बाढीले बिगार्‍यो चाडपर्वको व्यापार योजना, दसैं खल्लो हुने, बजारमा महँगीको जोखिम

Aug 31, 2026 05:54 AM Merolagani



सुवास निरौला

दसैं–तिहार आउन अब धेरै समय बाँकी छैन। सामान्यतः यही बेला काठमाडौंका न्युरोड, भोटाहिटी, रञ्जना गल्लीदेखि देशभरका बजारमा चाडपर्वको किनमेल सुरु भइसक्थ्यो। 

व्यापारीहरू नयाँ सामानले पसल भरिरहेका हुन्थे, उपभोक्ता परिवारका लागि लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामान र घरायसी सामग्री किन्न बजार धाइरहेका हुन्थे। तर यसपटक चाडपर्वको मुखमै आएको रसुवाको भोटेकोशी बाढीले त्यो तयारीलाई नै बीचमै रोकिदिएको छ। बाढीले मानिसको ज्यान र घर–सम्पत्ति मात्र बगाएको छैन, चाडपर्वका लागि व्यवसायीले महिनौंअघि सुरु गरेको व्यापारिक तयारी, आयातको शृंखला र बजारको आपूर्ति प्रणालीलाई समेत धक्का दिएको छ।

रसुवागढी नाकाबाट नेपाल भित्रिँदै गरेका तथा भन्सार यार्डमा रोकिएका सयौं कन्टेनर बाढीमा परेका छन्। तीमध्ये ठूलो हिस्सा दसैं–तिहारलाई लक्षित गरेर चीनबाट मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, ब्याग, इलेक्ट्रोनिक्स, फलफूल तथा खाद्यान्न रहेको व्यवसायीहरूले बताएका छन्। हिमालय सीमापार वाणिज्य संघले रसुवा भन्सार यार्डमा रहेका करिब पाँच सय कन्टेनर बाढीले बगाएको अनुमान गरेको छ भने अन्य व्यवसायीले दुई–तीन सय कन्टेनर क्षति वा बेपत्ता भएको प्रारम्भिक अनुमान गरेका छन्।यो क्षतिको आकार अझै एकिन भएको छैन। तर एउटा कुरा स्पष्ट छ—यसपालिको चाडपर्वको बजारमा सामानको आपूर्ति सामान्य अवस्थामा जस्तो सहज नहुने जोखिम बढेको छ।

व्यवसायीहरूले दसैं–तिहारका लागि असार र साउनदेखि नै चीनमा सामान अर्डर गर्ने गर्छन्। यसपटक पनि त्यहीअनुसार सामान रसुवागढी हुँदै काठमाडौं ल्याउने तयारी थियो। त्यसमाथि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका तातोपानी लामो समयदेखि अवरुद्ध रहेकाले चीनबाट आउने ठूलो हिस्सा सामान रसुवागढीतर्फ केन्द्रित भएको थियो। वर्षाका कारण नेपालतर्फको सडकसमेत पटक–पटक अवरुद्ध हुँदा भन्सार यार्डमा सामान थुप्रिँदै गएको थियो। सडक खुलेपछि ती सामान क्रमशः काठमाडौं ल्याउने तयारी भइरहेका बेला बाढी आयो। यसको अर्थ, बाढीले बजारमा आउनै लागेका सामानलाई मात्र क्षति पुर्‍याएको होइन; व्यापारीले चाडपर्वको व्यापारका लागि गरेको लगानीको समय र कारोबारको चक्र नै भत्काइदिएको छ। काठमाडौंबाट सामान छुटाउन टिमुरे पुगेका व्यवसायी र ढुवानीकर्तामध्ये कतिपयसँग सम्पर्कसमेत हुन सकेको छैन। न्युरोडका एक व्यवसायीले आफ्नो करिब ७–८ लाख रुपैयाँको सामान भन्सार क्षेत्रमा रहेको बताए। तर  उनको चिन्ता सामानभन्दा त्यहाँ रहेका मानिसको सुरक्षालाई लिएर बढी छ। किनकी अझै बाढी प्रभावमा परेका व्यवसायी सम्पर्कमा आएका छैनन्। 

ऋण लिएर ल्याएको सामान बग्दा व्यवसायीमाथि अर्को भार

चाडपर्वको व्यापारका लागि ठूलो मात्रामा सामान आयात गर्न व्यवसायीले बैंक ऋण, उधारो तथा अन्य वित्तीय स्रोत प्रयोग गर्छन्। सामान नेपाल आइपुगेपछि दसैं–तिहारमा बिक्री गरेर लगानी फिर्ता गर्ने र ऋण तिर्ने उनीहरूको व्यापारिक चक्र हो।

