भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे। उनले विपद्का कारण नेपाली नागरिकका साथै विदेशी नागरिकसमेत प्रभावित भएको बताए।
जलवायु परिवर्तनको असरस्वरूप यस्तो विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुजन्य जोखिम न्यूनीकरण र प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य एवं सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। यसैगरी, नेपालको पर्यटन सम्भावनाको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने भन्दै उनले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताए।
सो अवसरमा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको पूर्ण ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।