बिराट एग्रीको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Sep 29, 2026 12:14 PM Merolagani



नेपालको कृषि तथा एक्वाकल्चर (मत्स्यपालन) क्षेत्रको कम्पनी बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रचलित कानुनको अधिनमा रही भविष्यमा जारी गर्ने आईपीओको सम्पूर्ण संस्थागत परामर्श तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गर्दै दुई पक्षीय सम्झौता सम्पन्न गरेको छ।

एनआईसी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत बिराट एग्रीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत गर्नेदेखि शेयर निष्काशन गर्नेसम्मको आवश्यक परामर्श उपलब्ध गराउनेछ।

मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गरिरहेको बिराट एग्रीले इटहरी-१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत माछाको दाना उत्पादन गर्दै आएको छ। कम्पनीले सार्वजनिक शेयर निष्काशनबाट प्राप्त हुने पूँजीलाई आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा मूल्य अभिवृद्धि गरिएका माछाजन्य प्रजाति उत्पादनका लागि 'फिस प्रोसेसिङ तथा फिलेटिङ प्लान्ट' स्थापना गर्न र पशुपंक्षीका लागि दैनिक १० टन क्षमताको नयाँ 'पेलेट फिड प्लान्ट' निर्माण गर्न परिचालन गर्ने लक्ष्य लिएको छ।

कम्पनीले “Farm to Market” अवधारणा अन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, दाना उत्पादन, आधुनिक प्रशोधन, फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा जोड्ने दीर्घकालीन योजना बनाएको छ। यस विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै रोजगारी सिर्जना र माछाजन्य उत्पादनको आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।