नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा जारी ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित व्यवस्थाअनुसार ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ तयार गरी सरोकारवाला र आम लगानीकर्ताको राय–सुझावका लागि खुला गरिएको हो। हाल नेपालको शेयर बजार पूर्णतया डेलिभरीमा आधारित (Delivery-Based Trading) प्रणालीमा सञ्चालित रहेको छ, जहाँ शेयर खरिद गरेपछि तोकिएको राफसाफ तथा फछ्र्यौट चक्र (T+2) पछि मात्र वास्तविक स्वामित्व हस्तान्तरण हुने गर्दछ। अन्तरदिवसीय कारोबार कार्यान्वयनमा आएपछि लगानीकर्ताले एउटै कारोबार दिनभित्र शेयर खरिद र बिक्री गरी आफ्नो कारोबार स्थिति समाप्त (Position Square-Off) गर्न पाउनेछन्। यस व्यवस्थाले बजारमा तरलता अभिवृद्धि, प्रभावकारी मूल्य अन्वेषण (Price Discovery), कारोबार लागतमा न्यूनीकरण र लगानीकर्ताको सक्रिय सहभागिता बढाउने अपेक्षा गरिएको छ।
कार्यान्वयनको ढाँचा र पहिलो चरणको मोडल
अवधारणापत्रमा नेपालको विद्यमान बजार संरचना, प्राविधिक पूर्वाधार र जोखिम व्यवस्थापन क्षमतालाई दृष्टिगत गरी अन्तरदिवसीय कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। प्रारम्भिक चरणमा लगानीकर्तालाई ‘पहिले खरिद, पछि बिक्री’ (Buy First, Sell Later) मोडलमा मात्र कारोबार गर्न अनुमति दिइनेछ। यसअन्तर्गत लगानीकर्ताले बजार खुलेपछि शेयर खरिद गरेर सोही दिन बजार बन्द हुनुअगावै बिक्री गरी नाफा वा घाटा व्यवस्थापन गर्न सक्नेछन्। दोस्रो चरणमा भने धितोपत्र सापटी तथा उधारो (Securities Lending and Borrowing - SLB) र कभर्ड सर्ट सेलिङको कानूनी तथा प्राविधिक पूर्वाधार पूर्ण रूपमा विकास भएपछि मात्र ‘पहिले बिक्री, पछि खरिद’ (Sell First, Buy Later) अर्थात् सर्ट सेलिङ मोडल कार्यान्वयनमा ल्याइनेछ। यसले बजारमा एकाएक प्रणालीगत जोखिम निम्तिन नदिई क्रमशः आधुनिक औजारहरू भित्र्याउन सहयोग पुर्याउनेछ।

योग्य धितोपत्र र लगानीकर्ताको मापदण्ड
अन्तरदिवसीय कारोबार सुरु हुनेबित्तिकै नेप्सेमा सूचीकृत सबै कम्पनीहरूमा यो सुविधा उपलब्ध हुने छैन। मूल्य हेरफेर र अस्वाभाविक उतारचढावको जोखिम रोक्नका लागि ‘नेपाल इन्ट्राडे एलिजिबल सेक्युरिटिज फ्रेमवर्क’ प्रस्ताव गरिएको छ। यसअनुसार दैनिक औसत कारोबार मूल्य, संख्या, परिमाण र पर्याप्त तरलता भएका कम्पनीहरू मात्र इन्ट्राडेका लागि योग्य हुनेछन्। बजारमा सर्वसाधारणसँग पर्याप्त शेयर स्वामित्व (Free Float) भएका, संस्थागत सुशासन पालना गरेका र नियामकको गम्भीर कारबाहीमा नपरेका कम्पनीहरूलाई मात्र सुरुवाती सूचीमा समावेश गरिनेछ। अत्यधिक मूल्य अस्थिरता देखिएका वा न्यून कारोबार हुने कम्पनीहरूलाई वाच लिस्टमा राखेर इन्ट्राडे सूचीबाट बाहिर राखिनेछ भने नेप्से र सेबोनले त्रैमासिक रूपमा योग्य धितोपत्रहरूको सूची पुनरावलोकन गर्नेछन्।
त्यसैगरी, इन्ट्राडे कारोबार सामान्य डेलिभरी कारोबारभन्दा उच्च जोखिमयुक्त हुने भएकाले लगानीकर्ता संरक्षणलाई सर्वोच्च प्राथमिकता दिँदै ‘जोखिममा आधारित लगानीकर्ता योग्यता ढाँचा’ प्रस्ताव गरिएको छ। इन्ट्राडे कारोबार गर्न चाहने लगानीकर्ताको सक्रिय डिम्याट तथा ट्रेडिङ खाता, अद्यावधिक ग्राहक पहिचान विवरण (KYC), इन्ट्राडे सम्झौतापत्रमा हस्ताक्षर र जोखिम प्रकटीकरण विवरण (Risk Disclosure Statement) अनिवार्य स्वीकृत हुनुपर्नेछ। शेयर दलाल व्यवसायीहरूले ग्राहकलाई इन्ट्राडे सुविधा दिनुअघि उनीहरूको वित्तीय क्षमता, बजार ज्ञान र जोखिम बहन क्षमताको प्रारम्भिक उपयुक्तता मूल्याङ्कन (Suitability Assessment) गर्नुपर्ने व्यवस्था गरिएको छ।
