम केन्द्रमा कार्यरत नेपाल प्रशासन सेवा, लेखा समूहकी लेखापाल (रा.प. अनं. प्रथम श्रेणी) सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउन कार्यालयले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको हो । संकेत नं. १८९३१८ भएकी ज्ञवाली मिति २०८१-०९-०२ देखि आफ्नो कार्यस्थलमा कुनै जानकारी विना नै ९० दिनभन्दा बढी अवधिदेखि अनुपस्थित रहँदै आएकी छिन् ।
यसअघि मिति २०८३-०४-१२ गते १५ दिने सार्वजनिक सूचना प्रकाशन गरी सफाई पेश गर्न अवसर दिइएको भए तापनि उनले तोकिएको समयभित्र कुनै स्पष्टीकरण पेश नगरेको कार्यालयले जनाएको छ ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को १ (छ) को बर्खिलाप हुने गरी लामो समय अनुपस्थित रहेकाले उनलाई सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी किन सेवाबाट नहटाउने भन्दै यो अन्तिम मौका प्रदान गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र चित्तबुझ्दो सफाई वा स्पष्टीकरण पेश नगरेमा निजामती सेवा नियमावली, २०५० को नियम ११० (ख) बमोजिम उनलाई पदबाट हटाइने व्यहोरा सूचनामा उल्लेख छ । सम्बन्धित व्यक्तिले आफ्नो स्पष्टीकरण कार्यालयको इमेलमा समेत पठाउन सक्ने व्यवस्था गरिएको छ ।
