हाल सञ्चालनमा रहेका र निर्माणाधीन गरि १४ जलविद्युत् आयोजनाहरुका कुल ९०१ मेगावाट क्षमतामा क्षति पुगेको छ। अर्थतन्त्रमा मात्र २ खर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ। यो सबै बिपत्तिहरुको खबर पढ्दै गर्दा लगानीकर्ताहरुलाई अर्को ठुलो चिन्ताको बिषय छ अब शेयर बजार चाहि के हुन्छ ?
नेपालको लागि यो पहिलो घटना होइन। यो बाहेक नेपालले पछिल्लो एक दशकमा मात्र यस्ता ६ ठूला प्राकृतिक प्रहारहरुको सामाना गरिसकेको छ। यसले जनधनको क्षतिसँगै देशको पुँजीबजार र अर्थतन्त्रमा पनि ठुलो धक्का दिएको छ । यस्ता किसिममा प्रकोपहरुले मानबिय क्षतिसँगै ठुला योजना र संरचनामा ठुलो क्षति पुर्याउने भएकोले यसको ठुलो मूल्य हाइड्रो र निर्जीवन बिमा हुँदै समग्र नेप्सेले बहन गर्नु परेको छ । यसको कस्तो प्रभाव परेको थियो र तिनीहरुलाई उठ्न कतिको धौ-धौ परेको थियो त्यसलाई यस अघिका ६ घटनाहरुको आधारमा विश्लेषण गरेर हेरौं ।
विपत्तिको क्रूर प्रहार र बजारले देखाएको रहस्य
१) २०७२ को महाभूकम्प (१२ वैशाख २०७२)
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको महाभूकम्प यो दशक कै सबैभन्दा ठुलो बिपत थियो। उक्त भूकम्पमा देशभर करिब ९,००० जना मानिसको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भए। यस महाविपत्तिले देशको करिब ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको कुल सम्पत्ति नष्ट गर्यो। जलविद्युत क्षेत्रका लागि त झनै ठूलो धक्का थियो यसले एकैपटक करिब १५० मेगावाटभन्दा बढी विद्युत उत्पादन पूर्ण रूपमा ठप्प हुन पार्दियो।
महाभूकम्पको अघिल्लो दिन ९३८ अंकमा रहेको नेप्से भूकम्प पछि ४ कारोबार दिन मै १०० अंक अर्थात ११ प्रतिशत घटेर ८३८ सम्म पुग्यो। त्यसपछि ९ कारोबार दिनमा १५ प्रतिशत बढेर ९६७ अंकमा पुग्दै सबै घाटा रिकभर गर्दियो र बजारको बुलको सुरुवात भयो। त्यो बुलले १ बर्षको अन्तरालमा १२५ प्रतिशतले बढेर १८८८ सम्मको यात्रा तय गरेको थियो ।
सो महाभूकम्पको त्रासमा हाइड्रो लगभग १६ प्रतिशत घट्यो र त्यसको ९ कारोबार दिनमा २१ प्रतिशतले बढेर घाटा पूर्ति गर्न सक्यो। बुलको समाप्ति सम्म नेप्से १२५ प्रतिशतले १८८८ उच्च बिन्दु बनाउँदा हाइड्रो केवल ५० प्रतिशत मात्र बढ्न पुग्यो। यो समयमा निर्जीवन बिमा छुट्टै समूहको रुपमा कारोबार भइसकेको थिएन ।
२) तराई बाढी (२६–३० साउन २०७४)
महाभूकम्पको २ बर्ष पछि २०७४ साउन २६ देखि ३० गतेसम्म तराई र देशव्यापी रूपमा आएको भिषण बाढीले ३० भन्दा बढी जिल्लामा १३५ जनाभन्दा बढीको ज्यान लियो र करिब ८६ अर्ब रुपैयाँको आर्थिक क्षति पुर्यायो। सो समय बजार १८८८ मा बुलको टुप्पो लागेर बियरिसमा गइसकेको थियो।