अब सामान नै बाढीमा बगेपछि व्यवसायीको समस्या केवल सामानको क्षतिमा सीमित हुँदैन। बिक्री हुन नपाउँदै लगानी डुब्ने, बैंक तथा आपूर्तिकर्ताको दायित्व बाँकी रहने र अर्को सिजनको व्यापारका लागि नगद अभाव हुने जोखिम पनि थपिन्छ। व्यवसायीहरूका अनुसार धेरै आयातित सामानको पर्याप्त बिमा पनि नहुने भएकाले प्राकृतिक विपत्तिबाट भएको क्षति सबै व्यवसायीले सहजै बीमाबाट असुल गर्न सक्ने अवस्था छैन।

रसुवागढीमा बाढीले कन्टेनर र ट्रक मात्र बगाएको छैन। भन्सार एजेन्ट, चालक, सहचालक, लोड–अनलोड गर्ने मजदुर, ढुवानी व्यवसायी र स्थानीय व्यापार व्यवसाय सबै प्रभावित भएका छन्। यातायात व्यवसायीहरूले चार सयभन्दा बढी कन्टेनर तथा ट्रक बाढीमा परेको र त्यसमा संलग्न चालक, सहचालक, मजदुर तथा व्यवसायीसहित एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको बताएका छन्। अर्थात् रसुवागढी नाका बन्द हुनु भनेको एउटा भन्सार कार्यालय बन्द हुनु मात्र होइन। यसको असर आयातकर्ता, ढुवानीकर्ता, भन्सार एजेन्ट, गोदाम, थोक व्यापारी, खुद्रा पसल, उपभोक्ता सम्म पुग्ने आपूर्ति शृंखलामा परेको छ।

बजारमा सामानको अभाव भयो भने मूल्य बढ्न सक्छ

अब यसको अर्को असर आम उपभोक्ताले भोग्नुपर्ने हुन सक्छ। रसुवागढीबाट आउने सामानमध्ये चाडपर्वमा बढी खपत हुने तयारी पोसाक, जुत्ताचप्पल, ब्याग, विद्युतीय सामानका साथै लसुन, प्याज, अदुवा, फलफूललगायत वस्तु पनि छन्। बाढीले सामान नष्ट गरेको र नाका तथा सडकमा ठूलो क्षति पुगेका कारण नयाँ सामानको आपूर्ति तत्काल सहज हुने अवस्था छैन।

वाणिज्य तथा आपूर्ति क्षेत्रका विज्ञहरूले वैकल्पिक नाकाबाट सामान ल्याउन सकिए पनि ढुवानी लागत बढ्ने बताएका छन्। विशेषगरी कोरला नाकाबाट सामान ल्याउँदा रसुवा वा तातोपानीको तुलनामा ढुवानी खर्च निकै बढी पर्न सक्ने भएकाले त्यसको असर अन्ततः उपभोक्ताको मूल्यमा पर्न सक्ने उनीहरूको आकलन छ। यसको सामान्य अर्थ हो—व्यापारीको लागत बढ्यो भने बजार मूल्य बढ्न सक्छ। तर सरकारले विपद्को मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनुचित मूल्य बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु र औषधिको आपूर्ति सहज राख्न व्यवसायीलाई आग्रह गर्दै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। त्यसैले बाढीका कारण हुने वास्तविक लागत वृद्धि र विपद्को बहानामा गरिने कृत्रिम मूल्यवृद्धि छुट्याउनु सरकारको अर्को चुनौती हुनेछ।

उपभोक्ताको दसैं पनि प्रभावित हुन सक्छ

व्यवसायीको समस्या उपभोक्ताको समस्या बन्न धेरै समय लाग्दैन। दसैंमा नयाँ कपडा किन्ने, छोराछोरीका लागि जुत्ता–चप्पल किन्ने, घरमा विद्युतीय उपकरण थप्ने वा तिहारका लागि उपहार तथा अन्य सामान किन्ने योजना बनाएका परिवारले अब सामान पाइन्छ कि पाइँदैन, पाए कति मूल्य पर्छ भन्ने अर्को अनिश्चितता सामना गर्नुपर्ने हुन सक्छ।

