कृष्णभीरको पहिरो रोक्न तत्काल ट्र्याक खोलिने, दीर्घकालीन समाधानका लागि सुरुङमार्गको अध्ययन हुने

Sep 02, 2026 11:40 AM Merolagani



अविरल वर्षा र बाढीपछिको पहिरोका कारण क्षतविक्षत बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डलाई सुचारु गर्न र यसको दीर्घकालीन समाधान खोज्न सरकारले विशेष कदम चाल्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बसेको बैठकले राजधानी काठमाडौँलाई जोड्ने प्रमुख आपूर्ति शृङ्खला पुनःस्थापना गर्न तत्काल र दीर्घकालीन कार्ययोजना स्वीकृत गरेको हो।

मन्त्रालयद्वारा जारी प्रेस नोट अनुसार, कृष्णभीरको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल ग्याबियन ब्रेस्ट वालको माथिबाट सवारीसाधन चल्न मिल्ने गरी आवश्यक संरचना निर्माण गरिनेछ। ट्र्याक खोल्ने कार्यसँगै पहिरो नियन्त्रणका लागि सेक्रिफिसियल ग्याबियन बक्स राख्ने र हिलसाइडका ठूला ढुङ्गा (बोल्डर) हरूलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य तत्काल सुरु गरिने भएको छ।

दीर्घकालीन समाधानमा सुरुङ मार्गको चर्चा

वर्षौँदेखि दुख दिइरहेको कृष्णभीरको पहिरोलाई स्थायी रूपमा समाधान गर्न सरकारले विभिन्न विकल्पहरूमा अध्ययन गर्ने निर्णय गरेको छ। सडक विभागले यस क्षेत्रमा सुरुङ मार्ग सोइल नेलिङ वा सिट पाइलमध्ये कुन विकल्प उपयुक्त हुन्छ भन्नेबारे प्राविधिक अध्ययन अघि बढाउनेछ।

यस्तै, कृष्णभीरको विकल्पमा नयाँ 'बाइपास' सडक वा सुरुङ मार्ग निर्माणका लागि सम्भावित विकल्पहरूको अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडकको व्यवस्था गर्ने लक्ष्य राखिएको छ।

विज्ञ टोलीको सहयोग लिइने

यस जटिल भू(बनोटको अध्ययन र समाधानका लागि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको सेवा लिइने भएको छ। सोसाइटीले आवश्यक प्राविधिक परामर्श उपलब्ध गराउने र यसका लागि सडक विभागसँग छिट्टै समझदारीपत्र (एमाओयू) मा हस्ताक्षर गरिने मन्त्रालयले जनाएको छ।

बाढीका कारण सडक र पुलमा मात्रै ३० अर्बभन्दा बढीको क्षति पुगेको पृष्ठभूमिमा कृष्णभीर जस्तो रणनीतिक महत्त्वको क्षेत्रमा सरकारले चालेको यो कदमलाई निकै महत्त्वका साथ हेरिएको छ। यो निर्णयसँगै अवरुद्ध पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने र राजधानीमा खाद्यान्न तथा इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।