बाढी जानु अघिल्लो दिन १६५३ मा बन्द भएको बजार बाढी पछि लगातार २० कारोबार दिन बजार झन्डै २४ प्रतिशतले घटेर १४९३ मा आइपुग्यो। रिकभर गर्ने प्रयास गरे पनि सफल हुन् सकेन र बजारको बियरिस यात्रा जारि नै रह्यो र ११०० को बिन्दुमा आएर मात्र आफ्नो बियारिश यात्रा पुरा गर्यो।
यो रिकभर गर्न बजारलाइ झन्डै २.५ बर्ष लामो समय लाग्यो।
हाइड्रो सेक्टर भने २० कारोबार दिनमा केवल ९ प्रतिशत मात्र घट्न पुग्यो। अर्को २० कारोबार दिनमा ९ प्रतिशतले नै बढेर बाढी आउनु अगाडिकै अवस्था भन्दा पनि माथि फर्कियो। यो समयसम्म पनि निर्जीवन बिमा छुट्टै समूहको रुपमा कारोबार भइसकेको थिएन ।
३) मेलम्ची–हेलम्बु बाढी (१ असार २०७८)
२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले अर्को अकल्पनीय विनाश ल्यायो। यस बाढीमा २५ भन्दा बढी मानिसले ज्यान गुमाए भने करिब ६० अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भयो। यस विपत्तिले हेलम्बु-मेलम्ची करिडोरका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरूलाई पूर्ण वा आंशिक क्षति पुर्यायो।
सो समय बजार चरम बुलमा थियो। बाढी आउनु अघिल्लो दिन बजार ३००० माथि नै थियो। बाढी पछि नेप्से १७ कारोबार दिन मै ८ प्रतिशतले घटेर २८०० बिन्दुमा आइपग्यो र त्यसपछि केवल ८ कारोबार दिनमा नै रिकभर गर्न सफल भयो। त्यसको २८ कारोबार दिन भित्र बजार ३२०० को बिन्दुमा पुगेर आफ्नो बुल यात्रा पुरा गरेको थियो।
हाइड्रो सेक्टर बाढी पछि १७ कारोबार दिनमा १७ प्रतिशतले घटेर २६७६ बिन्दु सम्म आइपुग्यो। १० कारोबार दिनमा २१ प्रतिशतले बढेर हाइड्रो बाढी अघि कै स्थितिमा फर्किन सफल भयो।
यो बाढीको समयमा निर्जीवन बिमा सेक्टर आफ्नो अहिले सम्म कै उच्छा बिन्दु १६४८७ बिन्दुमा थियो। १७ कारोबार दिनमा १०.५ प्रतिशतले घट्न पुग्यो र अहिलेसम्म पनि पहिलेको आफ्नो उच्च बिन्दु माथि बस्न सकेको छैन। सानो तिनो पुलब्याक दिएपनि २ बर्ष अबधिमा यो सेक्टर ५० प्रतिशत भन्दा धेरैले तल झर्यो।
४) कोशी बाढी पहिरो (०८० असार)
२०८० असारमा पूर्वी नेपालको कोशी प्रदेशमा आएको बाढीले सुपर हेवा, हेवा ए, माईवा, इङ्गुवा लगायतका आयोजनाहरूमा गम्भीर क्षति पुर्यायो। १८ जना मजदुर तथा कर्मचारीहरू बाढीले बगाएर बेपत्ता भए भने जलविद्युत क्षेत्रमा मात्र ९ अर्ब बढीको भौतिक पूर्वाधार नष्ट भयो।
५) जाजरकोट भूकम्प (१७ कात्तिक २०८०)
सोही वर्षको कात्तिक १७ गते जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान लियो र १५ देखि १८ अर्ब रुपैयाँको क्षति गर्यो, जसले केहि स्थानीय लघु-जलविद्युत आयोजनाहरूलाई नराम्ररी प्रभावित गर्यो।