विशेषगरी निश्चित बजेटमा चाडपर्वको किनमेल गर्ने मध्यम तथा न्यून आय भएका परिवारका लागि मूल्यमा हुने सामान्य वृद्धि पनि महत्त्वपूर्ण हुन्छ। चाडपर्वको खर्च पहिल्यै बढ्ने समयमा लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स र दैनिक उपभोग्य वस्तुको मूल्य थप बढेमा परिवारको बजेटमा सीधा दबाब पर्छ। यस अर्थमा रसुवाको बाढी रसुवाका व्यापारीको मात्र समस्या रहेन। यसको असर काठमाडौंका न्युरोड र भोटाहिटीका पसलदेखि गाउँका खुद्रा बजार र अन्ततः उपभोक्ताको भान्सासम्म पुग्न सक्छ।

वैकल्पिक बाटो छ, तर सस्तो छैन

रसुवागढी तत्काल सञ्चालनमा आउन नसके व्यवसायीले तातोपानी, कोरला वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ। तर वैकल्पिक मार्गबाट सामान ल्याउँदा समय र ढुवानी खर्च बढ्ने जोखिम छ। कोरला विकल्प भए पनि त्यसको लागत रसुवा वा तातोपानीभन्दा बढी पर्ने व्यापार विज्ञहरूको भनाइ छ। यसले सरकारलाई दुईवटा काम एकैपटक गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ—एकातिर बाढीग्रस्त व्यापारिक पूर्वाधार छिटो पुनःस्थापना गर्ने, अर्कोतिर चाडपर्वको बजारमा आवश्यक सामानको आपूर्ति नटुट्ने वैकल्पिक व्यवस्था मिलाउने।

दसैं–तिहार नेपाली अर्थतन्त्रमा उपभोग बढ्ने महत्त्वपूर्ण समय हो। यही समयमा बजारमा कारोबार बढ्छ, व्यापारीले वर्षभरको ठूलो हिस्सा बिक्री गर्छन्, ढुवानी व्यवसाय चलायमान हुन्छ र उपभोक्ताले बचत तथा आम्दानीको ठूलो हिस्सा खर्च गर्छन्। यसपटक भने चाडपर्वकै मुखमा व्यापारिक आपूर्ति प्रणालीमा ठूलो धक्का लागेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले रोयटर्ससँगको कुराकानीमा बाढीपछिको पुनर्निर्माणमा ४ देखि ५ अर्ब अमेरिकी डलर लाग्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरिसकेका छन्। उनले यो प्रारम्भिक अनुमान भएको र क्षति तथा नोक्सानीको मूल्यांकन भइरहेको बताएका छन्। यसले बाढीको आर्थिक क्षति कति ठूलो छ भन्ने एउटा तस्वीर दिन्छ। तर पुनर्निर्माणको खर्चबाहेक व्यापार, आपूर्ति, रोजगारी र उपभोगमा पर्ने अप्रत्यक्ष क्षति पनि अर्थतन्त्रले बेहोर्नुपर्ने देखिन्छ।

बाढीपछि खल्लो दसैंको जोखिम

रसुवाको बाढीले सबैभन्दा ठूलो क्षति मानवीय जीवनमा पुर्‍याएको छ। त्यसको तुलनामा व्यापारिक क्षति दोस्रो विषय हो। तर अब बाढीको आर्थिक असरलाई राहत र पुनर्निर्माणको लागतमा मात्र सीमित गरेर हेर्न मिल्दैन। चाडपर्वका लागि ल्याइएको सामान बग्नु भनेको व्यापारीको सामान बग्नु मात्र होइन—त्यसमा बैंकको ऋण, आयातकर्ताको लगानी, ढुवानीकर्ताको आम्दानी, मजदुरको रोजगारी र उपभोक्ताको चाडपर्वको खर्च जोडिएको हुन्छ।

त्यसैले यसपटकको दसैं–तिहारको बजार कस्तो हुन्छ भन्ने कुरा केवल उपभोक्ताको किनमेलको इच्छाले निर्धारण गर्ने छैन। रसुवागढी नाका कति छिटो पुनःस्थापित हुन्छ, वैकल्पिक नाकाबाट आपूर्ति कति सहज हुन्छ, ढुवानी लागत कति बढ्छ र सरकारले बजारमा कृत्रिम अभाव तथा मूल्यवृद्धि रोक्न कति प्रभावकारी कदम चाल्छ—यसैमा चाडपर्वको बजारको अवस्था निर्भर हुनेछ।अहिलेको संकेत भने उत्साहजनक छैन। बाढीले चाडपर्वको व्यापार योजना बिगारिसकेको छ, अब त्यसको भार बजार हुँदै उपभोक्ताको घरसम्म कति पुग्छ भन्ने मात्र हेर्न बाँकी छ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।