आगामी माघ ३, ४ र ५ गते हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुँदै

Sep 17, 2026 03:50 PM Merolagani



नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी २०८३ माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना हुन लागेको हो ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल भन्ने नारासहित आयोजना हुने एक्स्पो इप्पानको स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको हो । यो सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएका संस्करणको निरन्तरता तथा पाँचौँ संस्करण हुनेछ ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको अवस्थामा सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । उक्त लक्ष्य घरेलु विद्युत् माग पूरा गर्न मात्रै नभई औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग समेत जोडिएको छ ।

इप्पानका अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका आयोजनामध्ये निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ । हाल करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी पीपीएका लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन् ।

३० हजार मेगावाटको लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, विद्युत् खपत वृद्धि, औद्योगिक विद्युतीकरण, ऊर्जा भण्डारण, विद्युतीय सवारी र अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक रहेको आयोजकको भनाइ छ । यिनै विषयमा आवश्यक लगानी, प्रविधि, बजार, नीति तथा साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको हो ।

ऊर्जा क्षेत्रको विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिमसमेत बढ्दै गएको आयोजकले जनाएको छ । पछिल्ला वर्षमा विभिन्न नदी तथा जलाधार क्षेत्रमा आएका बाढी, पहिरो र गेग्रान बहावका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेको भन्दै एक्स्पोमा जलवायु–उत्थानशील ऊर्जा पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान गरिनेछ ।

एक्स्पो यसपटक जलविद्युत्मा मात्रै केन्द्रित नहुने आयोजकले जनाएको छ । सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलाई समेत समेटेर ‘एकीकृत हरित ऊर्जा बजार’ को अवधारणालाई अघि बढाइनेछ ।

एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, सरकारी तथा नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा ज्ञान आदानप्रदानका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

एक्स्पोका प्रमुख आकर्षणका रूपमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ ।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ । विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धासमेत आयोजना गरिनेछ ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने तथा तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

इप्पानले नेपालको ऊर्जा क्षेत्रको उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पोलाई वार्षिक ऊर्जा इभेन्टका रूपमा अघि बढाउने जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ । स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट्स सोलुसन प्रालिमा सम्पर्क गर्न आग्रह गरिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।