कोशी बाढी देखि जाजरकोट भूकम्पसम्म बजार १८०० देखि २२०० बिन्दुको पुरै साइडवेज खेलिरहेको थियो। कोशी बाढी अघि २०४२ को बिन्दुमा रहेको नेप्से कोशी बाढी १ महिना भित्र नै ९ प्रतिशत बढेर २२२७ को बिन्दुमा पुग्यो। यो साइडवेयजको माथिल्लो बिन्दु २२०० लाइ टेस्ट गरेर बजार घट्दो क्रममा गयो । बजार घट्दै १७ कत्तिक २०८० मा जाजरकोट भूकम्प जानु अघिल्लो दिन नेप्से १८४५ को बिन्दुमा बन्द भएको थियो । भूकम्प पछि खुलेको पहिलो कारोबार एक दिन मात्र बजार घटेर १८२६ बिन्दुमा आइपुग्यो । यहि बिन्दु नै यो साइडवेजको अन्तिम तल्लो बिन्दु रहन पुग्यो र अहिलेसम्म त्यसलाई बजारले फेर्केर पनि हेर्न परेको छैन। त्यसको एक महिना भित्र नै बजार फेरि २२०० आसपास पुग्न सफल भयो।
कोशी बाढी पहिरो पछि हाइड्रो सेक्टरले ठुलो मुल्य चुकाउनु पर्यो। कोशी बाढी पछी घट्न सुरु गरेको हाइड्रो जाजरकोट भूकम्पको दिनसम्म पनि लगातार घटी नै रहयो। सो समय सम्म झन्डै २८ प्रतिशतले घटेको हाइड्रो भूकम्पपछि भने बढ्न थाल्यो। भूकम्पपछि लगातार ४२ कारोबार दिनसम्म ४४ प्रतिशतले बढेर हाइड्रो सेक्टर कोशी अगाडिको अवस्था भन्दा पनि माथि पुग्न सफल भयो।
निर्जीवन बिमा समूह जाजरकोट भूकम्पसम्म आइपुग्दा २० प्रतिशतले घटिसकेको थियो। भूकम्प पछि तिब्र गतिमा बढ्न सुरु गरेको निर्जीवन बिमा समूह ५३ प्रतिशतले माथि लाग्दै पहिलेको आफ्नो उच्च बिन्दु आसपास पुग्न त सफल भयो तर त्यसलाई त्यसलाई तोड्ने अर्को प्रयास गर्दा गर्दै अर्को प्रकोप आइलाग्यो: बागमती प्रदेशको भिषण बाढी
६) बागमती र काठमाडौँ भीषण बाढी (११–१२ असोज २०८१)
यी सबै विपत्तिहरूमध्ये जलविद्युत र निर्जीवन बिमा क्षेत्रका लागि सबैभन्दा महँगो विपत्ति भने २०८१ असोज ११ र १२ गते आएको बाढी-पहिरो थियो। भारी वर्षाका कारण काभ्रे, ललितपुर, धादिङ, र काठमाडौं उपत्यका लगायतका जिल्लामा २४२ जनाभन्दा बढीले ज्यान गुमाए भने करिब ४६ अर्ब ५० करोड रुपैयाँको आर्थिक क्षति भयो। यस बाढीले कम्तीमा २० वटा जलविद्युत आयोजनाहरूमा क्षति पुर्यायो र १,१७७ मेगावाटभन्दा बढी विद्युत उत्पादन प्रणालीबाट बाहिरियो। बाढीले करिब २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रत्यक्ष संरचनात्मक क्षति पुर्याएको थियो। मनसुनको समयमा दैनिक ५०० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात गरिरहेको अवस्थाको बिपरित यस बाढीको कारणले नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ३०० मेगावाट बिजुली आयात गरेर प्रणाली धान्नुपर्ने अवस्था आयो।
१८०० देखि २२०० को साइडवेयज ब्रेक गरेर बजार ३००० बिन्दुको अर्को टप लगाईसकेपछि बजार करेक्सन मुडमा थियो। भिषण बाढी आउनु अघिल्लो दिन असोज १० गते बजार २४८६ बिन्दुमा बन्द भएको थियो। असोज ११ मा खुलेको बजार १ प्रतिशतले घटेर २४६४ सम्म आइपुगे पनि त्यसपछि लगातार बढ्न थाल्यो। अहिले सम्म पनि यो माथिल्लो साइडवेयजको तल्लो बिन्दु तल बजार गएको छैन। १० कारोबार दिन मै बजार ११ प्रतिशतले बढेर २७४५ सम्म पुग्यो। अहिलेसम्म बजार यहि ३००० देखि २४६५ कै रेन्जमा खेलिरहेको छ।
