बैंकले शेयर र डिबेञ्चरमा गरेको लगानी न्यूनतम ४५ दिन होल्ड गरे पुग्ने

Sep 24, 2026 07:24 PM Merolagani



एकीकृत निर्देशनमा संशोधन गर्दै नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै शेयर तथा डिबेञ्चर गरेको लगानी न्यूनतम ४५ दिन मात्रै होल्ड गरे पुग्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सर्कुलर जारी गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै संशोधित निर्देशन लागू गरेको हो। नयाँ संशोधन अनुसार सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्दा  कम्तीमा ४५ दिन मात्रै होल्ड गरे पुग्ने व्यवस्था गरेको छ यसअघि न्युनतम ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो। साथै, कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने साविकको कडाइलाई यथावत् राखिएको छ।

 

यसका साथै, वाणिज्य बैंकहरूतर्फ आर्थिक वर्ष २०८३/८४ का लागि काउन्टरसाइक्लिकल बफर (Countercyclical Buffer) शून्य प्रतिशत निर्धारण गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र, शेयर तथा डिबेञ्चरलगायतका उपकरणमा लगानी गर्दा सट्टेबाजी जोखिम (Speculative Risk) न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि आफ्नै सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्नेछ। नयाँ निर्देशन अनुसार लगानी नीतिमा लगानीको उद्देश्य र रणनीति, बैंकिङ र ट्रेडिङ बुकमा वर्गीकरण, होल्डिङ अवधि, तथा स्वार्थको द्वन्द्व (Conflict of Interest) व्यवस्थापन सम्बन्धी स्पष्ट विधि समावेश हुनुपर्नेछ। साथै, लगानी कारोबारमा जोखिम व्यवस्थापनका लागि दैनिक बजार मूल्य अनुसार मूल्याङ्कन (Daily Mark to Market), दबाब परीक्षण (Stress Testing) र आन्तरिक जोखिम मूल्याङ्कन (Internal Risk Rating) जस्ता प्रणाली अनिवार्य गरिएको छ। स्वीकृत नीति, कार्यविधि र लगानी विवरणहरू तोकिएका ढाँचामा राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा अनिवार्य बुझाउनुपर्नेछ।