बैंकले दुई दशकको अवधिमा आफ्नो पुँजी, निक्षेप, कर्जा, ग्राहक आधार, सेवा सञ्जाल र डिजिटल बैंकिङ क्षमतामा विस्तार गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७०० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल कर्जा लगानी ४७६ अर्ब ८४ करोड रुपैयाँ र चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो । सो अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले बढेको छ ।
बैंकले चालु आर्थिक वर्षका लागि शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । प्रस्तावअनुसार ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र लाभांश वितरण हुनेछ ।
बैंकले स्थापनादेखि हालसम्म शेयरधनीलाई नगद लाभांश र बोनस शेयरमार्फत प्रतिफल दिँदै आएको जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित लाभांशबाहेक हालसम्म प्रतिशेयर २३६ रुपैयाँ १२ पैसाबराबरको नगद तथा बोनस शेयर वितरण भइसकेको छ ।
यसमा प्रतिशेयर ७९ रुपैयाँ २० पैसा नगद लाभांश र १५६ रुपैयाँ ९२ पैसा बराबरको बोनस शेयर रहेको बैंकले जनाएको छ । प्रस्तावित ४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिब ३९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने बताइएको छ ।
दुई दशकको अवधिमा बैंकले आफ्नो सेवा सञ्जाल पनि विस्तार गरेको छ । हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा र ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा रहेको बैंकले जनाएको छ । विदेशमा समेत तीन वटा प्रतिनिधि कार्यालय रहेका छन् ।
बैंकका अनुसार विभिन्न सेवा माध्यमसहित देशभर १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ । बैंकले आगामी दिनमा व्यवसाय विस्तारसँगै डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, कर्जा गुणस्तर र शेयरधनीलाई दिगो प्रतिफल सिर्जनामा जोड दिने रणनीति लिएको जनाएको छ ।
दुई दशकको यात्रामा पुँजी र व्यवसाय विस्तारलाई प्राथमिकता दिएको बैंकले आगामी दिनमा वित्तीय आधारलाई थप सुदृढ गर्दै व्यवसाय विस्तार र प्रतिफलबीच सन्तुलन कायम गर्ने बताएको छ ।