यो समयमा हाइड्रो सेक्टरको चाल झनै अचम्म को छ। सबै भन्दा धेरै क्ष्यति भोगेको हाइड्रो सेक्टर लगातार बढेर पहिलो पटक आफ्नो उच्च बिन्दु तोड्न सफल भयो र इतिहास रच्यो। ९३ कारोबार दिनमा ३२ प्रतिशतले बढेर यो भन्दा अगाडिको आफ्नो उच्च बिन्दु ३८७५ माथि बस्न सफल भयो। त्यसपछि हाइड्रोले दुइ पटकसम्म आफ्नै रेकर्ड तोडिसकेको छ।
यो बेला निर्जीवन बिमा समुह पनि २४ कारोबार दिन सम्म खासै घट्न मानेको थिएन । जेनजी आन्दोलन सम्म साइडवेयज मै रहेको यो समूह त्यसपछि २४ प्रतिशतसम्म घट्यो। अहिले यो समूह कोशी बाढीको बेला भन्दा तल र जाजरकोट भूकम्पको बेलाकै अवस्थामा आइसकेको छ।
बजारको दिशा प्रकोपले होइन, 'मार्केट ट्रेन्ड' ले तय गर्छ:
ति सबै घटनाहरुमा भएको जनधनको क्षतिको आधारमा बजारको प्रतिक्रिया हेर्ने हो भने सबैमा त्यति निरासजनक देखिदैन। घटना पछिको बजारको दिशालाई समग्र बजारको सो समय के कस्तो अबस्थामा थियो त्यसले निर्धारण गरेको छ । तर सबै अवस्थाको बजारको ट्रेन्ड हेर्दा ३० कारोबार दिन भित्रै रिकभर गरेको देखिन्छ । त्यसैले “विपत्ति आयो, बजार ढल्यो” भन्ने निष्कर्षलाई बिगतका तथ्यांकहरुले स्वीकार गर्दैन।
यी छ वटै घटनामा नेप्से, हाइड्रो र निर्जीबन बीमा सूचकांक घटनाको दिन र त्यसको ३० कारोबार दिनको प्रगतिलाइ विश्लेषण गर्छौ भने प्रायजसोमा घटना अघिको बिन्दु भन्दा माथि नै बस्न सफल भएका छन् । तुलनात्मक रुपमा भने सबै भन्दा ठुलो मूल्य चाहिँ निर्जीवन बिमा समूहले चुकाउनु परेको छ ।
तलको तालिकामा प्रकोपपछि ३० कारोबार दिनमा सूचांकहरु अधिकतम कति घट्यो र त्यसपछि रिकभर गर्न कति समय लागेको थियो भनेर देखाइएको छ। यो तथ्याङ्कले के देखाउँछ भने विपत्तिको सबैभन्दा ठूलो मनोवैज्ञानिक त्रास बजार खुलेको पहिलो १ देखि ४ कारोबार दिनभित्रै देखियो। त्यसपछि बजारले सानो वा ठुलो रिकभरी दिएकै छ। नेप्सेसँगै हाइड्रो र निर्जीबन बिमा सेक्टरले ९ देखि १३ दिनभित्रै आक्रामक बाउन्स ब्याक आएको देखिन्छ। बजार बुलिशमा हुँदा छिटो र ठुलो रिकभरी तर साइडवेयज र बियारिसमा हुँदा लामो समय लगाएको छ।

(भूकम्पपछि बजार लामो समय बन्द रहेकोले त्यसपछि खुलेको बजारलाइ लिएको छ ।)
