भोटेकोशी बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन, रसुवा र नुवाकोटमा १०–१०

Aug 30, 2026 04:56 PM Merolagani



रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका २० थान फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ।

सामान्य टेलिकम नेटवर्क नटिप्ने दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा समेत स्याटेलाइटको माध्यमबाट फोन र एसएमएस सेवा लिन सकिने भएकाले स्याटेलाइट फोनलाई महत्वपूर्ण सञ्चार उपकरणका रूपमा लिइन्छ।

विपद्का कारण नियमित दूरसञ्चार सेवा अवरुद्ध भएका बेला उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय र सम्बन्धित टोलीबीच सञ्चार सम्पर्क कायम राख्न यी फोन उपयोगी हुने अपेक्षा गरिएको छ।

स्याटेलाइट फोनको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

विशेषगरी भोटेकोशी बाढीका कारण सडक तथा नियमित सञ्चार संरचनामा क्षति पुगेका क्षेत्रहरूमा उद्धार टोलीबीच सूचना आदान–प्रदानलाई सहज बनाउन स्याटेलाइट फोनको प्रयोग महत्त्वपूर्ण हुने देखिएको छ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।