भारतको विद्युत् मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो।
भारतीय प्रेस सूचना ब्युरो (पिआइबी)का अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म मुजफ्फरपुर–ढल्केबर ४ सय केभी प्रसारणलाइनबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १ सय ३२ केभी लाइनबाट ५४ मेगावाटसम्म विद्युत् उपलब्ध हुनेछ। साँझ ६ बजेदेखि मध्यरातसम्मको पिक आवरमा भने विद्युत् आपूर्ति हुने छैन।
अहिले नेपालले भारतमा दैनिक औसत ८ सय मेगावाट विद्युत् निर्यात गरिरहेको छ। तर, बाढीका कारण ४ सय ३१ मेगावाट क्षमताका १२ आयोजना बन्द भएकाले आगामी हिउँदमा नेपालले छिट्टै विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले नेपाल आयातभन्दा निर्यातकै अवस्थामा रहेकाले भारतको स्वीकृति तत्काल ठूलो परिमाणमा प्रयोग नहुन सक्छ। तर, विद्युत् आयोजना वा प्रसारणलाइनमा आकस्मिक समस्या आएमा यसले प्रणालीलाई भरपर्दो बनाउन सहयोग गर्नेछ।
यसैबीच, बाढीका कारण स्रोत आयोजना बन्द भएपछि बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि रोकिएको छ। प्राधिकरणले काबेली बी–१ र ठुलो खोला आयोजनालाई नयाँ स्रोत देखाएर भारतसँग निर्यात अनुमति मागेको भए पनि अहिलेसम्म स्वीकृति प्राप्त भएको छैन। प्राधिकरणले भने छिट्टै सहमति आउने अपेक्षा गरेको छ।