महाभूकम्पको समयमा बजार चरम बियारिश पछि बुलिश चरणमा लाग्ने तरखरमा थियो। यसकारण पनि बजारले छोटो समयमा करेक्सन र रिकभरी गरेको देखिन्छ। तराई बाढीको समयमा जब बजार बियरिस ट्रेन्डमा थियो तब करेक्सनले लामो समय लगाएको थियो भने रिकभरी पनि अत्यन्तै सुस्त रह्यो। तर बजार बुलिश ट्रेन्डमा हुँदा मेलम्ची बाढीको ठूलो क्षतिको बाबजुद पनि नेप्सेले १३ दिनमै २०.४९ प्रतिशतको छलाङ मार्न सफल भयो। साइडवेज ट्रेन्डमा पनि बजारले तत्कालै प्रतिक्रिया दिने र छोटो समयमै आक्रामक बाउन्स ब्याक गर्ने प्रवृत्ति देखाएको छ। कोशी बाढी-पहिरोको समयमा त नेप्से घटेकै थिएन, उल्टै सकारात्मक लयमा थियो। पुँजी बजार भावना र भविष्यको अपेक्षामा चल्ने खेल हो। जब बाढीले कुनै हाइड्रो बगाउँछ वा भूकम्पले त्यसको ड्याम भत्काउँछ, त्यसको असर तत्कालै पुँजी बजारमा देखापर्छ। यो केवल एक सरल बुझाइ मात्र हो। के बजारले पनि भिडले जे बुझिरहेको छ त्यसैलाई मात्र सत्य मान्छ त ? यहि बेला सुरु हुन्छ डरको खेती ।
डरको खेती: भिड र स्मार्ट मनिको भिडन्त
यस किसिमको घटनामा लगानीकर्ताको मनोविज्ञान बुझ्न कुनै ठूलो अर्थशास्त्र चाहिँदैन। जब भिडले आफुसंग भएको हाइड्रो कम्पनी बाढीले बगाइरहेको समाचार पढ्छ उसको दिमागमा यस्ता विश्लेषणहरु चल्न थाल्छन : अब यो कम्पनिको बिजुली उत्पादन बन्द भयो, उसको आम्दानी ठप्प भयो, बैंकको किस्ता र ब्याजले यो कम्पनी मात्र होइन मलाई पनि डुबाउँछ ।
बीमा कम्पनीको शेयर होल्डरको दिमागमा पनि यस्तै खालका प्रश्नहरु आउन थाल्छ: यत्रो दाबी एकैचोटि आउँदा कम्पनीको नाफा र नगद-प्रवाह कतिले खुम्चेला ? पुनार्बिमाले यसको कति हिस्सा तिर्छ, र कति हिस्सा सोहि कम्पनीले नै धान्नुपर्ने हो ? यस्तो अनिश्चिततामा बस्न सक्दैन "जति घाटा भए पनि निस्किन्छु" भन्दै शेयर बेचिदिन्छ। जसले गर्दा समाचार पछिको छोटो समय बजारमा तीव्र गिरावट देखिन्छ ।
सोहि समय भिड जुन कुरा देख्न नसकेर अन्योलमा परेको थियो, स्मार्ट मनिले सबै कुराको आकलन गर्छ। भिडको विश्लेषण जहाँबाट सकिन्छ स्मार्ट मनिको विश्लेषण त्यहिँबाट सुरु हुन्छ। हाइड्रो कम्पनीमा स्मार्ट मनिको प्रश्न हुन्छ: बीमाले हाइड्रोको क्षतिपूर्ति कति र त्यो तिर्न कति समय लगाउँछ, र फेरि सञ्चालन सुरु हुन कति समय लाग्छ?
बीमा कम्पनीको बिषयमा पनि आम लगानीकर्ताको भन्दा उनीहरूको प्रश्न ठ्याक्कै उल्टो हुन्छ: यो कम्पनीको पुनर्बीमा-सम्झौता कति बलियो छ, र दाबी-भारको कति हिस्सा वास्तवमै आफ्नै काँधमा बाँकी रहन्छ? यी प्रश्नको उत्तर सकारात्मक देखिएमा, मूल्य पहिल्यै धेरै तल झरिसकेकाले जोखिम-प्रतिफलको हिसाब आकर्षक बन्छ। ति कम्पनीहरुले जति जोखिम बहन गर्नु पर्ने हो सोहि बराबरको बजारले डिस्काउन्ट गरिसकेको छ कि छैन त्यसलाई विश्लेषण गरेर मात्र निर्णय लिन्छन। आम लगानीकर्ता त्रासमा बेच्दै गर्दा ठूलो पुँजी भएका खेलाडी बिस्तारै भित्र्याइरहेका हुन्छन्। यो स्मार्ट मनिको लागि सस्तोमा एकैपटक धेरै कित्ता किन्ने राम्रो अवसर हुनसक्छ।
बजारलाई सबै थाहा हुन्छ भने यसले भविष्य पनि देख्छ ?