जोखिम व्यवस्थापन, मार्जिन प्रणाली र अटो स्क्वायर–अफ
अन्तरदिवसीय कारोबार प्रणालीको मूल आधार ‘रिस्क फस्ट, ट्रेडिङ सेकेन्ड’ को सिद्धान्तमा आधारित रहनेछ। यसका लागि ‘नेपाल इन्ट्राडे मार्जिन फ्रेमवर्क’ प्रस्ताव गरिएको छ, जसअन्तर्गत शेयरको अस्थिरता र तरलताका आधारमा प्रारम्भिक मार्जिन (Initial Margin), मेन्टेनेन्स मार्जिन, एक्सपोजर मार्जिन र पिक मार्जिन निर्धारण गरिनेछ। कारोबारका क्रममा मूल्य घटेर लगानीकर्ताको मार्जिन सीमा न्यून विन्दुमा पुगेमा ब्रोकरको जोखिम व्यवस्थापन प्रणाली (RMS) ले तुरुन्तै स्वचालित चेतावनी (Alert) र मार्जिन कल जारी गर्नेछ।
इन्ट्राडे कारोबारमा कुनै पनि ओभरनाइट खुला जोखिम (Overnight Risk) लिन पाइने छैन। यदि लगानीकर्ताले तोकिएको समयभित्र आफ्नो खुला कारोबार स्थिति (Open Position) आफैँ बन्द गरेन भने ब्रोकर वा नेप्सेको प्रणालीले पूर्व निर्धारित नियमअनुसार स्वतः शेयर खरिद वा बिक्री गरेर स्थिति बन्द (Auto Square-off) गरिदिनेछ। यसले गर्दा कुनै पनि कारोबार भोलिपल्टका लागि बाँकी नबसी सोही दिन फछ्र्यौटको दायरामा आउनेछ र सम्भावित वित्तीय नोक्सानी तथा डिफल्टको जोखिम नियन्त्रण हुनेछ।
प्रविधिगत पूर्वाधार र संस्थागत भूमिका
अवधारणापत्रअनुसार अन्तरदिवसीय कारोबार सञ्चालनका लागि नयाँ संस्था स्थापना नगरी विद्यमान संस्थाहरूको प्रविधिगत स्तरोन्नति र प्रणालीगत एकीकरण गरिनेछ। यस प्रक्रियामा नेपाल धितोपत्र बोर्डले नीति, नियमावली, निर्देशिका तथा मापदण्ड निर्माण गरी समग्र बजारको नियमन र सुपरिवेक्षण गर्नेछ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले इन्ट्राडे ट्रेडिङ इन्जिन, स्वचालित अर्डर म्याचिङ, अर्डर वर्गीकरण र वास्तविक समयको बजार निगरानी सञ्चालन गर्नेछ।
त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कारोबारपछिको रेकर्ड मिलान, डेलिभरी भर्सेज पेमेन्ट (DvP) समन्वय र डाटा अद्यावधिक गर्नेछ भने शेयर दलाल व्यवसायीहरूले ग्राहकको वास्तविक समयमा मार्जिन अनुगमन, अर्डर व्यवस्थापन र आन्तरिक जोखिम नियन्त्रण संयन्त्र सञ्चालन गर्नेछन्। बैंक तथा वित्तीय संस्थाहरूले पनि तत्काल रकम भुक्तानी र मार्जिन व्यवस्थापनमा प्रविधिगत समन्वय उपलब्ध गराउनेछन्।
कानूनी आधार, सार्वजनिक परामर्श र भावी कार्ययोजना
धितोपत्रसम्बन्धी ऐन, २०६३ ले अन्तरदिवसीय कारोबार सञ्चालनका लागि आवश्यक आधारभूत कानूनी अधिकार प्रदान गरेको अवधारणापत्रमा उल्लेख छ। यसलाई प्रभावकारी र व्यवस्थित बनाउन ऐनको व्यापक संशोधनभन्दा पनि नेप्सेको कारोबार विनियमावली संशोधन, ब्रोकर सञ्चालन कार्यविधि (SOP), जोखिम व्यवस्थापन निर्देशिका र प्रविधिगत मापदण्डहरू निर्माण गरिनेछ।
नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको यो अवधारणापत्रमाथि प्राप्त राय, सुझाव र प्रतिक्रियाहरू समेटेर आवश्यक नियमावली तथा निर्देशिकालाई अन्तिम रूप दिइनेछ। त्यसपछि प्रविधि परीक्षण (Testing), नमुना सञ्चालन (Pilot Phase) र समग्र तयारीको मूल्याङ्कन गरेर मात्र औपचारिक रूपमा नेपाली पूँजी बजारमा अन्तरदिवसीय कारोबार सुरु गरिने बोर्डले जनाएको छ।