करिब एक शताब्दी अगाडि "द वाल स्ट्रिट जर्नल" का संस्थापक चार्ल्स डाउले पुँजी बजारको चाल बुझ्न प्रतिपादन गरेको सिद्धान्तमध्ये सबैभन्दा चर्चित मान्यता हो, "बजारले सबै कुरालाई डिस्काउन्ट गर्छ" । सरल भन्नु पर्दा, कुनै पनि शेयरको मूल्यमा त्यो कम्पनीको विगतको नाफा र वर्तमानको अवस्था मात्र होइन, त्यसलाई असर पार्न सक्ने ब्याजदर, तरलता, राजनीतिक जोखिम, र लगानीकर्ताको लोभ-त्रास समेत पहिल्यै नै समायोजन गरिसकेको हुन्छ। घटना घटेपछि बजारले त्यसको सम्भावित आर्थिक असरलाई निकै छिटो डिस्काउन्ट गर्दछ।
यही कारण नकारात्मक समाचार प्रायः बजारको बटम नजिकै आउँछ, र समाचार आएकै दिन तीव्र गिरावट देखिन्छ। समाचार आउनासाथ लगानीकर्ताको दिमागले आगामी महिनाहरूको सम्भावित नोक्सानी एकैचोटी आजकै मूल्यमा घटाइदिन्छ। समाचार सार्वजनिक भइसकेपछि नयाँ नकारात्मक सूचना कम बाँकी रहन्छ, त्यसैले पहिलो झट्कापछि बिक्रीको दबाब आफैं थाक्छ र बजार स्थिर हुँदै रिकभरीतर्फ लाग्छ। र यही बिन्दु हो जहाँ अब अर्को नयाँ नकारात्मक समाचार आउन बाँकी हुँदैन र ठूलो पुँजी प्रवेशको लागि उत्तम समय बन्छ। बजारले कहिले पनि भूत र वर्तमानलाई हेर्दैन, केवल भविष्यलाई हेर्छ। यही कारणले नै ठूला-ठूला घटनापछि बजारले रिकभरी गरेको इतिहास छ।
नेप्सेले भोलि कुन स्थानलाई केन्द्रबिन्दु बनाएर कति रेक्टर स्केलको भूकम्प आउँदै छ वा कुन महिनामा कति ठुलो बाढी पहिरो आउन सक्छ वा भनौ देशका युवाहरुले जेनजी आन्दोलन गर्दैछन भनेर पहिल्यै थाहा पाउँदैन तर बजार भनेको हजारौं लगानीकर्ताको सामूहिक निर्णय, उनीहरूको सूचना, अनुभव, डर र लोभको जोड हो । बजारले केहि न केहि रहस्य भन्न खोजिरहेको हुन्छ । बजारले विपत्तिलाई मात्र हेर्दैन, सो समयमा बजार प्रति लगानीकर्ताको आत्मबिश्वास, समग्र बजारको ट्रेन्ड, त्यो विपत्तिको फैलावट, कम्पनीको जोखिम, बजारको आफ्नै आधार-स्तर, ब्याजदर र तरलतालाई एकसाथ सबैलाई जोखेर मूल्य निर्धारण गर्छ।
बजारले भत्किएको आजलाई धेरै बेर हेरेर बस्दैन, बन्दै गरेको भोलिको मूल्य तोक्न आजै व्यस्त हुन्छ। यहि कारण होला माथि उल्लेखित सबै घटनाहरु अघि बजारको छोटो समयको ट्रेन्ड हेर्छौ भने पनि बजार घट्दो ट्रेन्ड मै देख्न सक्छौ।
एउटा कुरा हामीले यो बिर्सनु हुदैन
प्राकृतिक विपत्तिहरुले देशको भौतिक संरचना भत्काउँछ, अर्थतन्त्र तहस नहस बनाउछ तर बजारले ति सबै परस्थितिहरुलाई भविष्यको अपेक्षा मूल्यलाई आजै देख्छ ।
लेखक शेयर बजार विश्लेषक तथा लगानीकर्ता हुन